भारतबाट आउनेलाई सुर्खेतमै राखिने
कर्णाली प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले भारतबाट आउने तीन जिल्लाका नागरिकहरूलाई सुर्खेतमै राख्ने निर्णय गरेको छ । समितिको आइतवारको बैठकले मुगु, हुम्ला र डोल्पाका नागरिकहरूलाई सुर्खेतकै क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।
हालसम्म कोरोना संक्रमण नदेखिएका र भारतमा पनि न्यूून संख्यामा रहेका यी जिल्लाका नागरिकहरूलाई सुर्खेतमै राखेर स्वास्थ्य चेकजाँचपछि मात्रै घर पठाउने निर्णय भएको सामाजिक विकास मन्त्री दल रावलले बताए ।
प्रहरीका अनुसार लकडाउनयता भारतबाट यी तीन जिल्लामध्ये मुगुका दुई सय ४४ र हुम्लाका एक जना मात्रै प्रदेश भित्रिएका छन् । भारतबाट डोल्पाका एक जना पनि आएका छैनन् । शनिवारसम्म भारतबाट आइसकेका नागरिकहरूलाई प्रदेश सरकारले सम्बन्धित जिल्ला पठाइसकेको छ । अब आउने व्यक्तिहरूलाई सुर्खेतमै क्वारेन्टाइनमा राखेर चेकजाँचपछि मात्रै जिल्ला पठाइने प्रदेश सरकारले जनाएको छ ।
प्रकाशित मितिः २० जेष्ठ २०७७, मंगलवार ०६:३५
साझा बिसौनी ।