नमुना विद्यालय घोषणा

सुर्खेत, १३ चैत । (साबिस)
विद्यापुर–३ मा रहेको शारदा प्राथमिक विद्यालय तल्लो बिजुलाई नमुना विद्यालय घोषणा गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय नीति अनुसार प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमुना विद्यालय छनौट गर्ने कार्यक्रम अनुसार सुर्खेत निर्वाचन क्षेत्र नं. ३ मा शारदा प्राविलाई छनौट गरिएको हो ।
शनिवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी नमुना विद्यालय घोषणा गरिएको हो । कार्यक्रममा विद्यालयलाई एक थान कम्प्युटरसहित शैक्षिक सामग्री समेत प्रदान गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्य शिवप्रसाद उपाध्याय र सुर्खेतका अध्यक्ष रामबहादुर शाहीले संयुक्त रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर थापा र प्रधानाध्यापक ददीराम वाग्लेलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका नविनकुमार घिमिरे, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सुर्खेतका कोषाध्यक्ष रत्नबहादुर बुढा, नेपाल शिक्षक महासंघका सचिव कृष्णबहादुर थापा, शिक्षक सङ्गठनका जिल्ला कमिटी सदस्य ओमबहादुर दर्लामी, कुलबहादुर बुचा, क्षेत्रीय कमिटी अध्यक्ष कृष्ण बिसी लगायतको सहभागिता रहेको थियो । नमुना विद्यालय घोषणा भइसकेपछि उक्त विद्यालयलको भौतिक तथा शैक्षिक विकासमा सङ्गठनले निरन्तर सहयोग गर्ने जनाइएको छ ।