मजदुरीको मजबुरीले निम्त्याएको बिजोग

खेती गरौं तीन महिना खान पुग्दैन । रोजगारीका अवसर छैनन् । गाउँमै अडिने मेसो केही छैन । परिवारको गर्जो टार्न भारत नगइ हुन्न । कर्णालीका बेरोजगार युवाका आम व्यथा हुन् यी ।

यहाँका झण्डै ६० प्रतिशत नागरिक भारतको मजदुरीको भरमा जीविकोपार्जन गर्न बाध्य छन् । सरकारी तथ्याङ्क भन्छ– कर्णालीमा ३६ प्रतिशत छाक टार्नै मुस्किल हुने गरिबी छ । ५२ प्रतिशत बहुआयामिक गरिबी छ । विकासका सबै सूचकमा पछाडि परेको कर्णालीमा यतिबेला कोरोनाका कारण रोजगारी गुमेपछि प्रदेश भित्रिनेको लर्को लागेको छ । सीमा नाकाबाट उर्लिने युवाको धुइरो छ । बेरोजगारीले घरबाट लखेटिएका उनीहरूलाई कोरोना त्रासले लखटेर फेरि गाउँमै पु¥याइदिएको छ ।

केन्द्रीकृत शासन व्यवस्थाले हेरेन, यहीँ गुनासो थियो यसअघि साविकको भेरी र कर्णालीमा । देशमा संघीयता आएको पनि लामै समय भयो । तीन वर्षदेखि गाउँ–गाउँमा सरकार छन् । सबै नागरिकका समस्या सुन्न बनेका ती सरकार पनि उस्तै भए । युवालाई गाउँमै रोक्ने योजना बनाइएन् । अधिकांश पालिकाले प्रत्येक वर्ष कागजमा युवा लक्षित कार्यक्रम त बनाए । कार्यान्वयन भएन । जसले गर्दा पेट पाल्न भारत जाने क्रम रोकिएन । स्थानीय सरकारले युवाका लागि आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्न सकेको भए सायद हिजो–आज देखिरहेका सीमा नाकाका दृश्य हेर्नुपर्ने थिएन । गाउँ नगरले रोजगारी त दिएनन् नै आफ्नो गाउँ नगरमा कति युवा बेरोजगार छन्, ती कहाँ छन् भन्ने एकिन तथ्याङ्क समेत राख्न सकेका छैनन् ।

राष्ट्रिय युवा परिषद् सुर्खेतका अध्यक्ष टेकेन्द्र बस्नेत भन्छन्, ‘तीनै तहका सरकारले युवाका लागि असारमा कर्मकाण्डी कार्यक्रम मात्र बनाए । युवाका नामममा तालिमबाहेक अन्य उपलब्धीमूलक कार्यक्रम केही ल्याउन सकेनन् ।’ युवालाई आफ्नै गाउँ–ठाउँमा रोक्न सक्ने योजना बनाउन नसक्नुको परिणाम अहिले सीमा नाकामा देखिएको भीड भएको उनले बताए । ‘कृषिमा दिइने अनुदान नजिकका कार्यकर्तामुखी भयो,’ उनले भने, ‘गोठमा भंैसी पाल्नेले अनुदान पाएन । कागजमा भैसी पाल्न सक्ने पहुँचवालाले मात्रै अनुदान पाए ।’ हजारौं युवाहरू गाउँ आएकाले उनीहरूलाई उत्पादनसँग जोड्ने कार्यक्रम नल्याए आगामी दिनमा गरिबी झनै बढ्ने उनको भनाइ छ ।

मजदुरी गर्न भारत गएका युवा कैयौं दिनको कष्टकर पैदल यात्रापछि सीमा नाकामा आए । आपत्का बेला देश सम्झिएर आएका उनीहरूले देशभित्र छिरेपछि झनै दुःख पाइरहेका छन् । सरकारले उनीहरूको उचित व्यवस्थापन गर्न सकिरहेको छैन । वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का हरिप्रसाद जैसी चार जनाको परिवारसहित ढाई वर्ष अघि दैलेखको डुङ्गेश्वर गाउँपालिकाबाट सुर्खेत झरे । गरिबीले गाउँ बस्न नदिएपछि सुर्खेत आएका उनले फूटपाथमा ठेलामा नास्ता बनाएर बेच्न थाले । नगरपालिकाले ठेला हटाइदियो । त्यसपछि उनी मजदुरी गर्न परिवारलाई कोठा भाडामा राखेर भारतको गुजरात हानिए । त्यहाँ पुगेको १० दिनमै भारतमा लकडाउन भयो । दुई महिना त्यसै कोठामा थन्किए । भारतमा रेल चल्न थालेपछि उनी नेपाल फर्किए । ‘यसबीचमा मैले कति दुःख भोगे भनिसाध्य छैन,’ जैसीले सुनाए, ‘आफ्नै ठाउँमा रोजगारी पाइदिए यो हाल किन हुन्थ्यो ।’

