वीरेन्द्रनगर जेसिजद्वारा रक्तदान

वीरेन्द्रनगर जेसिजले गणतन्त्र दिवसको अवसरमा बिहीवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लकडाउनको समयमा रगतको अभाव हुन नदिन रक्तदान गरिएको अध्यक्ष शिवराज घिमिरेले जानकारी दिए । उनका अनुसार २२ जनाले रक्तदान गरेका छन् ।

लकडाउनको कारण सुर्खेतमा रगत अभाव हुन थालेकोले नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखासँगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्व अध्यक्ष हरिहर बस्नेतले जेसीजको मर्म मानवताको सेवा नै मानव जीवन को सर्वोत्तम कार्य हो भन्ने मूल मन्त्र आत्मसात् गर्दै उदाहरणीय कार्य गरेको बताए ।

अर्का पूर्व अध्यक्ष सरस्वती बस्नेतले कोभिड–१९ ले ग्रस्त अवस्थामा रक्तदानजस्तो मानवसेवाको कार्य गर्नु उदाहरणीय भएको बताइन् । कार्यक्रममा पूर्व अध्यक्षहरू पूर्णबहादुर नेपाली, सरस्वती बस्नेत, भद्र भण्डारी, विमल पोख्रेल, उपेन्द्र सुवेदी, वित्रिहोत्र वशिष्ठ, श्यामकुमार थापा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १६ जेष्ठ २०७७, शुक्रबार ०६:५०