जातकै कारण मारिन्छन् मान्छे !

                रूकुम–जाजरकोट घटनामा तीन जनाको मृत्युपछि दोषीलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालय पुगेका मृतकका आफन्तहरू ।

नेपालको संविधान–२०७२ को प्रस्तावनामै जातीय छुवाछुत अन्त्य गर्ने उल्लेख छ । वि.सं. २०६३ मै छुवाछुतमुक्त राष्ट्र घोषणासमेत भइसकेको छ । तर, समाजबाट भने जातीय विभेदका जरा उखेलिएको छैन । कथित उपल्लो जातका नाममा जातीय विभेदका घटना दिनहुँजसो भइरहेकै छन् । छोराले उपल्लो जात भनिएको ठकुरीकी छोरीसँग विवाह गर्दा सेते दमाई र चुल्हो छोएको निहुँमा मनवीर विकहरूकोे विभत्स हत्या हुन्छ । वर्षाैंदेखि जातीय विभेदको जातोमा पिसिएर मृत्युवरण गर्नुपर्ने समाजको यथार्थबीच कागजी कानुनको धज्जी उडेको छ ।

आफूले मन पराएको जीवनसाथी छान्ने अधिकार हरेक नागरिकलाई छ, कानुनमा । त्यहाँ जात र धर्मको आधारमा विभेद छैन । तर, फरक जातिसँगको प्रेम र विवाहमा समाजको क्रूरता उस्तै छ, जस्तो सैयौं वर्ष पहिले थियो । समाजमा विद्यमान जातीय छुवाछुत तथा भेद्भावका कारण प्रेमी–प्रेमिकाको जोडीलाई आत्महत्या गर्नसमेत बाध्य पारिन्छ । जातकै आधारमा समाजमा घट्ने यस्ता छुवाछुत तथा भेद्भावका घटनालाई विषयान्तर गरेर दबाब र प्रभाव पार्दै न्यायपूर्ण फैसला हुन नदिएका पनि थुप्रै दृष्टान्तहरू छन् । कतिपय अवस्थामा समाजमै मिलेमतो गर्न दबाब दिएर कानुनी प्रक्रिया र कारबाही रोकिएका उदाहरण पनि छन् ।

संविधानको प्रस्तावनामै भनिएको छ, ‘वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी…।’ सामाजिक छुवाछुत र भेद्भाव (कसूर र सजाय ऐन) २०६८ ले सम्बन्धित अपराधको परिभाषा, सजाय र क्षतिपूर्ति तोकेको छ । यद्यपि समाजमा अनेक प्रकारका विभेद र नृशंस हत्याका घटना भइरहेकै छन् ।

