नाटकमा सुर्खेतः इतिहास र सम्भावना

प्रकाश पौडेल
मेरो करिब २५ वर्ष भन्दा लामोे रङ्गयात्राका अवसरमा मैले सुर्खेती माटोमा नाटकको आवश्यकता र सम्भावनाका बारेमा घोत्लिने प्रयास गर्दै गर्दा मेरा मनमा थुप्रै प्रश्नहरू अनुत्तरित बन्दै गए । आफैले आफैलाई प्रश्न गरें, ‘मैले यो रङ्गयात्रामा किन लागि परें ? सुर्खेती माटोमा वास्तवमै के सम्भावना छ त ? नाटक म कसका लागि किन गर्दैछु ?’ 
साहित्यका विभिन्न विधामध्ये नाटक एक यस्तो विधा हो जहाँ श्रव्य र दृश्य भेद हुन्छ अर्थात् नाटक साहित्यका अन्य विधा कथा, कविता, निबन्ध, जीवनी भन्दा पृथक पढ्नका लागि मात्र नभइ जीवन सादृश्य देखाउने वा जीवनसत्यलाई प्रत्यक्ष रूपमा साक्षात्कार गराउने काव्यकला हुनाले नाटक सबैका लागि आनन्दायी हुन्छ । यो विधा जीवनसत्यको साक्षात्कार गराउनका साथै शिक्षा र मनोरञ्जन दिने सशक्त विधाका रूपमा मानिन्छ । नाटक लेखपढ गर्नेका लागि मात्र नभएर लेखपढ गर्न नसक्नेका लागि समेत शिक्षा र मनोरञ्जन दुवै दिने विधाका रूपमा लिइन्छ त्यसै कारणले गर्दा पनि यस विधामा प्राचीनकालदेखि वर्तमानसम्म सबैको उत्तिकै चाख रहेको देखिन्छ । सुर्खेतको रङ्गमञ्चको इतिहास पनि निकै लामो छ ।
वि.सं. १९८७ देखि १९९० को बीचमा तत्कालीन बस्ती कटकुवामा नारायण पुरी महाराजको कुटीबाट गरिएको रामलिला नाटक पूजाआजा पुराण एवम् धार्मिक उत्सव र चाडपर्व आदिमा घरघरका आँगनहरूमा समेत प्रदर्शन गरिन्थ्यो । त्यस्तै तत्कालीन मुख्यालय गोठीकाँडा भन्ने ठाउँमा रहेको र जागिरको शिलशिलामा सल्यानतिरबाट आएका मोहनलाल श्रेष्ठले २००२ सालमा वडादशैंको अवसरपारी गोठीकाँडाको टुँडीखेलमा प्रदर्शन गरेको थाहा हुन आएको छ । 
(गणेशभक्त गौतम, २०६६) । यस क्षेत्रमा रत्यौलीको परम्परा पनि निकै पहिलादेखि थियो विवाहका रात दुलाहको घरमा दुलाहकी आमा, फूपु, दिदीको नेतृत्वमा हुने रत्यौली नाच नाटकको प्राचीन रूप हो भन्दा हुन्छ । (गोविन्द कोइराला, २०६८) 
यसरी नाटकको इतिहासका बारेमा कलम चलाउँदै आएका यी रङ्गकर्मीका अलावा पंक्तिकार स्वयम्ले सुर्खेतका नाटकका उठानकालका कलाकार स्व. पदमबहादुर खड्का, स्व. भीमबहादुर बस्नेत लगायत सुर्खेती माटोका वरिष्ठ कलाकार प्रेमदेव गिरीसँगको प्रत्यक्ष साक्षात्कारमा समेत सुर्खेतको नाटकको सुभारम्भ धार्मिक एवम् सांस्कृतिक समारोहबाट नै भएको बुझेकाले यी रङ्गकर्मीका विचारसँग म पनि सहमति जनाउँदै यस समाजलाई नाटकको अवश्यकताको आधारको रूपमा मनोरञ्जन नै हो भन्न अतिशयोक्ति नहोला । सुर्खेती माटोमा नाट्यकर्मको उठान विन्दुदेखि झण्डै वि.