क्वारेन्टाइन झनै असुरक्षित
कोरोना (कोभिड–१९) संक्रमणबाट बच्न कर्णालीका स्थानीय तहहरूले बनाएका क्वारेन्टाइनको अवस्था नाजुक छ । क्वारेन्टाइन व्यवस्थित नहुँदा त्यहाँ संक्रमण झन् बढ्ने जोखिम देखिएको छ । क्वारेन्टाइनमा स्वास्थ्य, सुरक्षा, खानपान र बसाईंको व्यवस्था मापदण्डअनुसार छैन । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स समेत छैनन् । क्वारेन्टाइन व्यवस्थापन भरपर्दो नहुँदा संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढेको हो ।
कर्णालीमा क्वारेन्टाइनमा रहने शंकास्पद व्यक्तिको संख्या दैनिक बढ्दो छ । भारतबाट दैनिक हजारौंको संख्यामा मानिसहरू प्रदेश भित्रिरहेका छन् । तीमध्ये अधिकांश व्यक्तिहरू क्वारेन्टाइन नबसेर सिधै घरमा पुग्ने गरेका छन् । क्वारेन्टाइन बसेकाहरू पनि स्वास्थ्य असुरक्षाको जोखिम झेलिरहेका छन् । सम्बन्धित स्थानीय तहले बनाएका क्वारेन्टाइनमा आधारभूत सुविधा मात्रै होइन बाहिरबाट आएका व्यक्तिहरूलाई राख्न मिल्ने क्षमताका क्वारेन्टाइनसमेत बनाउन सकेका छैनन् ।
संक्रमण फैलिन नदिनका लागि अपनाइने ‘प्रिभेन्टिभ पब्लिक हेल्थ’को विधि हो, क्वारेन्टाइन । रोगका शंकास्पद व्यक्तिलाई संक्रमण फैलिन सक्ने समयसम्म निगरानीमा राखिनुपर्ने हुन्छ । क्वारेन्टाइनमा राखिएका मानिसहरूको नियमितरूपमा जाँच गरिनुको साथै ल्याव परीक्षण गर्नुपर्ने हुन्छ । कोरोनाको हकमा १४ देखि १७ दिनसम्म शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ ।
सरकारले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनका लागि मापदण्ड समेत निर्धारण गरेको छ । कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ अनुसार शौचालयसहितको कोठा र सो नभएमा न्यूनतम प्रतिकोठा अधिकतम तीन जनाको दरले ६ जनाका लागि एउटा साझा शौचालय र स्नानगृह भएको, विद्युत, पानी लगायतका आधारभूत सेवा तथा व्यवस्थाहरू हुनुपर्ने उल्लेख छ ।
एक बेडदेखि अर्को बेडबीचमा न्यूनतम दूरी ३ दशमलव ५ फिट हुनुपर्ने, ओढ्ने, ओछ्याउने र आवश्यकता अनुसार झुलसहितको बेड, क्वारेन्टाइन स्थलमा स्वास्थ्य सामग्रीसहितको प्रतिसय जनाका लागि मेडिकल अधिकृत एक जना, स्वास्थ्य परिचारिका एक, पायारामेडिक एक, आवश्यकताअनुसार ल्याब टेक्निसियन हुनुपर्ने र जसमा २४सै घण्टा एम्बुलेन्स पनि व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख छ । तर, कर्णालीमा हाल व्यवस्था गरिएका अधिकांश क्वारेन्टाइन स्थलमा यी सेवा सुविधाहरूको व्यवस्था गरेको पाइँदैन ।
क्वारेन्टाइन भद्रगोल र मापदण्डअनुसार नहुँदा कोरोनासँगै अन्य संक्रमणको जोखिम पनि अत्यधिक रहेको चिकित्सकहरूले बताउने गरेका छन् । प्रदेश अस्पतालका विशेषज्ञ डाक्टर एवम् कोरोना फोकल पर्सन केएन पौडेलले क्वारेन्टाइनमा स्वास्थ्य तथा आधारभूत सुविधाहरू हुनुपर्ने बताए । ‘क्वारेन्टाइन व्यवस्थित नभए संक्रमण फैलने खतरा रहन्छ,’ उनले भने, ‘प्रदेश भित्रिनेको चापका कारण क्वारेन्टाइनहरू व्यवस्थित नभएका गुनासा सुनिने गरेका छन् ।’ उनकाअनुसार क्वारेन्टाइनमा आठदेखि दश जनाभन्दा बढीले एउटै शौचालय प्रयोग गर्न नहुने, व्यक्तिगत सरसफाइ सामग्री उपलब्ध गराउनुपर्ने, पर्याप्त पानी, साबुन, मास्क उपलब्ध गराउनुपर्ने र क्वारेन्टाइनमा कम्तीमा तीन जना सरसफाइ गर्ने कर्मचारी राख्नुपर्ने हुन्छ । क्वारेन्टाइनहरूमा अस्पतालको जस्तै सुविधा हुनुपर्नेमा त्यसो नभएको उनले बताए ।
