परीक्षण टड्कारो, किट खरिदमा ढिलाइ

कोरोना त्रासले भारतबाट फर्किंदै गर्दा दैलेखको गुराँसेमा अलपत्र परेका नागरिक । तस्विर सौजन्यः निर्मल अधिकारी

भारतबाट कर्णाली फर्कनेहरूको क्रम बढेसँगै कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । बिहीवारसम्म कर्णाली प्रदेशमा ४६ जनामा संक्रमण देखिइसकेको छ । दिनहुँजसो भारतबाट फर्कनेको भिड हेर्दा परीक्षणको दायरा बढाउनुपर्ने टड्कारो आवश्यकता छ । तर, प्रदेशमा कोरोना परीक्षणका लागि प्रयोगशाला सामग्रीको भने अभाव छ । प्रदेश सरकारले समयमै पर्याप्त किट खरिद नगर्दा कोरोना परीक्षण प्रभावित हुने देखिएको हो ।

गत जेठ ३ गते यता बबई नाका भएर १५ हजार तीन सय ७० जना प्रदेश भित्रिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ती सबै नागरिक भारतबाट फर्किएका हुन् ।

त्यो बाहेक लकडाउन सुरु भएदेखि हालसम्म देशभित्रबाट उद्धार गरी ल्याइएकाको संख्या पनि यही हाराहारीमा छ । प्रहरीको यो तथ्याङ्क प्रदेश भित्रिने मुख्य प्रवेशद्वार सुर्खेतको बबई भएर आउनेहरूको मात्रै हो । प्रदेशका सल्यान, रुकुम, जाजरकोट र सुर्खेत जिल्लाका नागरिक अन्य नाका प्रयोग गरेर पनि लुकिछिपी आउने गरेका छन् । यसरी प्रदेश प्रवेश गर्नेहरूको एकिन विवरण सरकारी निकायसँग छैन । हालसम्म संक्रमण देखिएका व्यक्तिहरू सबैको ‘ट्राभल हिस्ट्री’ हेर्दा उनीहरू भारतबाटै फर्किएका हुन् ।

कोरोना संक्रमणको महामारी फैलिएको भारतबाट दैनिकजसो हजारौंको संख्यामा प्रदेश भित्रिने गरे पनि सीमा नाकामा सतर्कता बढाइएको छैन । प्रदेश सरकारलाई भिड व्यवस्थापन गर्नै हम्मे–हम्मे परेको छ । सीमा नाका र क्वारेन्टाइनमा बसेकाहरूको चेकजाँचका लागि पर्याप्त किट समेत छैनन् । परीक्षण किट अभावका कारण केही व्यक्तिमा मात्रै परीक्षण गरिँदै आएको छ । संक्रमित देशबाट नागरिकहरू भित्रिने क्रम बढे पनि उनीहरूको आरडीटी तथा पीसीआर परीक्षण हुन नसकेको हो ।

प्रदेशमा थ्रोट स्वाबको नमुना संकलन गर्ने र प्रोसेसिङ्ग गर्ने सामानको अभाव छ । यसले परीक्षण तीव्र बनाउनुपर्ने बेला झनै समस्या देखिएको छ । स्वाब संकलन गरेर प्रयोगशालामा ल्याउन आवश्यक पर्ने भीटीएम (भाइरस ट्रान्सफर मिडिया) र संकलित स्वाब परीक्षण गर्ने पीसीआर प्रोसेसिङ किट सकिएपछि परीक्षण प्रभावित भएको हो । प्रदेशमा बिहीवारसम्म १२ हजार एक सय २७ जनाको आरडीटी र ६ हजार एक सय ९२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

संघीय सरकारले कोरोना परीक्षणका लागि पटक–पटक गरी एक हजार पाँच सय किट प्रदेश सरकारलाई दिएको थियो । कोरोना संक्रमण शंकास्पद व्यक्तिहरूमा परीक्षण गर्न सबै जिल्लाहरूमा पठाइँदा किट सकिएका छन् । प्रदेश सरकारले भने अहिलेसम्म कोरोना परीक्षणका लागि आफै किट खरिद गरेको छैन । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीले संघीय सरकारले दिएका किट सकिएको बताइन् । उनका अनुसार प्रदेश सरकारले १५ हजार नागरिकहरू बाहिरबाट प्रदेश भित्रिन सक्ने आँकलन गरेकाले सोही अनुसारको किट संघीय सरकारसँग माग गरिएको थियो ।

‘प्रदेशले गरेको अनुमानभन्दा धेरै मान्छेहरू भित्रिएपछि परीक्षण किटको अभाव भएको छ,’ उनले भनिन् ‘जिल्लाहरूमा केही थान बचेको होला । हामीसँग भने किट छैन ।’ कोरोना संक्रमितको संख्या बढ्दै गएका बेला परीक्षणको दायरा बढाउनुपर्नेमा किट सकिएपछि परीक्षण प्रभावित भएको छ । दैनिकजसो परीक्षण गर्नुपर्ने भएकोले जिल्लाहरूमा स्टक किटको एकिन तथ्यांक नभए पनि किटको संकट पर्ने अवस्था आएको निर्देशक भण्डारीले बताइन् । स्वास्थ्य निर्देशनालय, सामाजिक विकास मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालयहरू र केही पालिकाहरू किट किन्ने तयारीमा रहेको उनले जानकारी दिइन् ।

प्रदेश अस्पतालमार्फत ५० लाखको किट ल्याउन टेण्डर भएको छ । त्यो किट ल्याउन पनि अझै केही दिन लाग्ने अस्पतालले जनाएको छ । वीरेन्द्रनगर नगरपालिकाले जनस्वास्थ्य सेवा कार्यालयमार्फत प्राप्त दुई सय किट सकिएपछि आफै खरिद गरेर ल्याएको छ । नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भुपेन्द्रदेव गिरीले एक हजार भीटीएम र नौ सय आरडीटी किट ल्याइएको बताए । पछिल्लो समय भारतबाट प्रदेश भित्रिने सबैको सीमा नाकामा स्वास्थ्य परीक्षण नहुँदा कारोना संक्रमण समुदायस्तरमा फैलने खतरा बढेको चिकित्सकहरूले बताउने गरेका छन् ।

प्रहरीका अनुसार जेठ ३ गतेदेखि १४ गतेसम्म भारतबाट भित्रिनेमा सबैभन्दा धेरै दैलेखका छन् । दैलेखका ६ हजार नौ सय ३९ जना यो अवधिमा जिल्ला भित्रिएका छन् । त्यस्तै सुर्खेतमा भारतबाट चार हजार सात सय ७० जना, कालिकोटमा एक हजार तीन सय ७६, जुम्लामा दुई सय २१, जाजरकोटमा चार सय ७१ जना भित्रिएका छन् । मुगुका एक सय ५७, सल्यानका आठ सय ९८, रूकुमपश्चिमका दुई सय २९ भारतबाट आएका हुन् । हुम्लाका एक जना मात्रै भारतबाट आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   १६ जेष्ठ २०७७, शुक्रबार ०६:५६