सं. २०२० सम्मको समयमा नाटक गर्नुको प्रमुख उद्देश्य मनोरञ्जन भए पनि तत्कालीन समयमा गरिएका रामलिला, हरिशचन्द्र, भहाभारत, नरसिंह, ध्रुव, बालविवाह, काशीवास, साकुन्तल, राम वनवास नाटकहरू विषयलाई हेर्दा अधिकांश धार्मिक, पौराणिक  ऐतिहासिक नाटक, त्यसपछि केही सामाजिक भावमा आधारित नाटक भएबाट नाटक गर्नुको उद्देश्य मनोरञ्जनका अलावा जनमानसमा धार्मिक, सामाजिक सन्देश प्रवाह गर्नु पनि हो भन्न सकिन्छ । 
यसरी १९८७ देखि सुरु भएको सुर्खेतको रङ्ग इतिहास समय कालखण्डसँगै समय सापेक्ष परिवर्तन एवम् आवश्यक सुधार हुँदै अगाडि बढेको पाइन्छ । वि.सं. २०१७–०१८ सालसम्म धार्मिक एवम् छिटफुट सामाजिक विषयमा मात्र केन्द्रित नाटक देशमा भएको राजनैतिक परिवर्तनसँगै नाटकको आवश्यकता पनि भिन्नै किसिमले महशुस गर्दै राजनीतिक उकुसमुकुसको पर्दा खोल्ने माध्यमका रूपमा समेत नाटकको आवश्यकता महशुस गरियो । फलतः सुर्खेती माटोबाट समेत क्रान्तिकारी र वीर रसप्रधान गंगालालको चिता, मसान, नारीको क्रन्दन, लासको पुकार, तातो रगतको प्रतिज्ञा, त्यो देश द्रोही गोर्खाली होइन जस्ता नाटकहरू स्थानीय प्रशासनबाट सेन्सर लिएर÷नलिएरै भए पनि वि.सं. २०४६ साल अघिसम्म विभिन्न गाउँबस्तीमा गरिएको तत्कालीन कलाकारहरूबाट सुन्दा नाटकको आवश्यकता राजनीतिक सामाजिक, राष्ट्रियताको चेतना वृद्धिको लागि पनि हो भन्न सकिन्छ । 
वि.सं. २०४६ सालपछि भने सुर्खेतको नाट्यकर्म अझ बढी परिस्कृत हुँदै अगाडि बढ्दै गएको देखिन्छ । २०४६ साल पछि सुर्खेती माटोमा प्रेमदेव गिरीको सांस्कृतिक संस्थानको लामो अनुभवको प्रयोगस्वरूप रङ्गमञ्चमा फरक खालको प्रविधिगत विकास, पाश्र्वसङ्गीत, प्रकाश व्यवस्थापन जस्ता कुराको कुशल संयोजनले रङ्गमञ्चीय नाटकमा पनि स्थानीयवासीले नयाँ स्वाद लिन पाए भने र रङ्गमञ्चको नयाँ प्रयोगका रूपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा नाटक सम्बन्धी विशेष कोर्ष पूरा गरी आएका गणेशभक्त गौतमले सडक नाटक भिœयाय पश्चात् सुर्खेती माटोमा नाटकको आवश्यकतालाई अझ बढी पृथक ढङ्गले हेर्न थालियो । खोपीराम लम्सालको मातृभूमिको व्यथा, गणेश गौतमको अंश कि वंश, युगारम्भ, सतिकलसाको धमारी, मृत्युको खेल र मुशल पर्व, गोविन्द कोइरालाको मेरो देश मुर्छा परेको छ, अर्काे युगारम्भ, दागबत्ती, उमालाल आचार्यको मौन धारण जस्ता नाटकहरूले काठमाडौं र सुर्खेत