बढ्दो चुनौती

मुलुकका अन्य ६ वटा प्रदेशमा कोरोना संक्रमित धमाधम फेला परिरहँदा कर्णाली एक मात्र त्यस्तो प्रदेश थियो, जहाँ कुनै संक्रमित फेला परेका थिएनन् । प्रदेश सरकारले कोरोना प्रतिकार्यमा केही काम र पूर्वतयारी त गरिरहेको थियो तर त्यो पर्याप्त थिएन । केही स्थानमा क्वारेन्टाइन स्थापना गर्नु र नाकाहरूमा ज्वरो नाप्नेबाहेक आउनसक्ने जोखिम व्यवस्थापनको तयारीमा सरकारको ध्यानै पुगेन ।

संक्रमित भेटिएपछिको अवस्थालाई कसरी व्यवस्थापन गर्ने र त्यसका लागि के–के पूर्वतयारी गर्ने भन्ने विषयमा ध्यान नपुगेकै कारण यतिबेला कर्णालीमा कोरोना संक्रमणको ग्राफ दिनदिनै उकालो लागिरहेको छ । दुई सातामै दुई सयभन्दा बढी संक्रमित फेला परिसकेका छन् । यो संख्या अझै बढ्नै निश्चित छ । किनभने संक्रमणको जोखिमयुक्त क्षेत्र मानिएको भारतबाट प्रदेश भित्रिएका नागरिकको संख्या ठूलो छ । र ती सबैको परीक्षण हुन सकेको छैन । जेठ यता मात्रै कर्णालीमा १५ हजारभन्दा बढी नागरिक भारतबाट भित्रिएका छन् । तीमध्ये केहीको मात्रै पीसीआर परीक्षण गरिएको छ । परीक्षणका लागि प्रदेशमा किट अभाव सिर्जना हुन थालिसकेको छ । यसले थप जोखिम बढाएको छ ।

अर्कोतर्फ भेटिएका संक्रमितको व्यवस्थापन र उपचार निक्कै चुनौतीपूर्ण बन्न पुगेको छ । संक्रमितको संख्या ह्वातै बढ्न थालेपछि उपचारमा चुनौती देखिएको हो । किनभने केही सयको संख्यामा क्वारेन्टाइन निर्माण गरेर बसेको सरकारको ध्यान पर्याप्त आइसोलेसन, आईसीयू र भेन्टिलेटर बेड व्यवस्थापनमा गएन । अहिले धमाधम संक्रमित पुष्टि हुन थालेपछि उनीहरूलाई कहाँ राखेर उपचार गर्ने भन्नेमै समस्या सिर्जना भएको छ ।

अस्पतालहरूमा आइसोलेसन बेडको अभाव हुने देखिएपछि संक्रमितहरूलाई तत्कालका लागि लक्षणका आधारमा उपचार गर्ने तयारी गरिएको छ । लक्षण देखिएकालाई अस्पताल ल्याउने र लक्षण नदेखिएकालाई घरमै स्वास्थ्य सुरक्षित सतर्कता अपनाएर बसाल्ने तयारी गरिएको छ । यद्यपि यो अझ जोखिमयुक्त छ । धेरै संक्रमित अहिले पनि आइसोलेसनमा नभइ क्वारेन्टाइनमै छन् । क्वारेन्टाइन पनि भरपर्दा र मापदण्ड अनुसारका छैनन् । दैलेखमा एक जना संक्रमितको क्वारेन्टाइनमै मृत्यु भइसकेको छ । मृत्यु हुनुअघि उनमा गम्भीर लक्षण देखिएको थिएन । तर सरकार भने संक्रमण पुष्टि भइसकेका व्यक्तिमा पनि लक्षण कुरी बसेको छ । यसले मृतकको संख्या बढाउने त होइन भन्ने चिन्ता थपिएको छ ।

दुई सय हाराहारीका संक्रमित भेटिँदा नै व्यवस्थापनमा हम्मेहम्मे परिरहेको छ भने यो संख्या दोब्बर हुँदै बढेको खण्डमा अवस्था अझ भयावह हुनेछ । त्यसैले जतिसक्दो छिटो भयावह भविष्यको आँकलन गरेर आवश्यक तयारीमा जुट्न ढिला गर्नु हुँदैन । संक्रमण पत्ता लगाउने परीक्षणको दायरा बढाउनुका साथसाथै संक्रमितलाई उपचारका लागि पर्याप्त आइसोलेसन, आईसीयू र भेन्टिलेटरको व्यवस्था गर्नु अपरिहार्य छ । भारतबाट भित्रिनेको संख्या दिनप्रति दिन बढ्दैछ । यसले पनि संक्रमित बढ्ने संकेत गरेको छ । यसलाई समयमै बोध नगरी ढिलाइ र हेलचक्र्याइँ गर्ने हो भने सबैभन्दा पछि संक्रमित भेटिएको कर्णालीले क्षतिमा भने सबैलाई उछिन्ने दिन नआउँला भन्न सकिन्न ।

प्रकाशित मितिः   २० जेष्ठ २०७७, मंगलवार ०६:३२