संक्रमितको संख्या एक हजार नाघ्यो

कर्णालीमा ४६

नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या एक हजार नाघेको छ । पछिल्ला दिनहरूमा भने हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ । विशेष गरेर भारतबाट फर्किनेहरूको संख्या बढेसँगै संक्रमित पनि बढेका हुन् ।

बिहीवारसम्म नेपालमा कूल संक्रमित संख्या एक हजार ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ । हालसम्म कोरोनाबाट पाँच जनाको मृत्यु भएको छ । एक सय ९० जना संक्रमित भने निको भएर घर फर्किएका छन् ।

यसैबीच कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ । बिहीवार दैलेखका ८ जनामा संक्रमण पुष्टि भएसँगै ४६ पुगेको हो । आठै जना दैलेखको नारायण नगरपालिकाका हुन् । पछिल्ला दिनमा भारतबाट आउनेहरूको संख्या बढेसँगै कर्णालीमा पनि संक्रमितको संख्या तीव्र रूपले बढेको हो । दुई साता यता भारतबाट दैनिक हजारौंको संख्यामा नागरिक प्रदेश भित्रिएका छन् । अहिलेसम्म कर्णालीमा भेटिएका सबै संक्रमित पनि भारतबाट फर्किएका हुन् ।

प्रकाशित मितिः   १६ जेष्ठ २०७७, शुक्रबार ०६:५५