बाल दिवसमा विविध कार्यक्रम

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ भदौ ।
जनप्रिय (जेपी) स्कुल वीरेन्द्रनगर–३, सुर्खेतमा ‘सम्बद्र्धन बालअधिकारको कार्यान्वयन संविधानको’ भन्ने नाराका साथ विविध कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइएको छ । निबन्ध प्रतियोगिता, कविता लेखन प्रतियोगिता, चित्रकला प्रतियोगिता लगायतका कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।
‘सम्वद्र्धन बालअधिकारको कार्यान्वयन संविधानको’ शीर्षकमा भएको निबन्ध प्रतियोगितामा कक्षा ९ का सुशील रिजाल प्रथम, बविता सिजाली द्वितीय, दिपेश थापा तृतीय र मायादेवी रावत सान्त्वना भएका छन् । यस्तै आधारभूत तहमा बालअधिकार विषयक कविता लेखन प्रतियोगितामा यामुना माझी प्रथम, प्रशान्त योगी द्वितीय, राजेश खड्का तृतीय र स्मृति गिरीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
मेरो विद्यालय शीर्षकको चित्रकला प्रतियोगितामा दिनेश पुरी प्रथम, अमर सहकारी द्वितीय, संविधान रोकाय र राजकुमारी शाही तृतीय तथा भुपाल बिसीले सान्त्वना स्थान प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक यामराज गिरीले जानकारी दिए ।
यसैबीच वीरेन्द्रनगर नगरपालिका कार्यालयको आर्थिक सहयोग तथा नगरस्तरीय बाल सञ्जालको आयोजना र यूथ फर चिल्ड्रेनको समन्वयमा वीरेन्द्रनगर नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने सम्बन्धमा बालबालिकाहरूसँग अन्तरक्रिया गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत बालाराम शर्माले वीरेन्द्रनगर नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नका निम्ती नगरस्तरीय बाल सञ्जालको महŒवपूर्ण भूमिका रहने बताए । उनले अब वीरेन्द्रनगर नगरपालिकाले पनि आफ्ना संरचनाहरू पनि बालमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका कार्यालयका वरिष्ठ प्रशासन तथा व्यवस्थापन अधिकृत प्रकाश पौडेलले बालमैत्री स्थानीय शासन सम्बन्धी प्रशिक्षण दिएका थिए । यूथ फर चिल्ड्रेनका अध्यक्ष विनोद कँडेलले बाल सञ्जाल व्यवस्थापन सम्बन्धी जानकारी गराए । कार्यक्रम नगरस्तरीय बाल सञ्जालकी अध्यक्ष अस्मिता सापकोटाको सभापतित्वमा सम्पन्न भएको हो । बाल दिवसकै अवसरमा सूर्योदय बोर्डिङ्ग स्कुलमा सदनात्मक स्पेलिङ्ग कन्टेस्ट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका विभिन्न चार वटा सदनका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय क्रमशः रुवि सदन, टोपाज सदन र साफिर सदन भएका छन् भने एमरल्ड सदनले सान्त्वना स्थान प्राप्त गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
यसैगरी जेनेरेशन फर क्याम्पियन सुर्खेतको आयोजना र मध्यपश्चिमाञ्चल बोर्डिङ्ग स्कुलको समन्वयमा बाल दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । बालविवाह र हिंसा न्यूनीकरण सम्बन्धी सडक नाटक प्रदर्शन, हाजिरिजवाफ प्रतियोगिता, बादविवाद, वक्तृत्वकला, निबन्ध लेखन लगायतका कार्यक्रम गरिएको क्याम्पियनका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए । त्यसैगरी १२ वटा बालसञ्जालले नृत्य समेत प्रस्तुत गरेका थिए । अध्यक्ष शाहीको सभापतित्व एवम् महिला तथा बालबालिका कार्यालय सुर्खेतकी प्रमुख जमुना पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिविन नेपालका सुभेच्छा खड्का, आवाज संस्थाका पवित्रा शाही लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी राष्ट्रिय बाल दिवसको अवसरमा एम्नेष्टी इन्टरनेसनल नेपाल, काँक्रेविहार युथ नेटवर्क, सुर्खेतले नवजीवन बाल संरक्षण केन्द्र सुर्खेतलाई सहयोग स्वरूप स्टेशनरी सामग्री हस्तान्तरण गरेको छ । मध्यपश्चिमका विभिन्न जिल्लाका करिब ४८ जना बेसाहारा बालबालिकालाई संरक्षण दिँदै आएको नवजीवन बाल संरक्षण केन्द्रका बालबालिकालाई युथ नेटवर्कका सदस्यहरूले आफ्नै खर्चमा सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।
काँक्रेविहार युथ नेटवर्कका संयोजक सिर्जना जिसीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमा नवजीवन बाल संरक्षण केन्द्रका संस्थापक मोहनदास गुरुङ, मध्यपश्चिम गजल मञ्चका अध्यक्ष खगेन्द्र अधिकारी, युथ नेटवर्कका उपसंयोजक प्रकाश जैसी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मितिः   ३० भाद्र २०७३, बिहीबार १०:२३