संक्रमितको उपचारमा चुनौती
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वातै बढ्न थालेपछि उपचारमा चुनौती देखिएको छ । जिल्ला अस्पतालहरूमा आइसोलेसन बेडको अभाव हुने देखिएपछि संक्रमितहरूलाई लक्षणका आधारमा उपचार गर्ने तयारी गरिएको छ । संक्रमितहरूको चाप बढ्न थालेसँगै अस्पतालहरूले लक्षणका आधारमा उपचार गर्ने तयारी गरेका हुन् । प्रदेशभर पाँच सय ५० आइसोलेसन बेड, ४० आईसीयू र १७ भेन्टिलेटर छन् । कोरोना संक्रमितको संख्या आइतवारसम्म एक सय २३ पुगिसकेको छ ।
कोरोना संक्रमितको चाप अस्पतालमा बढ्न थालेपछि लक्षण अनुसार उपचार गर्ने गरिएको जिल्ला अस्पताल दैलेखका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए । उनका अनुसार दैलेखमा हालसम्म ४८ जनामा कोरोना संक्रमण देखिएको भए पनि ३१ जनाको उपचार सुरु गरिएको छ । तीमध्ये सबैको स्वास्थ्य अवस्था सामान्य छ । उनले सयौंको संख्यामा संक्रमितहरू बढ्ने देखिएको भन्दै अबको विकल्प होमक्वारेन्टाइन नै भएको बताए । लक्षण देखिएकालाई अस्पताल ल्याउने र लक्षण नदेखिएकालाई घरमै स्वास्थ्य सुरक्षित सतर्कता अपनाएर बस्नुपर्ने स्थिति आउन सक्ने उनले जनाए ।
३१ जना कोरोना संक्रमितलाई जिल्ला अस्पताल दैलेखमा उपचार गराइरहेको र उनीहरूको उपचार र हेरचाहको लागि ६ जना डाक्टर र १५ जना स्टाफ नर्ससहित अन्य कर्मचारी खटिएको डा. पन्तले बताए । स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार एक हजार सात सय १६ जनाको पीसीआर परीक्षणका लागि स्वाब पठाइएकोमा अझै एक हजारको रिपोर्ट आउन बाँकी छ । जिल्ला अस्पताल दैलेखमा ३६ र दुल्लू अस्पतालमा चार वटा आइसोलेसन बेड छन् ।
उता जिल्ला अस्पताल सल्यानले समेत लक्षणका आधारमा कोरोना संक्रमितहरूको उपचार गर्ने तयारी गरेको छ । अस्पतालका प्रमुख डा. अर्जुन बुढाका अनुसार आइतवार बिहानसम्म सल्यानमा २५ जना कोरोना संक्रमित देखिएको र १२ जनालाई जिल्ला अस्पताल सल्यानमा उपचारको लागि ल्याउने तयारी भइरहेको छ । बाँकी १३ जनालाई भने कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा पठाइने उनले बताए । कोरोना भाइरसको लक्षण देखिएकाहरूलाई अस्पतालमा भर्ना गरे पनि सामान्य संक्रमितलाई भने दूरी कायम गरी सुरक्षित स्थानमा राखिने डा. बुढाले बताए ।
प्रदेशभर पाँच सय ५० आइसोलेसन बेड, ४० आईसीयू र १७ भेन्टिलेटर छन् । कोरोना संक्रमितको संख्या आइतवारसम्म एक सय २३ पुगिसकेको छ ।
उनका अनुसार सल्यानका संक्रमितमध्ये तीन जनालाई ज्वरो आएको भए पनि अरुलाई भने कुनै लक्षण देखिएको छैन । जिल्ला अस्पताल सल्यानमा १५ वटा आइसोलेसन बेड छन् । दिनमा १२ घण्टा ड्यूटी गर्ने गरी एक जना डाक्टरसहित नर्सहरूलाई आइसोलेसन कक्षमा खटाइएको छ । सामान्य चेकजाँचका सामग्रीहरू बिरामीलाई अस्पतालले दिने र उनीहरूले आफै चेकजाँच गरी स्वास्थ्यकर्मीलाई रिपोर्ट गर्ने गरेका छन् ।
कालीकोटका जिल्ला जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जम्मा संक्रमित १८ मध्ये सबै आ–आफ्नै स्थानीय तहको क्वारेन्टाइनमा रहेको र उनीहरूलाई जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जानकारी दिए । कालीकोटका १८ जनामा शनिवार एकै दिन संक्रमण पुष्टि भएको थियो । जिल्ला अस्पताल कालीकोटमा चार वटा आइसोलेसन बेड रहेका छन् । त्यहाँ पनि सामान्य बिरामीलाई सामाजिक दूरी कायम गरी राखिने र लक्षण देखिएका बिरामीलाई आइसोलेसनमा राख्ने गरी तयारी गरिएको छ । आइतवारसम्म कालीकोटका तीन हजार आठ सय जना क्वारेन्टाइनमा छन् ।
सुर्खेतमा रहेको कोरोना विशेष अस्पतालको आइसोलेसनमा ३३ जना कोरोना संक्रमित एक जनालाई कोरोनाको आशंकामा राखिएको छ । आइसोलेसनमा सुर्खेत ३० जना छन् भने दैलेख र बझाङका एक–एक जना र ठेगाना नखुलेका एक जनाको उपचार भइरहेको छ ।
प्रदेश अस्पतालका फोकल पर्सन डा. केएन पौडेलले भर्ना भएका सबैको अवस्था सामान्य रहेको बताए । तीमध्ये एक जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ । उनको आरडीटी रिपोर्ट पोजेटिभ देखाएको र पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । अस्पतालको आइसोलेसनमा तीन जना डाक्टरसहित सात जना स्वास्थ्यकर्मी कोरोना संक्रमतिको उपचारमा खटिएका छन् । अस्पतालमा अहिले ८५ आइसोलसन बेड छन् ।
यसैबीच दैलेख आठबीसका २९ वर्षीय पुरुष प्रदेशकै पहिलो कोरोना संक्रमित हुन् । उनलाई कोरोना संक्रमण पुष्टि भएको दुईसाता पुगेको छ । तर, हालसम्म कुनै पनि लक्षण देखिएको छैन । प्रदेश अस्पताल कालागाउँमा रहेका उनको स्वास्थ्य अवस्था सामान्य छ । आइतवार साझा बिसौनीसँगको फोन संवादमा उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए । ‘अलि–अलि घाँटी दुखेको छ । ज्वरो आउने, टाउको दुख्नेजस्ता समस्या देखिएको छैन,’ उनले भने । त्यहाँ कार्यरत चिकित्सकहरूले पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।
प्रकाशित मितिः १९ जेष्ठ २०७७, सोमबार ०६:५५
साझा बिसौनी ।