रङ्गमञ्चमा मेरा ३४ वर्ष (संस्मरण)
गणेशभक्त गौतम |
“संसार रङ्गमञ्च हो, मानिस एउटा पात्र हो र भगवान यसको निर्देशक हो ।” यो विश्व नाट्य सम्राट शेक्सपियरको भनाइ हो । नाट्यकर्मको एउटा विद्यार्थी भएको नाताले मलाई पनि के लाग्ने गर्छ भने जसरी मान्छेको जिन्दगी एउटा नाटक हो त्यसरी नै नाटक पनि एउटा जीवन हो । नत्र किन एउटा जीवनको पात्र अजम्बरी बन्न सक्दैन तर नाटकको एउटा पात्र अजम्बरी बनिदिन्छ ! अर्थाभ्यासी आजको व्यस्त मान्छेलाई यो कुरा नपच्ला तर हो त त्यही नै । मान्छे जन्मन्छ र मर्छ, जीवनदेखि मृत्युको यस अभिनय यात्रामा मानिसले विविध भूमिकाहरूको निर्वाह गर्ने गर्छ । भनिन्छ मानिसले जन्म लिएपछि यस धराधाममा बाचुञ्जेल उसले हरेक कुरा अभिनयको माध्यमबाटै सिक्दै जान्छ ।
मानिसले जन्मदेखि नै जे पनि गतिविधि गर्छ सङ्घर्ष गर्छ त्यो कुनै न कुनै रूपमा आनन्द र सुख प्राप्तीकै उद्देश्यले अभिप्रेरित भएर गर्ने गर्छ । यसैको एक उत्कृष्ट प्राप्ति साहित्य र कला हो । पूर्वीय र पौरस्त्य सभ्यतालाई अध्ययन गर्दा नाटक एउटा यस्तो प्राप्ति हो जसमा मान्छेको सिङ्गो जीवन सशक्त रूपमा प्रतिविम्वित हुने गर्छ । जीवन अनि सभ्यताको विकासक्रमलाई नियाल्दा संसारमा विविध शैली र दर्शनमा आधारित नाटकहरू लेखिएका र खेलिएका देख्न सकिन्छ ।
जीवनरूपी नाटकको यस अभिनय यात्रामा म पनि कसरी नाटकरूपी जीवनको पात्र बन्न पुगँे, आज विश्व रङ्गमञ्च दिवसको सन्दर्भमा यस यात्रालाई फर्केर हेर्न मन लागेको छ । हुन त यस विशाल अनि अथाह रङ्गयात्राहरूको झुण्डमा मेरो रङ्गकर्म त्यस्तो कुनै अर्थ राखीहाल्ने खालको होला र ? तर पनि यहाँ आज म आफ्नो रङ्गयात्रालाई खोतल्ने जमर्काे गर्दैछु । पारखी पाठक महोदयहरूले यसलाई अभिरुचिपूर्वक अध्ययन गरीदिनुभयो भने आफूलाई कुनै न कुनै रूपमा सफल भएको ठान्नेछु ।
सायद अभिनय गुण भनेको प्रत्येक मानिसमा जन्मदेखि नै अन्तर्निहित भएर आउँछ त्यो कसैमा कलाको रूपमा प्रस्फूटित हुन्छ भने कसैमा सुसुप्त अवस्थामा रहिरहन्छ, म मा पनि त्यो अभिनय गुण सानैदेखि प्रस्फूटित हुँदै आएको हो । शैसवकालमा खेल्दा समेत मैले अरु मानिसको विभिन्न भावहरूको नक्कल गरेर अरुलाई मनोरञ्जन प्रदान गर्ने गर्थे । पछि स्कुल पढ्दा त्यो गुण र क्षमता अलि बढी प्रखर हुँदै जान थाल्यो । १०÷१२ वर्षको उमेरमा मैले आफ्नै नेतृत्वमा साना साना हाँस्य नाटकहरू तयार गरेर नाच र गीतहरू समेत समावेश गरी एउटा खाली घरको छिडीमा स्टेज निर्माण गरी टिकट सो मा एउटा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थिएँ । दुई रूपैयाँको टिकट दर रहेको त्यस कार्यक्रममा मैले आफैले टाइपराइटरमा टाइप गरेर सायद करिब एकसयको हाराहारीमा टिकट छापेको थिएँ त्यो सबै टिकट बिक्री भएर हाउसफूल भएको थियो र हाम्रो कार्यक्रम अत्याधिक सफल भएको थियो । हुन त म आत्मबल कमजोर भएको अन्तरमुखी स्वभावको मान्छे हुुँ तर विद्यालयमा हुने कार्यक्रमहरूमा म केही न केही गरिरहन्थेँ । २०३८ सालमा हाम्रो गाउँमा रहेको एउटा क्लबले गरेको नाटकमा