भन्दा बाहिरी जिल्लाका रङ्गमञ्चबाट सुर्खेती नाटकको स्वाद ग्रहण गराउँदै सुर्खेतभन्दा बाहिरका दर्शक एवम् कलाकारबाट भारी प्रशंसा पाए । समयसँगै नाटकको विषय सीमित धार्मिक, सामाजिक कथामा मात्र सीमित रहेन भने नाटकले समाजका सामाजिक, आर्थिक, राजनीतिक मुद्दामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने माध्यम पनि बन्दै गयो । त्यतिमात्र नभएर विभिन्न लोककला संस्कृतिको खोज अनुसन्धानको माध्यम समेत नाटक बन्दै गयो । त्यस्तै युवाहरूको व्यक्तित्व विकासमा समेत महŒवपूर्ण योगदान दिन पुग्यो नाटकले ।
सुर्खेती रङ्गकर्मले थुप्रै सम्भावना समेत बोकेको छ । त्यसैले वि.सं. १९८७ देखिको रङ्गकर्मको यात्रा आजसम्म विभिन्न किसिमबाट अगाडि बढेको छ । यो यात्राले सयौं नाट्यकर्मी, दर्जनौं नाटक लेखक, निर्देशक, यो माटोले जन्माएको छ भने यहाँ नाटकको विषयवस्तुले समेत धर्म संस्कृतिदेखि क्रान्तिका आवाज र जनचेतनाका स्वरहरू पु¥याएको छ । रङ्गमञ्चका हिसाबले आफ्नो रङ्गमञ्च घर–आँगन पिढी, द्यालो र पेट्रोलमेक्सको धिप धिपे बत्ती, मकैका ढोडका वारदेखि घरका धोती र तन्नाको पर्दा हुँदै जिविस सुर्खेतको हलसम्म र सडकका प्रत्येक चोक र गल्लीसम्म पुगेको छ । यस क्षेत्रमा भएको प्रविधिगत विकाससँगै वीरेन्द्रनगरमा सिटीहलको आवश्यकता महशुस गर्दै सिटीहल निर्माणका लागि विभिन्न क्षेत्रबाट पहल भइरहेको छ । सामाजिक रूपमा कलाकारलाई हेर्ने धारणा आज परिवर्तन हुँदै गएको 
छ । वि.सं. २०१९ सालमा सिम्ताकी कलावती गुरुङ्गले सुरु गरेको रङ्गमञ्चमा महिला उपस्थितिलाई आज रङ्गमञ्चदेखि सडकसम्म नै कमला पन्त, डम्मर आचार्य, सुशीला बस्नेत, माया थापा, सुनिता रोकाय, सविता कोइराला जस्ता थुपै्र प्रतिष्ठित महिला युवाहरूले पच्छाई थुप्रै किशोरीहरूलाई प्रवेशको बाटो बनाएका छन् । त्यस्तै कलाकारहरूको क्षमता विकास र कार्यक्षत्रगत संलग्नतालाई हेर्दा सुर्खेती माटोले जन्माएका थुप्रै रङ्गकर्मीहरूले सुर्खेती रङ्गमञ्चमा मात्र सीमित नरही राष्ट्रिय रङ्गमञ्चमा आफ्नो छुट्टै छाप छोड्नुका साथै थुप्रै ठूलो पर्दा, सानो पर्दा, टिभी सिरियल, म्यूजिक भिडियो, एफएम रेडियोहरूमा समेत छुट्टै स्थान बनाउन सफल भएका छन् । 
