‘कोरोनाविरुद्धको लडाइँमा सरकार गम्भीर भएन’

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आइतवारदेखि सुरु भएको छ । बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरूले बोलेका छन् । उनीहरूले प्रदेश सरकार कोरोना भाइरसविरुद्धको लडाइँमा गम्भीर नभएको भन्दै आलोचना गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुुर शाहीले सरकारले कामभन्दा पनि प्रचार बढी गरेको बताए । कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनमा सरकारले उचित काम गर्न नसकेको भन्दै उनले अहिलेको समयमा नागरिकलाई रोगबाट जोगाउन सरकारको ध्यान जानुपर्ने औंल्याए । ‘कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनमा सरकार गम्भीर देखिएको छैन । विभिन्न समिति बनाउने काममात्र भएको छ,’ उनले भने, ‘बेलैमा ध्यान दिएर काम गरौँ । पछि भयावह अवस्था आउन सक्छ ।’

उनले क्षेत्र विकास कोषको रकम कोरोनाविरुद्धको लडाइँमा खर्च गर्न तयार रहेको बताए । कर्णाली प्रदेशमा कोही भोका र नाङ्गा नरहेको उल्लेख गर्दै सरकारकै मानसिकता दरिद्र र गरिब भएको आरोप लगाए । नेता शाहीले प्रदेश सरकारका मन्त्रीहरूको कार्यशैलीको कडा आलोचना गरे । मन्त्रीहरूले आफ्नो पैसा खर्च गरेजसरी प्रचार–प्रसार गरेको उनले जिकिर गरे । अहिलेको परिस्थितिमा पनि हेलिकोप्टर चार्टड गरेर जाने, भाषण गर्ने र अबिर जात्रा गरेको भन्दै मन्त्रीहरूको शैलीको विरोध गरेका हुन् । उनले मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रका मान्छे मात्रै उद्धार गरेको भन्दै भने, ‘हुम्ला–डोल्पामा पहुँचवाला जहाजमा जाने, गरिबले जान नपाउने ।’ अहिले विकास निर्माणभन्दा जनताको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने उनले बताए । सरकार सबैको साझा भएकाले जनताका लागि गरेको हो भन्ने अनुभूति हुने गरी काम गर्न सुझाए । कोरोना परीक्षणका लागि आरडीटी भन्दा पीसीआरमा जोड दिनुपर्ने उनको भनाइ थियो । नेता शाहीले भारत र नेपालको सीमा विवादको विषयमा बोल्दै प्रदेशसभाबाट पनि संकल्प प्रस्ताव पारित गर्नुपर्ने बताए ।

नेकपाका नेता यामलाल कँडेलले अहिलेको संक्रमणलाई रोक्न जिम्मेवारीका साथ लाग्न सरकारलाई सुझाव दिए । उनले भारतबाट फर्किनेको संख्या बढेको उल्लेख गर्दै त्यस अनुसार योजना बनाउन जरुरी रहेको औंल्याए । अहिले सरकारको मुख्य जिम्मेवारी कोरोना संक्रमणबाट नागरिकलाई बचाउने भएको बताउँदै यसतर्फ गम्भीर भएर लाग्नुपर्ने उनले बताए । नेता कँडेलले कोरोना रोकथाम, नियन्त्रण, व्यवस्थापन, उद्धार र राहतलगायतमा नागरिकले अनुभूति गर्ने गरी सरकारले काम गर्न आवश्यक रहेको बताएका हुन् । सरकारको सक्रियता राम्रै भए पनि मन्त्रीहरू घुम्ने काम बढी भएको उनले बताए ।

सरकारले भारतबाट फर्किएकालाई सिधै स्थानीय तहमा पठाइएकोप्रति कँडेलले असन्तुष्टि व्यक्त गरे । ‘भारतबाट आएकालाई सिधै स्थानीय तहमा पठाउने काम भइरहेको छ,’ उनले भने, ‘स्थानीय तहले थेग्न नसक्ने अवस्था भए के हुन्छ ? बेलैमा सोच्न आवश्यक छ ।’ अहिले सरकारको प्रमुख दायित्व भनेको रोगबाट नागरिकलाई बचाउनु भएको उनले बताए । प्रदेश सरकारले बेलैमा निर्णय गर्न नसक्दा सरकारहरूबीचमा अन्तरविरोधको स्थिति देखापरेको बताए । लकडाउन खुकुलो हुँदा संक्रमण फैलने खतरा बढेको भन्दै उनले सरकारबाटै यसको पालना हुनुपर्ने उल्लेख गरे ।

यस्तै राप्रपाकी सांसद् सोशीला शाहीले सरकारले तत्काल भारतबाट नाकामा आएकालाई सुरक्षितरूपमा ल्याएर क्वारेन्टाइनमा राख्न आग्रह गरिन् । ‘सरकारले समयमै बुद्धि लगाएर काम गर्नुपर्छ । सावधानी नअपनाए स्थिति नियन्त्रणबाहिर जान्छ । टुलुटुलु हेरेर बस्ने बाहेक केही हुँदैन्,’ उनले भनिन् । उनले कोरोना भाइरसविरुद्धको लडाइमा सबैको सामूहिक प्रयास आवश्यक रहेको बताइन् ।

प्रकाशित मितिः   १२ जेष्ठ २०७७, सोमबार ०६:५८