नौं सयको स्वास्थ्य परीक्षण

नवराज आचार्य
दैलेख, १३ चैत । 
लयाँटीविन्द्रासैनीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा नौ सय सर्वसाधारणले स्वास्थ्य परीक्षण गरेका छन् । सुर्खेत हस्पिटल प्रालिको प्राविधिक र समाजसेवीहरूको आर्थिक सहयोगमा भैरव युवा क्लब लयाँटीविन्द्रासैनीले शिविरको आयोजना गरेको हो ।
एक दिने शिविरमा मप क्षेत्रीय अस्पताल सुर्खेत र सुर्खेत हस्पिटलमा कार्यरत फिजिसिएन डाक्टर केएन पौडेल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रूपक कँडेल र स्त्री रोग विशेषज्ञ डाक्टर कमल थामीले बिरामीहरूको स्वास्थ्य जाँच गरेका थिए । गाउँमै निःशुल्क रूपमा डाक्टरहरूबाट स्वास्थ्य जाँच गर्न पाउँदा स्थानीयवासी समेत खुशी भएका छन् । ‘सधैं पेट दुख्न्या, मुटु झस्किन्या हुन्थ्यो, डाक्टरसँग देखाउन पाथ्यान आज गाउँमै डाक्टरलाई देखाउनँ पायाँ साह्रै खुशी लाग्या छ’ लयाँटीविन्द्रासैनी–१ की ६५ वर्षीया वृद्ध अमृता ढकालले भनिन् । 
कमजोर आर्थिक अवस्थाका कारण सुर्खेत तथा नेपालगन्जसम्म पुग्न नसकेका बिरामीहरूलाई मध्यनजर गरी शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ । शिविरमा औषधि कम्पनीहरूको सहयोगमा निःशुल्क औषधि समेत वितरण गरिएको थियो भने ल्यावको सहयोग सुर्खेत हस्पिटल प्रालिले नै गरेको थियो । शिविरमा सहभागी आम सर्वसाधारणको चापलाई व्यवस्थित गर्न ५० जना स्थानीय स्वयम्सेवक र सुरक्षाकर्मी खटिएको क्लबका संयोजक जोगी शाहीले बताए । 
शिविर व्यवस्थापनमा लयाँटीविन्द्रासैनीका वासुदेव शर्मा, छत्रकुमार थापा, खगेन्द्र शर्मा, रत्न शाही, रामबहादुर खड्का जम्बुकाँधका दिक्पाल शाही सुर्खेतका व्यवसायी नगेन्द्र गुप्ता, टीकाराम पौडेल, ओमजंग रोकाया, जगत विष्ट र श्यामलाल कँडेलले लगायतले आर्थिक सहयोग गरेका थिए ।
प्रकाशित मितिः   १४ चैत्र २०७२, आईतवार ०६:०८