यस क्षेत्रमा नवप्रवेशीहरूका लागि बागीना समूह, आरङ्ग नेपालजस्ता संस्थामार्फत् यसै क्षेत्रमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानबाट विशेष कोर्ष पूरा गरेका एवम् यीनै निकायमा लामो समय काम गर्दै आएका वरिष्ठ कलाकार प्रेमदेव गिरी, लेखक, निर्देशक गणेश गौतम, रङ्गकर्मी याम आचार्य लगायत यस क्षत्रमै लामो अनुभव गरेका उमालाल आचार्य, गोविन्द कोइराला, प्रकाश पौडेल, ज्ञानबहादुर नेपाली जस्ता नाटक लेखक, निर्देशक एवम् कलाकारहरूद्वारा बेलाबखतमा छोटा अवधिका तालिम कार्यक्रमहरू समेत सञ्चालन गरी थुप्रै नाटककर्मीहरू उत्पादन गर्ने काम समेत हुँदै आएको छ । पछिल्लो पुस्ताका सुशीला रेग्मी, माया थापा, ललित भट्टराई, सविता कोइराला, सुनिता रोकाय, हरि ढकाल, उत्तम शर्मा, खुमलाल न्यौपाने लगायतका कलाकारहरूले समेत सुर्खेती रङ्गकर्मको विकासका लागि वर्तमानमा विभिन्न समूहमार्फत् नेतृत्वदायी भूमिकामा लागिपर्दै आएका छन् । यस्तै संस्थाको विकासक्रमलाई हेर्दा समेत सीमित परिवार, समाज, टोलबस्तीमा खुलेका नाटक कलाकारहरूको अनौपचारिक सङ्गठनहरू विस्तारै फैलिदंै समग्र मध्य तथा सुदूरपश्चिम क्षेत्रकै नेतृत्व सुर्खेतले लिनुपर्छ भन्ने मान्यतासहित मध्य तथा सुदूरपश्चिम क्षेत्रमै प्रतिष्ठित बागीना समूह विगत २२ वर्ष अगाडिदेखि बाजा, गीत, नाट्य (नाच नाटक) को समग्र विकासका लागि लागि परेको छ भने पछिल्लो समयमा जन्मिएको नाटक सम्बन्धी मात्र काम गर्ने संस्था आरङ्ग नेपाल लगायत उज्वल कला परिवार, सप्तरङ्गी मोडल आर्टस्, सङ्गम नाट्य समूह जस्ता संस्थाको नेतृत्वमा अहिलेको पुस्ता यिनै सम्भावनाहरूलाई आत्मसात् गर्दै सुर्खेती माटोमा रङ्गमञ्चीय सम्भावनाको बाटो कोर्न लागि परेको छ । 
यिनै आधारमा हिजोको रङ्गमञ्चका तुलनामा आजको सुर्खेती रङ्गमञ्चले थुप्रै सम्भावना बोकेको देख्न सकिन्छ । आजको सुर्खेती नाट्यक्रम सीमित पर्व, ठाउँ विशेषका लागि केन्द्रित छैन । सुर्खेती रङ्गमञ्चको विषय देश विदेशका लागि अनुसन्धानको विषय बन्न सक्छ भने यहाँका रङ्गकर्मीको आफ्नो मौलिककलाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै छुट्टै छाप छोड्न सक्ने भइसकेको छ । तर पनि सुर्खेती रङ्गकर्मीले अपेक्षाकृत व्यवसायिक रूप दिन नसक्दा नाट्यक्रमलाई एउटा शोखको रूपमा लिंदै आफ्नो छाक टार्न वैकल्पिक जागिर वा व्यवसायमा अल्मलिनुपर्ने बाध्यता वनेको छ तसर्थ राज्यका तर्फबाट समेत सुर्खेती माटोको यो ८० वर्ष भन्दा पनि लामो रङ्गमञ्चीय सम्पत्तिको सम्र्वद्धन गर्दै भावी पिँढीले नाटकको यो यात्रालाई किन अगाडि बढाउने त्यसको स्पष्ट खाका दिन जरुरी छ । 
(लेखक आरङ्ग नेपाल सुर्खेतका सचिव हुन् ।)
प्रकाशित मितिः   १४ चैत्र २०७२, आईतवार ०६:०६