प्रदेश र स्थानीय तहले बेलैमा व्यवस्थापन गर्न नसक्दा भारतबाट मजदुरी गरी फर्किएका स्थानीयलाई परीक्षणविनै सम्बन्धित पालिकामा पठाउने गरिएको छ । सम्भावित संक्रमितहरू गाउँ पुगेका छन् । स्थानीय तहले बनाएका नाम मात्रका क्वारेन्टाइनमा एउटै कोठामा २५–३० जनासम्म सुत्ने गरेका छन् । जसका कारण कर्णालीमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ ।
प्रदेशभर क्वारेन्टाइनको बेड संख्या १८ हजार एक सय ६४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जहाँ हाल १४ हजार तीन सय ३० जना बसिरहेका छन् । जेठयता मात्रै झण्डै १७ हजार मानिस कर्णाली भित्रिएका छन् । तीमध्ये मुस्किलले दुई हजार जनाको पीसीआर परीक्षण गरिएको छ । कर्णालीमा शनिवारसम्म ६१ जनाको कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोरोनाबाट शनिवार एक जनाको मृत्यु भएको छ । उनी कोरोनाबाट मृत्यु हुने प्रदेशमै पहिलो व्यक्ति हुन् । दैलेखको दुल्लू नगरपालिका–७ स्थित क्वारेन्टाइनमै रहेको अवस्थामा कुनै लक्षणविनै उनको एक्कासी मृत्यु भएको थियो । ३५ वर्षीय पुरुष उनी दुल्लू–११ खगितडाका हुन् । उनको मृत्युको कारण कोरोना संक्रमण नै भएको चिकित्सकहरूले पुष्टि गरेका छन् । क्वारेन्टाइनमा उनीसँगै अरु ७९ जना बस्दै आएको नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए । उनका अनुसार मृतक व्यक्तिसँग अन्य तीन जना व्यक्ति एउटै ओछ्यानमा सुत्ने गर्थे ।
कर्णाली प्रदेशकै नमुना क्वारेन्टाइन भनिएको सुर्खेतको वीरेन्द्रनगरस्थित खुलामञ्चको क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरूले आधारभूत सुविधासमेत नभएको गुनासो गरेका छन् । उक्त क्वारेन्टाइनमा रहेका बराहताल गाउँपालिकाका एक जना युवाले अत्यावश्यक सुविधा समेत नभएको बताए । ‘दाल–भात काँचो आउँछ,’ उनले भने ‘सबै साथीहरूलाई पखाला लाग्ने समस्या देखिएपछि शुक्रवार राती नाराबाजी नै गर्नुपर्यो । हाम्रो कुराको सुनुवाइ नभएपछि भोकै सुत्यौं ।’ आन्दोलन नै गरेकाले शनिवार बिहान भने पाकेको खाना खान पाएको उनले सुनाए ।
शौचालयमा पानी नहुने, एउटै टावेल धेरै जनाले प्रयोग गर्नुपर्ने, साबुन, सेनिटाइजरजस्ता स्वास्थ्य सामग्री पर्याप्त नहुँदा समस्या हुने गरेको उनले बताए । ‘घाम लागेको दिन पाल तातेर बसिनसक्नु हुन्छ, पानी पर्दा भित्रै पस्छ,’ उनले भने, ‘खाना खाने भाडासमेत पुग्नेगरी व्यवस्था गरिएको छैन ।’ उनले आफूहरूको नियमित चेकजाँच समेत नभएको बताए । जेठ १२ गते आफूहरू क्वारेन्टाइनमा आएको र १३ गते स्वाब लिन डाक्टरहरू आएदेखि कुनै पनि चेकजाँच नभएको उनले बताए ।
भद्रगोल व्यवस्थापनका कारण क्वारेन्टाइन बसेकाहरू भाग्ने समेत गरेका छन् । आधारभूत पूर्वाधारविनै क्वारेन्टाइन बनाउँदा नागरिकहरूले सास्ती खेप्दै आएका हुन् । भारतबाट फर्कनेको चाप सम्हाल्न नसकेपछि प्रदेश सरकारले उनीहरूलाई स्थानीय तहको जिम्मा लगाएर पन्छिने गरेको छ भने स्थानीय तहहरू गाउँमा संक्रमण फैलने डरले त्रसित बनेका छन् ।
प्रकाशित मितिः १८ जेष्ठ २०७७, आईतवार ०६:५८
साझा बिसौनी ।