‘भयावह अवस्था आउन सक्छ’

कर्णाली प्रदेशसभाका सदस्यहरूले कोरोना भाइरस ‐कोभिड–१९) प्रतिकार्यमा पर्याप्त समय हुँदाहुँदै पनि सरकारले आवश्यक तयारी नगर्दा कर्णाली थप जोखिमतर्फ धकेलिएको बताएका छन् । आइतवार बसेको प्रदेशसभाको बैठकमा बोल्दै उनीहरूले कोरोना प्रतिकार्यमा सरकार उदासीन देखिएको आरोप लगाएका हुन् ।

कोरोना प्रतिकार्य रोकथाम तथा नियन्त्रणको लागि तयारी गर्न पर्याप्त समय भए पनि सरकार गम्भीर नहुँदा भयावह अवस्था आउन लागेको उनीहरूले बताएका हुन् । सरकारलाई नागरिकको स्वास्थ्यप्रति गम्भीर बन्न र प्रतिकार्यका योजनालाई थप प्रभावकारी प्रदेशसभा सदस्यहरूले ध्यानाकर्षण गराएका छन् । उनीहरूले भारतबाट आएका व्यक्तिहरूलाई परीक्षण नगरेरै गाउँ पठाउँदा संक्रमण फैलने जोखिम उच्च भएको भन्दै परीक्षणको दायरा बढाएर कोरोना रोकथाम र नियन्त्रणमा ध्यान दिन सरकारलाई सुझाव दिएका हुन् ।

प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकार निन्द्रामा झुलिरहेको आरोप लगाए । बैठकमा विशेष समय लिएर बोल्दै उनले कोरोना संक्रमणको भयावह अवस्था सिर्जना हुन लाग्दा समेत सरकार सुतिरहेको टिप्पणी गरे । कोरोना प्रतिकार्यमा पर्याप्त समय हुँदाहुँदै पनि सरकारले आवश्यक तयारी नगर्दा कर्णाली थप जोखिमतर्फ धकेलिएको उनको भनाइ थियो ।

प्रदेशसभाका सदस्यहरूले सरकारले आवश्यक क्वारेन्टाइन र आइसोलेसन बनाउने, किट व्यवस्थापन गर्ने र परीक्षण गर्नेतिर लाग्नुपर्नेमा त्यसतर्फ गम्भीर नभएको भन्दै आलोचना गरेका छन् । प्रदेशसभा सदस्य मीना सिंह रखालले कोरोनाको जोखिम बढ्दै गएका बेला नागरिकको मनोबल भने घटिरहेको बताएकी छन् । उनले स्वास्थ्य जनशक्ति, आइसोलेसन र क्वारेन्टाइनहरूको व्यवस्थापन राम्रो नहुँदा नागरिकहरूले सास्ती खेप्नुका साथै संक्रमणको जोखिम पनि बढेको बताइन् ।

यस्तै वीरबहादुर शाहीले चीनतर्फका नाका सिल गर्न सरकारलाई सुझाव दिए । प्रदेशसभा सदस्य धर्मराज रेग्मीले सरकारले अहिलेसम्म कोरोना प्रतिकार्यमा सरकारले गरेका काम र ठोस योजनाको बारेमा विभागीय मन्त्रीले संसद्लाई जानकारी गराउनुपर्ने बताए । आइतवारको बैठकमा प्रदेशसभा सदस्यहरू हिमबहादुर शाही, सीताकुमारी नेपाली, पद्मा खड्का, कुर्मराज शाहीलगायतले बोलेका थिए । प्रदेश सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथि आइतवारदेखि नै प्रदेशसभामा छलफल सुरु भएको छ ।


दुई सदस्यलाई सभामा रोक

कर्णाली प्रदेश सभाका दुई जना सदस्यलाई एक हप्ताका लागि सभा प्रवेशमा रोक लगाइएको छ । प्रदेशसभा सदस्य अम्मरबहादुर थापा र सुशील थापालाई सभा प्रवेशमा रोक लगाइएको हो । उनीहरू दैलेखमा कोरोना संक्रमण फैलिरहेका ठाउँहरूमा स्थलगत अनुगमनमा गएका थिए ।

सभामुख राजबहादुर शाहीले सभा सदस्य थापाद्वयलाई फोनमार्फत एक हप्ता क्वारेन्टाइन बस्ने र पीसीआर परीक्षण गरेर मात्रै बैठकमा उपस्थित हुन सक्ने जानकारी गराएका थिए । सभामुख शाहीले आइतवारको बैठकमा अहिलेको अवस्थामा सबै सदस्यहरूले सर्तकता अपनाउनुपर्ने भन्दै बजेट अधिवेशनभर कुनै पनि सदस्यलाई बाहिर नजान र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन रुलिङ गरेका थिए ।

प्रकाशित मितिः   १९ जेष्ठ २०७७, सोमबार ०६:५२