जातीय विभेदका कारण कर्णालीमा दलितले कुटिनुपर्नेदेखि ज्यानै गुमाउनुपर्नेसम्मका घटना भएका छन् । प्रदेशका कुनै पनि जिल्ला जातीय छुवाछुतबाट अछुतो छैनन् । माथिल्लो जातसँग प्रेम गरेर विवाह गरेको, धारामा पानी छोएको, चुल्हो छोएको लगायतका आरोपमा कर्णालीमा दलितले ज्यान गुमाएका छन् । कुटपिट र अपशब्द तथा विभेद समेत अधिकांशले झेल्दै आएका छन् । त्यसो त दलित समुदायबाट निर्वाचित भएका जनप्रतिनिधि, समाजसेवी लगायतका उच्च ओहोदाका व्यक्तिहरूसमेत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जातीय विभेद भोग्न बाध्य छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको दुई वर्षको तथ्याङ्क हेर्दा जातीय विभेदका नौ वटा घटना दर्ता भएका छन् । प्रहरीका अनुसार २०७५÷७६ मा सुर्खेतमा एक, दैलेखमा तीन, सल्यानमा दुई र कालीकोटमा एक गरी सात वटा जातीय विभेदका घटना प्रहरीसम्म आइपुगेका थिए । २०७६÷७७ मा सल्यानमा एक र कालीकोटमा एक गरी दुई वटा घटना भए । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी लोकनाथ तिमिल्सिनाले प्रायः घटनाहरू गाउँमै मिलापत्र गर्ने गरिएको बताए । उनका अनुसार हत्या र कुटपिटका केही घटना मात्रै प्रहरीसम्म आउने गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले कर्णालीमा जातीय विभेदका घटनाको अवस्था डरलाग्दो भएको बताए । गत वर्ष मात्रै कर्णालीमा १८ वटा जातीय विभेदका घटना भएको तथ्याङ्क इन्सेकले संकलन गरेको छ । विद्यालय, सार्वजनिक स्थान र पानी पँधेरामा समेत जातीय विभेदको ज्यादती हुने गरेको छ । सामान्य निहुँमा दलित समुदायका व्यक्तिहरू कुटपिट पछि मारिने गरेका छन् । साझा मञ्च नेपाल कर्णाली प्रदेशका अध्यक्ष बसन्त विश्वकर्माले अन्तरजातीय विवाहसँग जोडिएर २०६८ सालदेखि हालसम्म दुई जनाको र छोइछिटो गरेको भन्दै दुई जनाको हत्या गरिएको बताए । उनका अनुसार विशेषगरी साविकको कर्णालीमा दलित समुदायका व्यक्तिहरू कुटपिट पछि मारिने गरेका छन् । ८५ प्रतिशत घटना पानी छोएको र विद्यालयमा शिक्षक तथा साथीहरूले खाजा पानी र बसाइँमा विभेद गरेका कारण भएको विश्वकर्माले जनाए ।

दलित समुदायका व्यक्तिलाई स्वास्थ्यकर्मीहरूले समेत विभेद गर्ने, घरभाडामा नपाउने, प्रहरीले जातीय विभेदका घटना दर्ता गर्न नमान्ने गरेको दलित अधिकारकर्मीहरू बताउँछन् ।


सेते दमाईको हत्या

साविकको तोली गाविस–२ दैलेखका सन्तबहादुर दमाई र सोही स्थानकी राजकुमारी शाही वि.सं. २०६८ साल जेठ ४ गते विवाहका लागि घरबाट भागे । लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न उनीहरूले भाग्ने निधो त गरे तर नजिकै जङ्गलमा लुकेको अवस्थामा माइती पक्षले भेटाइहाले ।

त्यसको भोलिपल्ट दुवै पक्षका आफन्तहरूको भेला भयो । केटा पक्षलाई केटी पक्षकाले एकहजार रूपैयाँ र एउटा खसी जरिवाना तिराए । दुवैलाई छुटाएर आ–आफ्नो घर पुर्‍याए । परिवारले छुटाउन खोजे पनि सन्त र राजकुमारीबीचको प्रेम भने छुटेको थिए । उनीहरूले साउन २८ गते पुनः भागेर विवाह गरे ।

विवाहपछि माइतीको डरले सदरमुकाम दैलेखमा बस्दै आएको जोडी भदौ १३ गते तीजको अवसर पारेर घर गएको बेला माइती पक्षका करिब १५ जना उनकै घरमा गएर आक्रमण गरे । केटा र केटी बाँच्न सफल भए तर सन्तबहादुर बुबा सेते दमाईको ज्यान गयो । घरको माथिल्लो तलमा सुतेका छोराबुहारीलाई बचाउन खोज्दा छातीमा खुकुरीको गहिरो चोट लागेका सेतेको उपचारका लागि जिल्ला अस्पताल दैलेख पु¥याउँदा मृत्यु भयो ।


चुल्हो छुँदा मारिए मनवीर

ठकुरीको चुल्हो छोएको निहुँमा नौ वर्षअघि कालीकोटका मनवीर सुनारको हत्या भयो । जिल्लाको साविक जुविथा गाविस वडा नं. ४ का मनवीर वि.सं. २०६८ साल मंसिर २४ गते सोही स्थानकी बालकुमारी शाहीको खुद्रा पसलमा चुरोट किन्न गएका थिए । चुरोट किनेपछि उनले सोही पसलकै चुल्होमा चुरोट सल्काए । आफ्नो चुल्हो छोएको भन्दै बालकुमारीले मनवीरमाथि अपशब्द बोल्दै गाली गरिन् ।

