कर्णालीमा संक्रमित बढ्दै

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । थोरै व्यक्तिमा गरिएको परीक्षणबाटै एकसाताको अवधिमा २३ जनामा कोरोना संक्रमण देखिएको हो । प्रदेशमै पहिलो पटक जेठ ४ गते भारतबाट आएका दैलेख आठबीस नगरपालिकाका एक युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । यहाँ अहिलेसम्म भारतबाट आएका व्यक्तिहरूमा मात्रै संक्रमण देखिएको छ । नाकाबाट दैनिक प्रदेशभित्रिनेको लस्करले संक्रमणको त्रास झनै बढाएको छ ।

यतिबेला भारतबाट फर्किनेहरू सबै संक्रमणको उच्च जोखिममा भए पनि प्रदेश भित्रिने नाकाहरूमा स्वास्थ्य सुरक्षा सतर्कता भने अपनाइएको छैन । गत जेठ ८ मा एक हजार नौ सय ३० जना भित्रिएकोमा सात सयको मात्रै आरडीटी परीक्षण गरिएको थियो । तीमध्ये चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी व्यक्तिहरू स्थानीय तहमा सिधै पठाइएको थियो । बबई नाकामा क्वारेन्टाइन बनाएर भारतबाट भित्रिनेलाई राख्ने निर्णय गरेको प्रदेश सरकारले पछिल्लो समय त्यहाँ क्वारेन्टाइन नबनाउने निर्णय गरेको छ ।

प्रदेश राजधानी सुर्खेतमा मंगलवार मात्रै १२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबै वीरेन्द्रनगर तथा भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकाका रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मंगलवार पुष्टि भएका संक्रमितहरूमा वीरेन्द्रनगर नगरपालिका १–३ र ६ वडाका ७ पुरुष र एक महिला, भेरीगंगा नगरपालिका दुई पुरुष र सिम्ता गाउँपालिका–४ का दुई पुरुष रहेको महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । भारतबाट आएका उनीहरूलाई मंगलवार सुर्खेतको बबई, सुब्बाकुना नाका र घण्टाघरको खुलामञ्चबाट स्वाव लिई आरटी पीसीआर गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।

पछिल्लो समय भारतबाट दैनिक हजारौं मान्छे कर्णाली भित्रिने गरेका छन् । उनीहरूको उचित व्यवस्थापन नहुँदा कोरोना संक्रमण समुदायमा फैलने खतरा बढेको छ । सीमानाकामै क्वारेन्टाइन बनाएर राख्न नसकिए कर्णालीमा कोरोना संक्रमणको भयावह स्थिति आउन सक्ने चिकित्सकहरूले औंल्याएका छन् । प्रदेश सरकारले भारतबाट फर्किनेको संख्या बीस हजारको हाराहारीमा हुने आँकलन गरेकोमा त्यो संख्या बढ्ने देखिएको छ । एकसातामै झण्डै १० हजार मान्छे प्रदेश भित्रिसकेकाले भारतबाट फर्कनेको संख्या बढ्ने देखिएको हो ।

संक्रमितको संख्या ह्वातै बढे पनि परीक्षणको दायरा भने बढाइएको छैन । भारतबाट फर्किएका अधिकांश विना चेकजाँच सिधै गाउँ प्रवेश गरेका छन् । प्रदेशको प्रमुख प्रवेशद्वार बबई नाकाबाट भित्रिनेहरूको मात्रै जाँच गर्ने गरिएको छ । प्रदेश सरकारले भारतबाट आउने क्रम सुरु भएपछि बबईबाट भित्रिने सबैको आरडीटी गर्ने निर्णय गरे पनि भीड व्यवस्थापनमा असहज भएपछि केही व्यत्तिहरूको मात्रै चेकजाँच गर्ने गरेको हो । सम्भावित संक्रमित पहिचान गर्ने, अनिवार्य क्वारेन्टाइनमा राख्ने लगायतका काम प्रभावकारी देखिएका छैनन् । भारतबाट भित्रिएकाहरू लुकीछिपी गाउँ पस्ने क्रम बढेपछि कोरोना संक्रमण फैलने जोखिम पनि उच्च छ । अहिले भारतबाट आउने सबै व्यक्तिहरू उच्च जोखिममा छन् । उनीहरूको स्वास्थ्य परीक्षण विना गाउँ पठाइँदा समुदायमा संक्रमण फैलिने खतरा छ ।

प्रदेश सरकारले कोरोना उपचारका लागि तोकिएका तीनवटा अस्पतालमा आइसोलेसन बेडलगायत अन्य पूर्वाधार थप्ने भने पनि अहिलेसम्म प्रक्रियामै अड्किएको छ । ती अस्पतालमा दुई महिना अघि जे–जति पूर्वाधार थियो अहिले पनि त्यही अवस्था छ । यसैगरी संक्रमितको संख्या थपिदैं गए अहिले तयारी गरिएका स्वास्थ्य पूर्वाधारले धान्न सक्ने अवस्था छैन ।

प्रकाशित मितिः   १४ जेष्ठ २०७७, बुधबार ०७:३४