दृष्टिविहीन र ज्येष्ठ नागरिकसँग वार्षिकोत्सव
साझा बिसौनी संवाददाता
सुर्खेत, १३ चैत ।
सुर्खेतबाट प्रकाशन भइरहेको हाम्रो नयाँ नेपाल दैनिक १० वर्षमा प्रवेश गरेको छ । आफ्नो वार्षिकोत्सवको अवसरमा पत्रिकाले शनिवार विभिन्न कार्यक्रहरू सम्पन्न गरेको छ ।
पत्रिकाले जिल्लामा रहेका दृष्टिविहीन र ज्येष्ठ नागरिकहरूसँग आफ्नो वार्षिकोत्सव मनाएको हो । यसै क्रममा वीरेन्द्रनगरमा रहेको दृष्टिविहीन हेरविचार केन्द्रलाई पत्रिकाले आवश्यक सामग्रीहरू वितरण गरेको छ । उक्त कार्यक्रममा सहभागीहरूले पत्रिकालाई शुभकामना दिँदै आगामी दिनमा सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता आवश्यक रहेकोमा जोड दिएका छन् ।
सो अवसरमा क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सचिव सचिन रोकाले अब विकासका लागि पत्रकारिता गर्नुपर्ने बताए । यस्तै पत्रकार महासंघ सुर्खेतका सचिव ललितबहादुर बुढाले राजनीतिक रूपमा टाढा रहेर स्वतन्त्र र व्यवसायिक रूपमा पत्रकारिता गर्न सुझाव दिए । कार्यक्रममा नेपाल उद्योग व्यापार सङ्गठन सुर्खेतका उदीराम डाँगीले सत्य, तथ्यका आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने भन्दै उद्योगी व्यापारीहरूको पनि साथ र सहयोग रहने प्रतिबद्धता जनाए । दृष्टिविहीन हेरविचार केन्द्रका संस्थापक उपाध्यक्ष मेनका आचार्यले नयाँ नेपाल दैनिकले आफूहरूलाई ऊर्जा दिएको भन्दै आगामी दिनहरूमा पनि यस्ता कामलाई निरन्तरता दिनुपर्ने बताइन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष जीवनकुमार शाक्यले पत्रिकाले नयाँ काम गरेको भन्दै आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिएर अपाङ्गता भएकाहरूका समस्याहरूलाई पनि उजागर गरी दिनुपर्ने बताए । सो अवसरमा पत्रिकाका प्रकाशक÷सम्पादक गणेशकञ्चन भारतीले दृष्टिविहीनहरूका लागि विभिन्न सामग्रीहरू हस्तान्तरण गरेका थिए । पत्रिकाले वार्षिकोत्सवकै अवसरमा वृद्ध सेवा केन्द्रमा रहेका ज्येष्ठ नागरिकहरूलाई दिवा भोज समेत खुवाएको थियो ।
प्रकाशित मितिः १४ चैत्र २०७२, आईतवार ०६:१०
साझा बिसौनी संवाददाता ।