मैले केटीको भूमिका निर्वाह गरेको थिएँ । आजसम्म सुर्खेतमा एउटा सामान्य सुविधा सम्पन्न रङ्गमञ्च बन्न सकेको छैन भने त्यतिखेरको अवस्था कस्तो हुँदो हो ! पेट्रोलमेक्स बालेर नाटक गरिन्थ्यो । नाटकलाई विभिन्न अङ्कहरूमा विभाजन गरिएको हुन्थ्यो । हुन त सेटिङ्ग त्यस्तो केही पनि हुँदैनथ्यो सामान्य पार्टीकोसम्म उपयोग गरिएको हुन्थ्यो । तर पनि दृश्य परिवर्तनमा सहजता होस् भन्ने हेतुले दृश्य परिवर्तनको बीचमा कुनै गीत अथवा नाच वा कमिक राखिन्थ्यो जो नाटकको प्रसङ्गसँग मिल्दो पनि हुन सक्थ्यो अथवा नमिल्दो पनि हुन सक्थ्यो । नाटकका कतिपय पात्रहरूले समेत नाटकको कथा र विषयवस्तु नबुझेका पनि हुन्थे ।
हुनत सुर्खेतको रङ्गमञ्चको इतिहास करिब एक शताब्दी पुरानो छ । सुरुवाती अवस्थामा गरिने रामायण र महाभारतका नाटकहरूमा समेत विभिन्न खाले पर्दाहरूको प्रयोग हुने गरेको बुझिन आएको छ । तर मैले नाटक सुरु गर्दा न त्यहाँ कुनै पर्दाको व्यवस्था थियो न त ध्वनी र प्रकाशको व्यवस्था । पात्रले चरित्र सुहाउँदो पोशाक लगाएको हुन्थ्यो अनि उपलब्ध भएसम्म सामान्य केही पपार्टीको उपयोग हुन्थ्यो र उ आफ्नो पालोमा स्टेजमा आउँथ्यो अनि याद भएसम्म घोकेको संवाद बोल्थ्यो र जान्थ्यो न त्यहाँ कसैले मूभमेन्टको बारेमा सम्झाउँथ्यो न त संवादको फिलिङ्ग अनि उतार चढाव । निर्देशकले के सिकाउँथे त्यो मलाई याद छैन ।
काठमाडौं पढ्ने क्रममा २०४५ सालमा साथी सूर्य बोहोरासँग विभिन्न क्याम्पसमा नाटक गर्दा गर्दै त्रिविमा रहेका अडिटोरियम मैले पहिलो पटक देखेको थिए । मैले नाटक गर्नका लागि निर्माण गरिएको प्रेक्षागृह पहिलो पटक देखेको त्यही नै हो जहाँ पछाडिको दर्शकलाई नछेकिने गरी बस्ने व्यवस्था गरी पछाडितिर अग्लो बनाउँदै लगेको प्रेक्षालय हुन्छ भने ठूलो रङ्गमञ्चमा विभिन्न खालका पर्दाहरू टुङ्गिएका हुन्छन् र दायाँबायाँ दुवैतिरबाट बाहिर जान मिल्ने द्वारको व्यवस्था गरिएको हुन्छ । अनि दुवैतिर कलाकारको भेषभूषा कक्ष अनि श्रृङ्गार कक्ष समेत हुन्छ । रङ्गमञ्चमा बाहिरको प्रकाश नछिर्ने गरी अँध्यारो बनाइएको हुन्छ ।
म काठमाडौं पढ्न जानु भन्दा अगाडि नाटक मालतीमङ्गलेको अत्याधिक चर्चा चलेको थियो, काठमाडौं गएर आउने मान्छेहरूले गरेको नाटकको कथावस्तुको बयानसँगसँगै त्यसमा गरिएको प्रविधि र रङ्गसज्जाको चर्चा सुनेर म त्यतिखेर चकित खाएको थिएँ । स्टेजमा देखाइएको गाउँघर खोला नाला, रात परेको, जुन तारा लागेको, पानी परेको, आकाशमा बादल मडारिएको बिजुली चम्केको आदिको बयानले म मन्त्रमुग्ध मात्र हैन चकित परेको थिएँ र मलाई त्यो कुरा पत्याउन बडो गाह्रो परेको थियो । पछि २०४६ सालमा नेपाल एकेडेमीले आयोजना गर्ने १ वर्षे अभिनय कक्षामा प्रवेश पाएपछि त्यहाँ रहेको प्रविधि र सुविधा सम्पन्न नेपालकै सबैभन्दा ठूलो रङ्गमञ्चमा खेल्ने अवसर पाइयो । मेरो मनमा गहिरो प्रभाव पारेको मालती मंगले नाटकका नायक नायिका हरिबहादुर थापा र लक्ष्मी श्रेष्ठ अनि निर्देशक बसन्त श्रेष्ठ, लेखक माधवप्रसाद घिमिरे सङ्गीत निर्देशक