दुई सातामा एक सय २३ संक्रमित

कर्णाली प्रदेशका चार जिल्लाका एक सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । शनिवार साँझसम्म एक सय पाँच जना संक्रमित रहेकोमा आइतवार बिहान मात्रै थप १८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये दैलेखका एक जनाको मृत्यु भएको छ ।

दैलेखमा ४८ जना, सुर्खेतमा ३० जना, सल्यानमा २५ जना, कालीकोटमा १८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशबाहिरका बाजुराका एक जना र त्यसअघि बझाङका एक जनामा संक्रमण देखिएको थियो । ती दुई जना पनि कर्णालीमै उपचाररत छन् । पहिलो संक्रमण देखिएको दुई सातामै कर्णालीमा संक्रमितको संख्या तेस्रो अङ्कमा पुगेको हो ।

प्रदेशमै पहिलो पटक जेठ ५ गते दैलेखको आठबिस नगरपालिकाका–२९ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतबाट फर्किएका उनी क्वारेन्टाइनमै रहेको अवस्थामा संक्रमण देखिएको हो । हाल उनी सुर्खेतस्थित प्रदेश अस्पतालको हातभित्र रहेको कोरोना विशेष अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन् ।

हालसम्म भारतबाट फर्किएका सीमित व्यक्तिहरूमा मात्रै कोरोना परीक्षण गरिएको छ । हालसम्म ६ हजार नौ सय ९१ जनाको पीसीआर विधिबाट परीक्षण भएको प्रदेश स्वास्थ्य महाशाखाले जनाएको छ । सरकारी तथ्याङ्क अनुसार जेठयता मात्रै झन्डै १७ हजार नागरिक कर्णाली भित्रिएका छन् । संक्रमण समुदाय स्तरमा गए कर्णालीमा भयावह स्थिति आउन सक्ने चिकित्सकहरूले औल्याएका छन् ।

प्रकाशित मितिः   १९ जेष्ठ २०७७, सोमबार ०६:५३