दैलेखमा दुई सय ५० आइसोलेसन बेड थपिने

दैलेखमा दुई सय ५० बेड क्षमताका आइसोलेसन बनाउने तयारी गरिएको छ । प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको दैलेखका विभिन्न स्वास्थ्य संस्थामा आइसोलेसन बेड थप गर्न लागिएको हो ।

सामाजिक विकास मन्त्री दल रावलले दैलेख जिल्ला अस्पतालमा ५० बेड, आठबीस नगरपालिकाको राकम कर्णालीमा ५० बेड, ठाटीकाँध गाउँपालिकामा ५० बेड, दुल्लू अस्पतालमा ५० बेड र नौमूलेमा ५० बेड आइसोलेसन तयार गर्न लागिएको बताए । मन्त्री रावलका अनुसार प्रदेश सरकारको बजेटमा दैलेखमा डाक्टरको दरबन्दी भएका स्वास्थ्य संस्थामा आइसोलेसन बेड बनाउन लागिएको हो ।

दैलेखमा सोमवारसम्म ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखमा हालसम्म जिल्ला अस्पतालमा ३६ र दुल्लू अस्पतालमा चार वटा गरी जम्मा ४० आइसोलेसन बेड छन् ।

प्रकाशित मितिः   २० जेष्ठ २०७७, मंगलवार ०६:३१