स्थापना दिवस मनाइयो

साझा बिसौनी संवाददाता
सुर्खेत, १३ चैत ।
उत्तरगंगामा रहेको साना किसान कृषि सहकारी संस्थाले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरेर मनाएको छ । 
संस्थाले आफ्नो २० औं स्थापना दिवसको अवसरमा शनिवार सम्मान समेत गरेको छ ।
संस्थाका अध्यक्ष चाँदनी ढकालको सभापतित्व तथा संस्थापक अध्यक्ष गौरादेवी गिरीको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाइएको हो । सो अवसरमा माटो परीक्षण शिविर समेत सम्पन्न भएको छ । स्थानीय ८३ जना किसानको माटो परीक्षण गरिएको बताइएको छ । 
यस्तै स्थापना दिवसकै अवसरमा संस्थाले ७० वर्ष पार गरेका ज्येष्ठ सदस्यहरूलाई मासिक भत्ता समेत प्रदान गरिएको प्रबन्धक चित्रप्रसाद रेग्मीले जानकारी दिए । दुई जना बिरामी सदस्यहरूलाई उपचार खर्च समेत प्रदान गरिएको थियो । सोही क्रममा शेयर सदस्यका छोराछोरीमध्येबाट गत वर्षको एसएलसी परीक्षामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका सुरेश चौधरी, जलेश्वर सहकारीका अध्यक्ष अम्मर कार्की, रेडक्रस सुर्खेतका कोषाध्यक्ष बलाराम रेग्मी लगायतको उपस्थिति रहेको थियो ।