कर्मचारीको भत्ता कटौती, स्वास्थ्य स्वयंसेविकाहरुलाई यातायात खर्च दोब्बर

काठमाडौंः सरकारले प्रशासनिक खर्च कटौती गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि प्रशासनिक खर्च कटौती गरेको हो ।

बिहीवार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन् । उनले कोरोनाको उपचार र रोकथाममा खटिने चिकित्सक, स्वास्थ्यकर्मी बाहेकका राष्ट्रसेवकलाई दिइने प्रोत्साहन, जोखिम, अतिरिक्त समय भत्ता, खाना, खाना भत्ता खारेज हुने बताएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीबाहेक अन्य सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती गरिएको छ।

अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् ती कर्मचारीको प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा भत्ता, जोखिम भत्ता साउन १ देखि खारेज गरिएको घोषणा गरे । सरकारले अत्यावश्यक सेवा दिने कार्यालयबाहेकका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्तिसमेत रोक्का गरेको छ ।

सरकारले स्वास्थ्य स्वयंसेविकाहरुलाई यातायात खर्च दोब्बर दिने जनाएको छ । अर्थमन्त्री खतिवडाले स्वयंसेविकाहरुको निःशुल्क स्वास्थ्य बीमालाई निरन्तरता दिँदै यातायात खर्च दोब्बर बनाइने बताएका हुन् । उनले स्वयंसेविकाहरुलाई स्थानीय तहमा सरसफाइ, स्वास्थ्य सचेतनाको परिचालन गरिने बताए । हाल नेपालमा ५२ हजारको हाराहारीमा स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत रहेका छन् ।

प्रकाशित मितिः   १५ जेष्ठ २०७७, बिहीबार १९:४१