लगत्तै उनका श्रीमान् जसबहादुर शाही मनवीरमाथि जाइलागे । त्यसको प्रतिकार गर्ने क्रममा बालकुमारीको घर छाउन आएका जुविथा गाविस वडा नं. ८ का भीमबहादुर शाही र दीपबहादुर शाहीले समेत मनवीर सुनारलाई मरणाशन्न हुनेगरी कुटे ।

कुटिएका उनी राती ८ बजे घर पुगेका थिए । घर पुगेर सुतिरहेका मनवीरलाई भीमबहादुर शाही र दीपबहादुर शाहीले जबरजस्ती ओछ्यानबाट आँगनमा ल्याएर निर्घात कुटेका थिए । शख्त घाइते भएका उनलाई उपचारका लागि कालीकोटको मान्मबजार लैजाँदै गर्दा मृत्यु भयो । कथित तल्लो जातकै कारण मनवीरेले ज्यान गुमाउनुप¥यो । कर्णालीमा दलितमाथिको यो अर्को नृशंस हत्या थियो ।


हत्या श्रृङ्खलामा थपिइन् मना

वि.सं. २०७५ जेठ १९ गते कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ९ की वडा सदस्य मना सार्कीको हत्या गरियो । स्थानीय २५ वर्षीय राजिन्द्रा शाही र उनकी बहिनी २१ वर्षीय सृजना शाहीले मनालाई कुटपिट गरी हत्या गरेका हुन् ।

जेठ १२ गते धारामा पानी भर्न गएकी मना सार्कीलाई राजिन्द्राकी आमाले विभेदजन्य गाली गर्दै धारो छुन समेत दिइनन् । भारतमा रहँदा मनाका श्रीमान्बाट राजिन्द्राका बुवाले २५ हजार रूपैयाँ सापटी लिएका थिए । आफ्ना श्रीमान्बाट लिएको उक्त रकम माग्न जाँदा उनलाई उल्टै आफ्नो श्रीमान्सँग ‘उठबस’ गरेको आरोप राजिन्द्राकी आमाले लगाएकी थिइन् ।

मना सार्की जेठ १९ गते बेलुकी साढे ५ बजेतिर आफ्नो बारीमा प्याज उखेल्न जाँदै गर्दा मारिइन् । बारीमा लुकेर बसेका राजिन्द्रा र सृजनाले उनीमाथि एक्कासी कुटपिट गरेका थिए । उनीहरूको कुटाईपछि ज्यान बचाउन मना छिमेकी तपेन्द्र शाहीको घरमा पुगिन् । तर उनीहरूले मना लुकेको स्थानमै गइ लाठी र ढुङ्गा प्रहार गरी शख्त घाइते बनाए । गाउँलेसँग हारगुहार गरेपछि उनलाई राती घर त पु¥याइयो तर घर ल्याएको दश मिनेटमै उनको मृत्यु भयो ।


अन्तरजातीय प्रेम बन्यो मृत्युको कारण

आजको शिक्षित भनिएको समाजमा पनि अन्तरजातीय प्रेम दलित युवाहरूको मृत्युको कारण बनिरहेको छ । यसैको पछिल्लो उदाहरण हो रुकुमका नवराज विकको मृत्यु ।

जेठ १० गते भेरी नगरपालिका–४ जाजरकोटका नवराज वि.क. आफ्ना साथीहरूसहित प्रेमिका लिन पश्चिम रुकुमको चौरजहारी नगरपालिका पुगेका थिए । युवतीका आफन्त र गाउँलेको आक्रमणमा परी उनले ज्यान गुमाउनुपर्‍यो ।

