तीन जिल्लामा विद्युत अनियमित

कर्णालीका तीन जिल्लामा विद्युत अनियमित हुने गरेको छ । सुर्खेत, दैलेख र जाजरकोटमा हावाहुरी लाग्ने वित्तिकै विद्युत अवरुद्ध हुने गरेको हो । लामो समयदेखि विद्युत अनियमित हुँदा यहाँका उपभोक्ता हैरानी खेप्दै आएका छन् । हावाहुरी नचलेको अवस्थामा पनि छिनछिनमा बत्ती जाने गरेको छ ।

विद्युत अवरुद्ध भइरहनु पुराना संरचना मुख्य कारण भएको विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरी बताउँछन् । कोहलपुर–सुर्खेत प्रसारण लाइनमा पुराना र जीर्ण पोल भएकाले रुखका हाँगाले छुइने र हावाहुरीले रुख ढाल्ने हुँदा बारम्बार विद्युत अवरुद्ध हुने गरेको उनले बताए । ‘हावा चल्न वित्तिकै रुखका हाँगाले छुन पुग्यो भने पनि विद्युत अवरुद्ध हुन्छ,’ उनले भने, ‘यो समस्या अहिलेको मात्र होइन पुरानै समस्या हो ।’ जङ्गलमा लाइन बिग्रियो भने ठाउँ नै पत्ता लगाउन समस्या हुने गरेको उनले बताए ।

सुर्खेत–कोहलपुर प्रसारण लाइन बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै सुर्खेत जोडिएको छ । प्रसारण लाइनको धेरै भाग जङ्गलमा पर्छ । रुखका साना हाँगाबिँगाले समेत पोलमा बारम्बार क्षति पुग्ने गर्छ । विद्युत् अवरुद्ध हुँदा मर्मतका लागि निकुञ्जको अनुमति लिनुपर्ने हुन्छ । जसका कारण मर्मतमा समेत ढिलाइ हुने गरेको छ । कोहलपुर–सुर्खेत प्रसारण लाइनको क्षमता ३३ केभिए हो । एक सय ३३ केभिए प्रसारण लाइन ल्याइए मात्रै अहिलेको समस्याबाट मुक्त हुन सकिने गिरी बताउँछन् । एक सय ३३ केभिए प्रसारण लाइनमा ठुला र बलिया पोलहरू हुने भएकाले रुखका हाँगा र हावाहुरीले असर नगर्ने हुँदा दीर्घकालीन समाधानका लागि यही नै उत्तम विकल्प भएको उनको भनाइ छ । प्रसारण लाइनको क्षमता बढाउन टेण्डर भइसकेकाले सम्झौता हुन मात्रै बाँकी रहेको उनले जानकारी दिए ।

कोहलपुरदेखि रामघाटको बिचमा बिग्रिए सुर्खेतसहित दैलेख र जाजरकोटमा विद्युत अवरुद्ध हुन्छ । रामघाटदेखि सुर्खेततिरको भागमा बिग्रिए सुर्खेत र दैलेखमा अवरुद्ध हुने गरेको छ । यी जिल्लाहरूमा छिनछिनमा बत्ती गइरहने अर्को समस्या भोल्टेजको हो । कहिले बढी भोल्टेज र कहिले कम भोल्टेजका कारण छिनछिनमा बत्ती जाने गरेको हो । कोहलपुरबाट आउने लाइनमा दैलेखको नौमुले पावर हाउसको लाइन जोडिने हुँदा पनि कहिलेकाँही विद्युत अवरुद्ध हुने गरेको सुर्खेत वितरण केन्द्रले जनाएको छ । एउटा जिल्लामा केही समस्या देखिए तीन वटै जिल्लामा एकै पटक विद्युत अवरुद्ध हुने गरेको छ ।

विद्युत अनियमितताले सर्वसाधारणदेखि उद्योगी र व्यावसायीसमेत सास्ती भोग्दै आएका छन् । एक सय ३२ केभी विद्युत प्रसारण लाइन विस्तारमा ढिलाइ हुँदा यहाँका उपभोक्ता मर्कामा परेका हुन् । सरकारले कोहलपुर–सुर्खेत प्रसारण लाइनको क्षमता विस्तार प्रक्रिया अघि बढाएको ७ वर्ष बितेको छ । निर्माण प्रक्रिया सुरु गरिएको भए पनि प्रगति भने शून्य छ । कोहलपुर–सुर्खेत ३३ केभीए प्रसारण लाइन २०४५ सालमा विस्तार गरिएको थियो । जसको संरचना र क्षमता अहिलेको माग अनुसार पर्याप्त छैन ।

प्रकाशित मितिः   १८ जेष्ठ २०७७, आईतवार ०६:५६