अहिले भारतबाट फर्कने हजारौं युवाका पीडा समान छन् । जैसी प्रतिनिधि पात्र मात्रै हुन् । वीरेन्द्रनगर–१ का झलक न्यौपाने भारतबाट फर्किएपछि वीरेन्द्रनगर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा छन् । भारतबाट चाउचाउ र पानीको भरमा उनी सुर्खेत आइपुगेका हुन् । चार–पाँच हजारको भिडमा आएका उनले आफूलाई असुरक्षित ठानेपछि क्वारेन्टाइनमा बसेका हुन् । ‘मलाई कोरोना संक्रमण भइहाले आफूमाथि आश्रित परिवारको हालत के होला,’ उनी भन्छन्, यही डरले झन् सताएको छ ।’

‘सरकारले आफ्नै ठाउँमा रोजगारी दिएको भए हामीले यति दुःख पाउने थिएनौं,’ भारतबाट फर्कने हरेक कर्णालीका युवाको भनाइ यस्तै छ । चौकुने गाउँपालिका–१० का ३१ वर्षीय मानबहादुर विकले नेपाल भित्रिएपछि राम्रोसँग खान समेत नपाएको गुनासो गरे । जीवनज्योति मावि गुटुमा रहेको क्वारेन्टाइनमा बस्दै आएका उनले भने, ‘आफ्नै ठाउँमा सजिलो होला भनेर नेपाल फर्कियौं । यहाँ त झन् धेरै दुःख भोग्नु प¥यो ।’ मानबहादुर क्वारेन्टाइनमा बसेको बुधवार १२ दिन पुगेको छ । अब रिर्पोट नेगेटिभ आउने र सकुशल घर फर्किने उनको अपेक्षा छ । स्थानीय तहले लाखौं खर्चिएर बनाएका क्वारेन्टाइन व्यवस्थित छैनन् । त्यहाँ खाना र बस्नको राम्रो प्रबन्ध नभएको गुनासो सुनिँदै आएको छ ।

चौकुने गाउँपालिका–७ का धर्मेन्द्र देवकोटा पनि भारतको बलियामा ३७ दिनसम्म क्वारेन्टाइनमा बसेर नेपाल फर्किएका हुन् । उनी पनि यतिबेला गाउँपालिकाको क्वारेन्टाइनमा छन् । ‘झण्डै दुई महिना क्वारेन्टाइनमै बसिसकियो,’ उनी भन्छन्, ‘आफै अनुमान लगाउनुस् दुःख कति पाइयो होला ।’ आठ जनाको परिवार पाल्ने जिम्मेवारी बोकेर भारत गएका उनले आफ्नै ज्यान मुस्किलले गाउँसम्म ल्याउन सके ।

कर्णालीका नागरिक रोजगारीका लागि भारत जानु बाध्यता हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार जेठ १ देखि १४ गतेसम्म करिब १२ हजार नागरिक भारतबाट फर्किसकेका छन् । झण्डै ७० हजार नागरिक भारतमा रहेको प्रदेश सरकारको आँकलन छ । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीले नागरिकहरूले भारतबाट आउन थालेपछि व्यवस्थापनको समस्या भएको बताए । उनले अब स्वास्थ्य उपचार र आत्मनिर्भरका कार्यक्रम नै आफूहरूको प्राथमिकतामा पर्ने जिकिर गरे । ‘अहिलेसम्म सबैलाई रोजगारी सिर्जना गर्न सकिएको छैन,’ उनले भने, ‘अब हामीले कोरोना रोकथाम, नियन्त्रण र उपचारसँगै आत्मनिर्भरका कार्यक्रम सञ्चालन गर्छाैं ।’ सिम्तामा मात्रै चार हजार आठ सय ८१ जना भारतबाट फर्किने अनुमान गरिएको उनले बताए ।

यस्तै चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले गाउँपालिकाको आगामी बजेट कृषिमा केन्द्रित गरिने बताए । भारतबाट फर्किएका युवा जनशक्तिको व्यवस्थापन पालिकाको प्रमुख चुनौती भएको भन्दै उनले युवाहरूलाई उत्पादनसँग जोड्ने कार्यक्रम ल्याइने दाबी गरे । उनका अनुसार गाउँपालिकाले भारतबाट फर्किएका पाँच सय जनालाई अहिले क्वारेन्टाइनमा राखेको छ । थप तीन हजार हाराहारीमा भारतमा रहेकाहरू फर्कने अनुमान छ ।

प्रकाशित मितिः   १५ जेष्ठ २०७७, बिहीबार ०६:५२