जोखिम निम्त्याउने क्वारेन्टाइन

महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भनेर क्वारेन्टाइन निर्माण गरिएका छन् । विशेष गरेर कोरोना प्रभावित क्षेत्रबाट आएकाहरूलाई त्यहाँ राख्ने गरिएको छ । तर जोखिमबाट जोगाउन बनाइएका क्वारेन्टाइन नै असुरक्षित र थप जोखिमयुक्त भएको पाइएको छ । कर्णाली प्रदेशका धेरै जसो स्थानीय तहहरूले बनाएका क्वारेन्टाइन जोखिमयुक्त छन् ।

क्वारेन्टाइनको निश्चिम मापदण्ड हुन्छ । सरकारले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनका लागि मापदण्ड समेत निर्धारण गरेको छ । कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ अनुसार शौचालयसहितको कोठा र सो नभएमा न्यूनतम प्रतिकोठा अधिकतम तीन जनाको दरले ६ जनाका लागि एउटा साझा शौचालय र स्नानगृह भएको, विद्युत, पानी लगायतका आधारभूत सेवा तथा व्यवस्थाहरू हुनुपर्ने उल्लेख छ । एक बेडदेखि अर्को बेडबीचमा न्यूनतम दूरी ३ दशमलव ५ फिट हुनुपर्ने, ओढ्ने, ओछ्याउने र आवश्यकता अनुसार झुलसहितको बेड, क्वारेन्टाइन स्थलमा स्वास्थ्य सामग्रीसहितको मेडिकल अधिकृत एक जना, स्वास्थ्य परिचारिका एक, पायारामेडिक एक, आवश्यकताअनुसार ल्याब टेक्निसियन हुनुपर्ने र जसमा २४सै घण्टा एम्बुलेन्स पनि व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख छ । स्वास्थ्य, सुरक्षा, खानपान र बसाइँको व्यवस्था गरिनु पर्दछ । तर यहाँका क्वारेन्टाइन भने मापदण्डअनुसार छैनन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स समेत छैनन् । क्वारेन्टाइन व्यवस्थित नहुँदा त्यहाँ संक्रमण झन् बढ्ने जोखिम देखिएको छ ।

क्वारेन्टाइन भद्रगोल र मापदण्डअनुसार नहुँदा कोरोनासँगै अन्य संक्रमणको जोखिम पनि अत्याधिक रहेको चिकित्सकहरूले बताउने गरेका छन् । प्रदेश र स्थानीय तहले बेलैमा व्यवस्थापन गर्न नसक्दा भारतबाट मजदुरी गरी फर्किएका स्थानीयलाई परीक्षणविनै सम्बन्धित पालिकामा पठाउने गरिएको छ । सम्भावित संक्रमितहरू गाउँ पुगेका छन् । स्थानीय तहले बनाएका नाम मात्रका क्वारेन्टाइनमा एउटै कोठामा २५–३० जनासम्म सुत्ने गरेका छन् । जसका कारण कर्णालीमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । भद्रगोल व्यवस्थापनका कारण क्वारेन्टाइन बसेकाहरू भाग्ने समेत गरेका छन् ।

आधारभूत पूर्वाधारविनै क्वारेन्टाइन बनाउँदा नागरिकहरूले सास्ती खेप्दै आएका हुन् । भारतबाट फर्कनेको चाप सम्हाल्न नसकेपछि प्रदेश सरकारले उनीहरूलाई स्थानीय तहको जिम्मा लगाएर पन्छिने गरेको छ भने स्थानीय तहहरू गाउँमा संक्रमण फैलने डरले त्रसित बनेका छन् ।

कर्णालीमा क्वारेन्टाइनमा रहने शंकास्पद व्यक्तिको संख्या दैनिक बढ्दो छ । भारतबाट दैनिक हजारौंको संख्यामा मानिसहरू प्रदेश भित्रिरहेका छन् । उनीहरूलाई क्वारेन्टाइन राख्ने गरिएको छ । तर त्यहाँ बसेकाहरू स्वास्थ्य असुरक्षाको जोखिम झेलिरहेका छन् । सम्बन्धित स्थानीय तहले बनाएका क्वारेन्टाइनमा आधारभूत सुविधा मात्रै होइन बाहिरबाट आएका व्यक्तिहरूलाई राख्न मिल्ने क्षमताका क्वारेन्टाइनसमेत बनाउन सकेका छैनन् । दुई सातामै एक सय भन्दा बढीमा कोरोना संक्रमण देखिसकेको अवस्थामा यही भद्रगोल अवस्था कायम रहने हो भने यो संख्या अकल्पनीय रूपमा बढ्नेछ । त्यसपछि नियन्त्रण र रोकथाम गर्न हम्मे पर्ने निश्चित छ । त्यसैले क्वारेन्टाइन निर्माण र भारतबाट फर्किएकाहरूको व्यवस्थापनमा संवेदनशीलता अपनाउन जरूरी छ ।