नवराजले रुकुमकी मल्ल थरकी युवतीसँग प्रेम गरेका थिए । परिवारले विवाह गर्न नदिएपछि उनीहरू भागेर विवाह गर्ने निधोमा पुगे । त्यही क्रममा उनी साथीहरू लिएर युवतीको घर गएका थिए । तर गाउँलेको आक्रमणपछि माग्दा नवराजसहित अन्य दुई जनाको पनि ज्यान गयो । थप तीन जना वेपत्ता छन् । घटनाको छानविन भइरहेको छ ।

यसैबीच घटनाको छानविनका लागि सरकारले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । राष्ट्रिय सभाको मंगलवारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले जाजरकोट र रुकुम पश्चिमबीचका केही युवाका बीचमा विवाहको विषयलाई लिएर भएको घटनाका सम्बन्धमा छानविनका लागि समिति गठन गरिएको जानकारी दिए । घटनाको छानविन गर्न गृह मन्त्रालयका सह–सचिवको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका उप–सचिव सदस्य रहने गरी समिति गठन गरिएको हो ।

समितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको छ । यही जेठ १० गते रूकुम पश्चिमको चौरजहारी नगरपालिका–८ की १७ वर्षीया किशोरीलाई भगाई ल्याउनका लागि जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराजसहितको १९ जनाको समूह स्थानीय सोती पुगेको अवस्थामा झगडा भएको थियो ।
मन्त्री थापाका अनुसार किशोरीलाई भगाई लाने क्रममा केटी पक्ष र केटा पक्षका आफन्तबीच झैं–झगडा हुँदा केटी पक्षकाले केटा पक्षलाई भेरी नदीतर्फ लखेटेका थिए । जाजरकोट भेरी नगरपालिका–४ बस्ने केटा पक्षका २१ वर्षीय सुदीप खड्का सामान्य घाइते भएको र केटा पक्षकै पाँच जनालाई अस्थायी प्रहरी पोस्ट रावतगाउँ र सात जनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको मन्त्री थापाले जानकारी दिए ।

फेला परेका शव परीक्षणका लागि जाजरकोट अस्पतालमा राखिएको छ । मन्त्री थापाका अनुसार मृतक नवराज वि.क.को शव जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ स्थित भेरी नदीको बीचभागमा फेला परेको, रूकुम पश्चिम चौरजहारी–१ का लामिछाने बस्ने २० वर्षीय टीकाराम सुनारको शव जेठ ११ गते फेला परेको र जाजरकोट भेरी नगरपालिका–४ का १७ वर्षीय गणेश बुढाको शव फेला परेको छ ।

हालसम्म फेला नपरेकाको खोजी कार्य जारी रहेको छ । मन्त्री थापाका अनुसार भेरी नपा–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विकको खोजी कार्य जारी रहेको छ । बेपत्ताको खोजीका लागि आवश्यकतानुसार गोताखोरसमेत परिचालन गरिने उनको भनाइ छ ।

नवराज विकसहितको समूहमा गएको रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ का गोपाल बुढाथोकीबीच बाटोबाटै फर्केको, घाइते सुदीप खड्काको मिसन अस्पताल चौरजहारीमा उपचार गरी ‘डिस्चार्ज’ भइसकेको गृहमन्त्री थापाले जानकारी दिए । केटा पक्षको सम्पर्कमा आएका सबै १२ जनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट जिल्ला प्रहरी कार्यालय जाजरकोटमा बुझाई सामान्य सोधपुछपछि आफन्तको जिम्मा लगाइएको मन्त्री थापाले बताए ।

किशोरीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल र स्वयम् युवती सुष्मा, वडाध्यक्ष डम्बर मल्ल, प्रत्यक्ष घटनामा संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुन मगर, रमेश मल्लसहित १२ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । सामाजिक सद्भाव, जातीय सद्भाव कायम राख्न, शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाइ राख्न जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुम पश्चिमबाट समन्वयात्मक ढङ्गले काम भइरहेको गृहमन्त्री थापाले जानकारी दिए ।

प्रकाशित मितिः   १४ जेष्ठ २०७७, बुधबार ०७:४३