रुकुम घटनाको अनुसन्धानमा सीआईबीको टोली

काठमाडौं : पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ सोतीगाउँमा भएको घटनाको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अनुसन्धान गर्ने भएको छ । अनुसन्धानमा सघाउन सीआईबीको टोली खटाइएको छ ।

घटनाको प्राविधिक अनुसन्धानका लागि दुई सदस्यीय ‘टेक्निकल’ टोली खटाइएको हो । टोली रुकुम पुगिसकेको र स्थानीय प्रहरीलाई सघाउने सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी ८ मा मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जाँदा जाजरकोटका २१ वर्षीय नवराज विकसहित पाँच जनाको ज्यान गएको थियो । एकजना अझै नदीमा बेपत्ता छन् ।

घटनाबारे प्रहरी अझै निष्कर्षमा पुगिसकेको छैन । पीडित पक्षले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए ।

प्रकाशित मितिः   १९ जेष्ठ २०७७, सोमबार १४:३१