थपिए १५ संक्रमित

कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार गरिएको पीसीआर परीक्षणमा सुर्खेतका १३ र बझाङ्का एक र ठेगाना नखुलेको एक गरी १५ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरू सबै हालैमात्र भारतबाट फर्किएका हुन् ।

पाँच जना महिला र १० जना पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार कोरोना संक्रमण हुनेमा वीरेन्द्रनगर नगरपालिकाका १० जना, चौकुने गाउँपालिकाका तीन जना, बझाङका एक जना र ठेगाना नखुलेका एक जना रहेका छन् । संक्रमण देखिएका १५ जना जेठ ९ गतेदेखि यता भारतबाट आएको उनले जानकारी दिए ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । यसअघि सुर्खेतमा १५ र दैलेखमा आठ जनालाई कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिएका ३८ जनाकै सुर्खेतमा रहेको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको स्वास्थ्य सेवा महाशाखा प्रमुख तिवारीले जानकारी दिए । रोजगारीका लागि भारत गएका कोरोना त्रासका कारण फर्किनेको संख्या कर्णालीमा बढ्दै गएको छ । यसले कर्णालीमा कोरोना संक्रमणको जोखिम पनि बढेको छ ।

प्रकाशित मितिः   १५ जेष्ठ २०७७, बिहीबार ०६:५१