कालापहाडको विकल्प खेतबारी

भूगोल सजिलो छैन । अप्ठ्यारो भूगोलमा बस्ती छन् । विकासमा त पछि परेकै छ जीवनशैली पनि अप्ठ्यारै छ । तराईकोजस्तो खेतीयोग्य जमिन छैन । भएको जमिनमा खेती गरौं भने पनि ६ महिना पुग्दैन । सिंचाइको सुविधा हुँदैन । दुःख बढी हुन्छ । जमिनबाट उब्जनी नभए पनि जीविकोपार्जन गर्न केही न केही त गर्नैपर्‍यो । रोजगारीका अरु पर्याप्त अवसर छैनन् । गाउँमै अवसर नभएपछि अन्यत्र जार्नैप¥यो । कहाँ जाने ? अलि पढेलेखेका सहर वा अन्य तेस्रो मुलुक जान्छन्, बाँकी सबैको गन्तव्य कालापहाड । कालापहाड अर्थात भारत । कर्णालीका धेरै नागरिकको चुल्हो कालापहाडकै कमाइले बल्छ । रोजगारीको स्रोत नै कालापहाड हो ।

पूर्णरूपमै कालापहाड निर्भर परिवारको संख्या कर्णालीमा ठूलो छ । केही भए आफ्नै खोरिया खलियानको आम्दानीले गुजारा चलाउने र केही भारत गएर कमाउने अनि जीविको चलाउने छन् । वर्ष–दिन उतै बसेर कमाउनेदेखि अनुकूलता मिलाएर २÷३ महिनाा लागि जाने र फर्किनेको संख्या पनि कम छैन । अर्थात धेरथोर भए पनि कर्णाली कालापहाडमा निर्भर छ । हिमाली क्षेत्रमा गएर सिजनका बेला स्याउ टिप्नेदेखि सुरक्षागार्ड, होटल, रेष्टुरेण्ट र अन्य उद्योग कलकारखाना र कम्पनीहरूमा मजदूरी गरिरहेका हुन्छन् । कयौं यस्ता परिवार पनि छन् जो वर्षौदेखि सिङ्गो परिवार नै उतै बसेर मजदूरी गरिरहेका छन् । गाउँमै अडिने मेसो नपाएपछि परिवारको गर्जो टार्न भारत नगइ हुन्न । कर्णालीका बेरोजगार युवाका आम व्यथा हुन् यी । पढ्दै गरेका कलिला किशोरहरूदेखि भर्खरका युवा र बयस्क अवस्थाका पुरुषहरू कालापहाड धाउँछन् । केही समय दुःखजिलो गरेर केही रकम कमाउँछन् र स्वदेश आउँछन् । परिवारको जीविको चलाउँछन् ।

यो सहज अवस्था हुँदाको कुरा हो । तर अहिले अवस्था फेरिएको छ । सजिलो होइन विषम् छ । कोरोना महामारीले भारत पनि आक्रान्त छ । जसको असर रोजगारीका लागि गएका नेपालीहरूमा पनि परेको छ । उनीहरूले रोजगारी गुमाएका छन् । जसका कारण धमाधम स्वदेश फर्किंदैछन् । कोही रोजगारी गुमाएर फर्किइरहेका छन् भने कोही कोरोनाको फैलिँदो त्रासका कारण फर्किएका छन् । जे होस् यसरी फर्किनेको ताँती लागेको छ । पछिल्लो केही हप्तामा मात्रै १५ हजारभन्दा बढी नागरिक भारतबाट प्रदेश भित्रिएका छन् ।

यसरी भित्रिएकाहरूबाट हुनसक्ने कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न अलिहलेको तात्कालिक दायित्व हो । सँगसँगै अब उनीहरूलाई स्वदेशमै व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी पनि राज्यले पूरा गर्नुपर्दछ । कालापहाडकै भर पर्नुपर्ने अवस्थाको अन्त्य गरी यतै स्वरोजगार बनाउने योजना ल्याउन जरुरी छ । यसका लागि सरकारले कृषि उत्पादनमा संलग्न गराउने गरी कार्यक्रम बनाउन सक्दछ । कर्णालीकै भूगोल सुहाउँदो उत्पादनमा युवाहरूलाई परिचालन गर्न सक्ने हो भने बेराजगारी समस्या पनि समाधान हुनेछ भने प्रदेशकै अर्थतन्त्रलाई समेत सघाउ पुग्नेछ । त्यसैले भारतबाट फर्किएका नागरिकलाई कालापहाडको विकल्पमा आफ्नै खेतबारीमा लगाउन सरकारले आगामी बजेट केन्द्रित गर्नु अपरिहार्य छ ।