सुर्खेतमा उच्च अदालत बन्ने

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ भदौ ।
सुर्खेतमा उच्च अदालत रहने भएको छ । बुधवार बसेको मन्त्रीपरिषद् बैठकले प्रत्येक प्रदेशमा एक उच्च अदालत गठन गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता राम कार्कीका अनुसार उच्च अदालतको अस्थायी मुकाम समेत तोकिएको छ । प्रदेशको राजधानी टुङ्गो नलागेसम्म अस्थायी मुकामबाट काम हुने निर्णय गरेको छ । निर्णयअनुसार एक नम्बर प्रदेशको विराटनगर, दुईको जनकपुर, तीनको पाटन, चार नम्बरको पोखरा, पाँचको तुलसीपुर, ६ नम्बरको सुर्खेत र ७ नम्बर प्रदेशको दिपालयमा मुकाम रहने भएको छ ।
यस्तै, विभिन्न ११ स्थानमा उच्च अदालतको इजलास राख्ने निर्णय भएको छ । कार्कीका अनुसार इलाम, धनकुटा, ओखलढुङ्गा, राजविराज, वीरगञ्ज, हेटौंडा, बाग्लुङ, बुटवल, नेपालगन्ज, जुम्ला र महेन्द्रनगरमा उच्च अदालतको इजलास राख्ने निर्णय गरेको हो । उच्च अदालत गठन सम्बन्धी विधेयक गत आइतवार संसदबाट पारित भएको छ ।

प्रकाशित मितिः   ३० भाद्र २०७३, बिहीबार १०:२७