नगर सरसफाइमा क्याम्पस र टोल समूह
साझा बिसौनी संवाददाता
सुर्खेत, १३ चैत ।
विभिन्न टोल समूहको अगुवाइमा वीरेन्द्रनगरका विभिन्न स्थानहरूमा सरसफाइ गरिएको छ । वीरेन्द्रनगरमा रहेका पुलचोक, सद्भावचोक र प्रगति टोलको अगुवाइमा शनिवार वीरेन्द्रनगरका विभिन्न स्थानमा सरसफाइ गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिका कार्यालयको समन्वयमा भएको सरसफाइ कार्यक्रम अन्तर्गत रातो पुल, कालो पुल हुँदै गणेशचोकको पुलसम्म सरसफाइ गरिएको छ । यस्तै अबदेखि सरसफाइ गरिएको स्थानमा फोहोर गर्नेलाई जरिवाना गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । टोल समूहले नै अब फोहोर गर्नेलाई कारबाही गर्ने भएका हुन् ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका कार्यालयका वरिष्ठ सरसफाइ व्यवस्थापक टीका थानीले सरसफाइ समितिले अनुगमन गरेर फोहोर गर्नेलाई कारबाही गर्ने बताइन् । फोहोर मैला ऐनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका सामाजिक परिचालक रेखा केसी, आमा समूहका अध्यक्ष लिला कँडेल, समाजसेवी खडानन्द कँडेल लगायत विभिन्न आमा समूह, टोल विकास समूहहरूको सहभागिता रहेको थियो । कार्यक्रम सार्वजनिक स्थलहरूको सरसफाइ समितिका अध्यक्ष लक्ष्मी वलीको सभापतित्वमा सम्पन्न भएको थियो ।
यसैबीच सिद्धपाइला क्याम्पसको अगुवाइमा शनिवार नै वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा सरसफाइ गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा मंगलगढीचोकदेखि वीरेन्द्रचोकसम्म सरसफाइ गरिएको हो ।
सो अवसरमा क्याम्पसका शिक्षक, विद्यार्थी र उद्योग वाणिज्य संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो । सो अवसरमा विद्यार्थीहरूले सरसफाइ गर्नुका साथै स्थानीय नागरिकहरूलाई फोहोरको आफै व्यवस्थापन गर्न आग्रह गरेका थिए ।
प्रकाशित मितिः १४ चैत्र २०७२, आईतवार ०६:१२
साझा बिसौनी संवाददाता ।