‘सुर्खेतमा नाटक घर बनाउने योजना छ’

बाजा, गीत र नाटकको संरक्षण, सम्वद्र्धन र विकासका लागि सुर्खेतका कलाकारहरू आफै मिलेर गठन गरिएको संस्था हो, बागीना समूह । कला र सङ्गीतका क्षेत्रमा क्रियाशील बागीनाले राष्ट्रियस्तरमै आफूलाई स्थापित गरिसकेको छ । सुर्खेतमा कलाकारहरू उत्पादनदेखि उनीहरूको प्रतिभा तिखार्दै उजागर गर्ने कार्यमा बागीनाको भूमिका प्रशंसनीय छ । विश्व रङ्गमञ्च दिवसको अवसरमा हामीले बागीनाका अध्यक्ष गोविन्द कोइरालासँग सुर्खेतको रङ्गमञ्च र बागीनाका गतिविधिका विषयमा रहेर कुराकानी गरेका छौं । प्रस्तुत छ, कोइरालासँगको कुराकानी ः
बागीनाले हिजोआज के गरिरहेको छ ?
  • हामीले हाम्रा नियमित कामहरू सञ्चालन गरिरहेका छौं । हरेक दिन प्रशिक्षण र अभ्यास भइरहेका छन् । एउटा जनचेतनामूलक सडक नाटक प्रदर्शनको तयारीमा पनि छौं र त्यसको तयारीमा लागेका छौं ।

 

बागीना विगतमा जस्तो सक्रिय देखिदैन नि ?
  • निष्क्रिय नै भएको त होइन । हाम्रा गतिविधिहरू निरन्तर चलिरहेका छन् । पहिला हामी नै हाम्रा हरेक कामलाई मिडियामा ल्याउन जोड गर्दथ्यौं तर अहिले त्यसो गर्दैनौं त्यसैले निष्क्रियजस्तो देखिएको मात्र हो । फेरि बागीना कलाकारहरू आफैले सञ्चालन गरेको संस्था हो । यसलाई सञ्चालन गर्ने हामीहरू पनि आ–आफ्ना घरायसी र पेसागत कार्यमा उत्तिकै सक्रिय हुनुपर्ने हुनाले पनि धेरै कामहरू हुन नसकेका हुन् ।

 

रङ्गमञ्चमा युवाहरूको सहभागिता र भविष्य कस्तो देख्नुहुन्छ ?
  • हामीले सकारात्मक अपेक्षा गर्नुपर्दछ । सुर्खेतको रङ्गमञ्चको क्षेत्र युवाहरूबाट पनि हामी त्यो आश गर्दछौं । तर युवापीढिमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने उर्जा र जोश भने त्यत्ति देखिएको पाइँदैन । जतिबेला हामी २२–२४ वर्षका थियौं त्यतिबेलादेखि नै जान अञ्जान हामीले नेतृत्व लियौं तर पछिल्लो पीढिले त्यो रूपमा जिम्मेवारीबोध गर्न सकिरहेको देखिदैन । तर सम्भावना नै नभएको भने होइन ।

 

रङ्गमञ्चका क्षेत्रमा सुर्खेतले गरेका उल्लेखनीय कामहरू के–के हुन् ?
  • राष्ट्रिय नाटक महोत्सवमा हामीले ६ पटक सहभागिता जनायौं र प्रत्येक पटक उत्कृष्ट भएका छौं । नाटककै कारण सुर्खेत र काठमाडौं नजिक हुन पुगे । नृत्यमा पनि सुर्खेतले राष्ट्रियस्तरमा पटक–पटक उत्कृष्ट हुँदै आएको छ । गायनको क्षेत्रमा पनि हामीले धेरै पटक बाजीमारेका छौं । पूर्वको झापादेखि पश्चिम महाकालीसम्म हामीले सडक नाटक प्रदर्शन गरेका छौं । रङ्गकर्मकै माध्यमबाट सुर्खेतको राष्ट्रिय हैसियत निर्माण ग¥यौं । यहाँबाट हजारौंले विभिन्न विधामा प्रशिक्षण लिएर आफूलाई अब्बल कलाकार सावित गरिसकेका छन् । राज्यको सहयोगविना कलाकारहरू आफै मिलेर बागीनाजस्तो संस्था चलाइरहेका छौं । यो भन्दा उल्लेखनीय काम के होला र ?

 

बागीनाको आगामी योजना के छ ?
  • सुर्खेतमा एउटा नाटकघर बनाउने योजना छ । त्यसका लागि छलफल भइरहेको छ र कलाकारहरूलाई कलाकारितामार्फत् नै बाँच्न सक्ने र कलामा नै टिकाउनेतर्फ सोचिरहेका छौं ।

 

सुर्खेतको रङ्गकर्मलाई माथि उकास्न के गर्नुपर्ला ?
  • सबै क्षेत्रबाट सहयोग भयो भने यहाँको रङ्गमञ्चले निकै ठूलो फड्को मार्न सक्ने सम्भावना छ । राज्य कलाकारिताप्रति उदासिन छ । कलाकारहरूलाई गहनाको रूपमा मात्रै हेर्ने गरिएको छ । तर त्यो होइन । कलाकार भनेका चाडपर्वको बेला लगाउने र अघिपछि थन्क्याउने गहना हुँदै होइनन् । कला भनेको गास, बास र कपास जत्तिकै महŒवपूर्ण र आवश्यक छ । त्यसैले राज्यले यसमा लगानी गर्न हिचकिचाउनु हुँदैन । कृषि, खेलकुद, पशु लगायतका क्षेत्रका लागि राष्ट्रियदेखि स्थानीयस्तरसम्म सरकारी निकाय छन् तर कलाकारिताको केन्द्रमा केही संस्थानबाहेक कुनै निकाय छैन । क्षेत्रीय तथा जिल्लास्तरमा कलाकारितालाई हेर्ने छुट्टै निकाय बनाउन जरुरी छ ।

 

सुर्खेतमा थियटर सञ्चालनको सम्भावना छ कि छैन ?
  • सम्भावना त पक्कै पनि छ । हामीले पनि सोच नबनाएका होइनौं । तर यहाँ टिकट काटेर हेरिदिने दर्शकको कमी छ । पैसा तिरेर नाटक हेर्ने संस्कार स्थापित भइसकेको छैन । त्यसैले पनि हामी अघि बढ्न सकेनौं ।

 

अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?
  • कलाकारितालाई राज्यले अझै बुझ्न नसक्नु विडम्बना हो । यसतर्फ सचेत हुन जरुरी छ । अन्य दिवसहरूमा सरकारी निकायकै आयोजनामा विभिन्न गतिविधिहरू हुन्छन् । तर रङ्गमञ्च दिवसका बारेमा धेरैलाई थाहा पनि हुँदेन । राज्यले यसलाई उत्सवको रूपमा मनाउनेगरी कार्यक्रम बनाएको भए राम्रो हुने थियो । तर राज्यको मुख ताकेर मात्र पनि हुँदैन कलाकारहरू आफैले पनि आफूले सक्ने कामहरू गर्न जरुरी छ ।
प्रकाशित मितिः   १४ चैत्र २०७२, आईतवार ०५:५४