पर्यटन सम्भावनाको खोजी, सुर्खेतदेखि रारासम्म ‘टूर प्याकेज’

14393954_1191583054252200_1358963940_oसाझा बिसौनी संवाददाता
सुर्खेत, १ असोज ।
प्रदेश नम्बर ६ मा पर्यटन विकास र सम्भावनाको खोजी सुरु भएको छ । भौतिक पूर्वाधारको अभावमा पर्यटन प्रवद्र्धन हुन नसकेको यो प्रदेशमा पर्यटनका सम्भावनाहरूको खोजी र बहसको थालनी भएको हो । त्यसका लागि अब सुर्खेतदेखि मुगुको रारा तालसम्म संयुक्त (टूर प्याकेज) बनाउन अध्ययन थालिएको छ ।
पर्यटन व्यवसायीहरूले सुर्खेतलाई केन्द्र बनाएर रारासम्म टूर प्याकेज बनाउनुपर्नेमा जोड दिएका छन् । पर्यटन एक मात्र सम्भावनाको उद्योग भएको भन्दै सरोकारवालाहरूले यो प्रदेशको समृद्धिका लागि पर्यटनमा लगानी आवश्यक रहेको बताए । प्राकृतिक रूपमा नै पर्यटकलाई आकर्षण गर्ने पर्यटकीय स्थलहरू पर्याप्त भए पनि पूर्वाधारको अभावमा लाभ लिन नसकिएको उनीहरूको निश्कर्ष छ ।
यस क्षेत्रको पर्यटन विकास र सम्भावनाको खोजी तथा अध्ययन गर्न आएको टोली र सुर्खेतका पर्यटन व्यवसायीहरूबीच शनिवार वीरेन्द्रनगरमा छलफल भएको छ । जिल्ला विकास समिति र पर्यटन विकास मञ्चको संयोजनमा भएको उक्त कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले पर्यटकको रुचि पहिचान गर्न जरुरी रहेको बताए । यो प्रदेशमा पर्यटन व्यवसायको माध्यमबाट समृद्ध बन्न सक्ने भन्दै उनले अब राज्यले पूर्वाधारमा लगानी गर्नुपर्ने बताए । उनले भने, ‘पर्यटकलाई लोभ्याउन सक्ने गरी काम गरौं, उनीहरूले चाहेको सुविधा दिन सक्ने हाम्रो क्षमता बढाऔं । पर्यटकको लाईन लाग्न सक्छ, आर्थिक विकासको लागि यो नै उपयुक्त माध्यम हो ।’
आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर नेपाल संस्थाले यस क्षेत्रमा पर्यटन विकासको सम्भावनाको खोजी थालेको हो । सोही क्रममा अध्ययन टोलीले बर्दियादेखि रारासम्मको यात्रा सुरु गरेको छ । यात्राबाट यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरूको पहिचान गरिने र टूर प्याकेज बनाइने टोलीले जनाएको छ । सुर्खेतमा पर्यटनको सम्भावनाबारे भएको कार्यक्रमममा नेकपा एमालेका पर्यटन विभागका प्रमुख सूर्य थापाले सुर्खेतदेखि रारासम्मको संयुक्त टूर प्याकेज बनाउन सके यो प्रदेशकै समृद्धिमा टेवा पुग्ने बताए । राज्यले आवश्यक पूर्वाधारमा लगानी गर्नुपर्ने भन्दै उनले पर्यटन व्यवसायबाटै यस क्षेत्रले आर्थिक विकासको काँचुली फेर्न सक्ने दाबी गरे । यस्तै पूर्व पर्यटन राज्यमन्त्री बलबहादुर महतले पर्यटन क्षेत्रको विकासका लागि यस क्षेत्रका नागरिकहरू नै अग्रसर हुनुपर्ने बताए ।
सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर नेपालका अध्यक्ष यामबहादुर खड्काले बिजुली र बाटो उपलब्ध भएको खण्डमा यो क्षेत्रको पर्यटन विकासले गति दिने बताए । उनले भने, ‘पर्यटक मनोरञ्जन गर्न आउने हुन्, उनीहरूलाई चाहिएको सुविधा दिन सक्नु पर्दछ । भनेजस्तो भए उनीहरूले पैसा खर्च गर्न लोभ मान्दैनन्, त्यसबाट यहाँको विकास सम्भव छ ।’ पछिल्लो समय राजनीतिक दलहरूले समेत पर्यटनलाई आफ्नो मुद्दा बनाउन लागेको भन्दै उनले अब पर्यटन सबैको साझा मुद्दा बन्नुपर्नेमा जोड दिए । मुगुका पर्यटन व्यवसायी मोहन बमले भने, ‘हामीसँग धेरै प्राकृतिक उपहार छन्, तर तिनलाई हामीले प्रचारमा ल्याउन सकेनौं । अब सबैजना जुटौं, सुर्खेतदेखि रारासम्मको पर्यटन योजना बनाऔं ।’ कार्यक्रममा अर्का पर्यटन व्यवसायी भीम केसीले होमस्टे पर्यटकले खर्च गर्न सक्ने गतिलो माध्यम भएको उल्लेख गरे ।
जिल्ला विकास समिति सुर्खेतका सामाजिक विकास अधिकृत टंक लामिछानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा पर्यटन विकास मञ्च सुर्खेतका अध्यक्ष चिन्तामणि शर्माले सुर्खेतमा पर्यटन विकासका सम्भावनाहरूको बारेमा अवगत गराएका थिए । सो क्रममा सुर्खेत यो प्रदेशको सम्भावित राजधानी भएको र यहाँको प्रमुख आम्दानीको स्रोत पर्यटन नै हुने भन्दै यहाँका राजनीतिक दलहरूले सुर्खेतलगायत यस क्षेत्रकै साझा पर्यटन गुरुयोजना आवश्यक रहेको बताए । प्रचार–प्रसारको अभावमा यहाँका पर्यटकीय स्थलहरू ओझेलमा परेकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरे । साथै उनीहरूले अब ओझेलमा परेका पर्यटकीय स्थलहरूको सुधार र प्रवद्र्धनमा राज्यले लगानी गर्नुपर्ने बताए । राज्यले नै पर्यटन विकासको ठोस योजना बनाउनुपर्ने उनीहरूको सुझाव छ ।