नाकामै क्वारेन्टाइन, जिम्मा सेनालाई
भारतबाट दैनिक हजारौंको संख्यामा मानिसहरू आइरहेका छन् । नाकामै क्वारेन्टाइन बनाऔं । त्यसको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिऔं । प्रदेश भित्रिनेलाई नाकामै व्यवस्थापन गर्न सकियो भने जोखिम कम गर्न सकिन्छ । सरकारले समयमै नाकामा क्वारेन्टाइनको जिम्मा नेपाली सेनालाई नदिए भारतबाट कर्णाली भित्रिने नागरिकका कारण कोरोना संक्रमणको अवस्था भयावह हुनसक्छ ।
अहिलेको अस्तव्यस्त व्यवस्थापनले एक जनामा भएको संक्रमण धेरैमा सर्ने सम्भावना बढी देखिएको छ । नाकामा अलपत्र परेका नागरिकको व्यवस्थापनमा प्रदेशले जिल्लालाई र जिल्लाले स्थानीय अनि स्थानीय तहले वडालाई जिम्मा लगाउने काम भइरहेको छ । यसरी उद्धार र व्यवस्थापन गर्दा झन् जोखिम निम्तिएको छ । अब नाकामै उनीहरूको व्यवस्थापन गर्ने र पीसीआर परीक्षण गरेपछि मात्रै सुरक्षित रूपमा गाउँ पठाउनुपर्छ ।
नाकामै परीक्षण गर्दा कोरोना संक्रमण देखिएकालाई अस्पताल पठाउने गर्नुपर्छ । दुई हप्तासम्म क्वारेन्टाइनमा राखेर मात्र नाकाभित्र प्रवेश गराउनुपर्छ । होइन भने अहिलेकै व्यवस्थापनले विकराल अवस्था आउन सक्छ । अमेरिका, इटली जस्ता देशलाई त अहिले हम्मेहम्मे भएको छ भने हामीलाई झन धेरै गाह्रो हुन्छ । त्यहाँको जस्तो भयावह अवस्था आयो भने रोकथाम र नियन्त्रण गर्न समस्या हुन्छ । हामीले भारतबाट फर्किने नागरिकलाई समयमै व्यवस्थापन गर्न जरुरी छ ।
गाउँका क्वारेन्टाइन पनि व्यवस्थित छैनन् । उनीहरूलाई सिधै गाउँ पठाउँदा त्यहाँ थेग्न सकिदैंन । गाउँका क्वारेन्टाइनमा बसेकाहरू घर जाने र आफन्त भेट्ने गरेको पाइएको छ । यसले गर्दा समुदायमा पनि संक्रमण फैलिने खतरा छ ।
तत्कालका लागि त स्वास्थ्य पूर्वाधारको अवस्था सन्तोषजनकनै छ । तर भयावह अवस्था आए हामीसँग अहिले उपलब्ध स्रोत साधन र जनशक्तिले कोरोना संक्रमतिको उपचार गर्न सकिने अवस्था छैन । अहिलेसम्म संक्रमितलाई अस्पतालमै राखेका छौं । दिनप्रतिदिन यसरी नै संख्या बढ्दै गयो भने अस्पतालमा ठाउँ नहुन सक्छ । अन्य देशका नागरिकभन्दा हाम्रो आर्थिक अवस्था पनि कमजोर रहेको छ । आर्थिक अवस्था राम्रो भए घरमै पनि आइसोलेसन तयार गरेर उपचार गर्न सकिन्थ्यो । त्यो त हाम्रो देशमा सम्भव छैन । त्यसैले सरकारले पूर्वाधार तयारीलाई तीव्र गराउनै पर्छ । कम्तीमा सबै जिल्लामा स्वास्थ्य उपचार गर्ने व्यवस्था गर्नुपर्छ । हामीसँग स्रोतसाधन नै कम छ । प्रदेश सरकारले अस्पतालको स्वास्थ्य पूर्वाधार थप गर्न बजेट स्वीकृत गरेर पठाइएको छ । हामीले एक सय ५० वटासम्म आइसोलेसन र २५ वटा आईसीयू बेड तयार गर्ने लक्ष्य लिएका छौं । सामग्री खरिदका लागि टेण्डर निकाल्ने प्रक्रियामा छौं । अब यो काम छिट्टै अघि बढ्छ ।
(कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. खड्कासँग हाम्रा सहकर्मी मूना हमालले गरेको टेलिफोन संवादमा आधारित ।)
प्रकाशित मितिः १४ जेष्ठ २०७७, बुधबार ११:५७
साझा बिसौनी ।