अम्बर गुरुङ्ग लगायतलाई पनि दैनिक त्यही भेटियो किनभने उहाँहरू सबैजना त्यतिखेर त्यहीँ जागिरे हुनुहुन्थ्यो । त्यहा एकवर्षसम्म प्रशिक्षार्थी कलाकारको रूपमा रहँदा आदरणीय गुरुहरू हरिहर शर्मा, शकुन्तला शर्मा, प्रचण्ड मल्ल, तीर्थ शेरचन जस्ता नेपालका नाटक र रङ्गमञ्चका हस्तीहरूसँगको सामिप्यमा नाटक र रङ्गमञ्च के हो भन्ने विषयमा ज्ञान हासिल गरियो भने राष्ट्रिय नाचघर र नेपाल एकेडेमी अनि राष्ट्रिय सभागृह जस्ता सुविधा सम्पन्न रङ्गमञ्चहरूमा अभिनय गर्ने अवसर पाइयो ।
पछि सुर्खेतमा २०४८ सालमा सडक नाटकको प्रदर्शनको सूत्रपात गर्दै मेरो रङ्गयात्रा जोडिएको हो । विभिन्न संघ–संस्थाहरूको आयोजनामा विभिन्नखाले स्टेज नाटकहरू त्यतिखेर प्रदर्शन गरियोपछि मैले बागीना समूह स्थापना गरेपछि सडक नाटक र मञ्च नाटकको प्रशिक्षण प्रदर्शन प्रतियोगिताहरू हामीले सञ्चालन गरी रह्यौं । अनगिन्तीसडक नाटक र स्टेज नाटकहरू हामीले ग¥यौं । रहरले भनौं अथवा करले भनौं सुर्खेत लगायत मुलुकका विभिन्न स्थानहरूमा हामीले नाटक गर्दा सधैं अभावको सामना गर्नुप¥यो खुला दिलले ढुक्कसँग कहिल्यै नाटक गर्न पाइएन । २०५२ सालदेखि मेरो नेतृत्वमा राष्ट्रिय नाटक महोत्सवमा सुर्खेतको सहभागिता हुन थालेपछि एक प्रकारले सुर्खेतको रङ्गकर्मीको पछिल्ला पुस्ताले सुर्खेतमा नभए पनि काठमाडौं पुगेर प्रविधि र सुविधा सम्पन्न रङ्गमञ्चको अनुभव सङ्गाल्न पाए । तर अन्तर्राष्ट्रियस्तरका रङ्गयात्रा भने केवल काठमाडौंका रङ्गकर्मीहरूको चंगुलमा रह्यो हामीले गर्न पाएनौं ।
काठमाडौंभन्दा बाहिर नाटक गर्दा हाम्रो अनुभवले के भन्छ भने जहिले पनि हामीले केवल गर्जाे टार्नका लागि मात्र रङ्गकर्म गर्ने ग¥यौं । ढुक्कसँग खुलेर नाटक लाइनै जीवन ठानेर कहिल्यै नाटक गर्न पाइएन । यसो हुनुको कारणहरू के–के हुन भने एक त सुविधा सम्पन्न रङ्गमञ्चको हाहाकार अर्काे कलाकारको मूल पेसा अर्कै हुनु कलाकारिताले जीविकोपार्जन नहुनु । रङ्गकर्ममा लागेर भविश्य सुरक्षित नदेखिनु लगायतका थुप्रै कारणहरूले काठमाडौं बाहिरको रङ्गमञ्च मृत प्रायः छ । जीवन नाटक जस्तो भए पनि नाटक चाहिँ जीवनजस्तो बन्न नसकिरहेको अवस्था हो यो ।
जे जसरी भए पनि आखिर रङ्गमञ्चमा लागेर ३४ वर्ष बिताइएछ । यो पनि एउटा लामै समयावधि हो । मूल पेसा अरु नै भए पनि मनको पेसा त रङ्गकर्म नै हो । आफूलाई सरकारी कर्मचारी भन्न मन लाग्दैन कलाकार नै भन्न मन लाग्छ । आफूले रङ्गकर्मको क्षेत्रमा गरांैला भनेर सोचेका अनगिन्ती कामहरू मनको मनमै साँचिएका छन् । खै के मा हो के मा अल्झिए झै भएको छ । अवत समय पनि ओरालो लाग्ने बेला भइसक्यो तर पनि आशा मरेको छैन । अझै केही गर्नु छ । आज भोलि काठमाडांैमा रङ्गमञ्च केही मौलाए जस्तो देखिए पनि बाहिर भने सुस्ताएकै छ, सुर्खेतको रङ्गमञ्च पनि सुस्ताएकै छ । आजको विश्व रङ्गमञ्च दिवसको अवसरमा सबैले यसलाई फेरि सशक्त बनाउन प्रण गरौं ।
(लेखक आरङ्ग नेपाल सुर्खेतका अध्यक्ष हुन् ।)
प्रकाशित मितिः १४ चैत्र २०७२, आईतवार ०५:५८
साझा बिसौनी संवाददाता ।