फैलिँदै कोरोना, पर्याप्त छैनन् पूर्वाधार

 

अन्य ६ वटा प्रदेशमा कोरोना (कोभिड–१९) को संक्रमण फैलिसक्दा कर्णालीमा भित्रिएको थिएन । यहाँ कोरोना संक्रमण ढिलो देखियो । गत सोमवार मात्रै एक जनामा संक्रमण पुष्टि भयो । त्यसको पाँच दिन पछि थप तीन जनामा संक्रमण देखिएको छ ।

देशका ४० जिल्लामा संक्रमित भेटिइसक्दा जोगिएको कर्णाली यतिबेला भने त्रासमा छ । भारतबाट दैनिक ठूलो संख्यामा नागरिक प्रदेश भित्रिन थालेपछि कर्णालीमा कोरोना संक्रमणको जोखिम उच्च देखिएको हो । अहिलेसम्म संक्रमण पुष्टि भएका चारै जना केही दिन पहिले भारतबाटै फर्किएका हुन् ।

संक्रमित ह्वातै बढ्न सक्ने आँकलन गरिएको कर्णालीमा परीक्षणको दायरा बढाउने, सम्भावित संक्रमित पहिचान गर्नेलगायत आइसोलेसन र उपचारका लागि भने पर्याप्त तयारी भएको देखिंदैन । कमजोर स्वास्थ्य पूर्वाधार, विकट भौगोलिक अवस्था र भारतबाट भित्रिएकाहरू लुकिछिपी गाउँ पस्ने क्रमसँगै कोरोना संक्रमणको जोखिम थप बढेको छ ।

प्रदेश सरकारले भारतबाट तत्कालै २० हजारभन्दा बढी नागरिक फर्किने अनुमान गरेको छ । तर उनीहरूको व्यवस्थापनका लागि सोही अनुसारको तयारी भने गरेको पाइँदैन । सरकारी अधिकारीहरूका अनुसार हाल भारतका विभिन्न स्थानमा कर्णालीका करिब ७० हजार नागरिक छन् ।

प्रदेश सरकारले कोरोना संक्रमित बिरामीहरूको उपचारका लागि प्रदेशका तीन वटा अस्पताललाई कोरोेना विशेष अस्पताल तोकेको छ । ती अस्पतालमा अहिलेसम्म पर्याप्त पूर्वाधार निर्माण भएका छैनन् । प्रदेश सरकारले सुर्खेतस्थित प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई एक–एक करोड तथा सामुदायिक अस्पताल चौरजहारीलाई ५० लाख रूपैयाँ उपलब्ध गराएको थियो । तर दुई महिना बितिसक्दा पनि आवश्यक पूर्वाधार निर्माण भने भएका छैनन् । सुर्खेतमा ८५ बेडको आइसोलेसन र नौ वटा आईसीयू बेड छन् ।

आइसोलेसन बेडलगायत अन्य पूर्वाधार थप्ने भनिए पनि अहिलेसम्म प्रक्रियामै अड्किएको छ । प्रदेश अस्पतालले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई चार करोड ७० लाखको स्टिमेट पठाएकोमा झण्डै एक महिनापछि मात्रै स्वीकृत भएको छ । ‘प्रस्ताव स्वीकृत भयो भन्ने दुई–तीन दिनअघि मात्रै थाहा पाइयो,’ प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले भने, ‘दुई महिना अघि जे–जति पूर्वाधार थियो अहिले पनि त्यही नै छ । पूर्वाधार निर्माणमा ढिला भयो ।’ प्रदेशभरको स्वास्थ्य पूर्वाधारको अवस्था हेर्दा संक्रमितको संख्या ह्वात्तै बढे भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आउन सक्ने डा. खड्काले बताए ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभरि पाँच सय ४० आइसोलेसन बेड, ४० आईसीयू बेड र १७ भेन्टिलेटर छन् । संक्रमित बढ्न सक्ने भन्दै यही पूर्वाधारले कोरोनासँग कर्णालीले जुध्न नसक्ने चिकित्सकहरूले औंल्याएका छन् । अबको दश दिनमा संक्रमित सय जनाको हाराहारीमा पुग्ने उनीहरूको अनुमान छ । प्रदेश अस्पतालका विशेषज्ञ डा. केएन पौडेलले भएका आइसोलेसन बेड र क्वारेन्टाइन सुधार गर्न आवश्यक रहेको बताए । उनी भन्छन्, ‘भारतबाट दैनिक फर्कनेको लर्को छ । समयमै उचित व्यवस्थापन गर्न नसकिए स्थिति भयावह बन्न सक्छ ।’

कर्णालीमा अहिलेसम्म दश हजार चार सय ३० वटा क्वारेन्टाइन छन् । भारतबाट मात्रै दैनिक दुई हजारको हाराहारीमा कर्णाली भित्रिने गरेका छन् । तीमध्ये अधिकांश बिना चेकजाँच सम्बन्धित स्थानीय तहमा पुगेका छन् । क्वारेन्टाइनमा बसेका छैनन् । सामान्य अवस्थामै चिकित्सक, स्वास्थ्यकर्मी र पूर्वाधारको कमी रहेको कर्णालीमा संक्रमणको जोखिम बढ्दा जनशक्ति र पूर्वाधारको अभावमा उपचार प्रक्रिया प्रभावित हुने देखिन्छ । स्वास्थ्य मन्त्रालयका अनुसार कर्णालीमा हाल एक सय ६२ चिकित्सक र एक सय २६ स्टाफ नर्स छन् ।

सामान्य अवस्थामा समेत झाडापखाला तथा सिजनल फ्लूका कारण कर्णालीमा कैयौंले ज्यान गुमाउँथे । स्वास्थ्य सेवा विभागका अनुसार २०६७ यताका पाँच वर्षमा झाडापखाला, डेंगु र मौसमी ज्वरोजस्ता मौसमी महामारीका कारण देशैभरि पचाँ सय ८४ जनाले ज्यान गुमाएका थिए । जसमध्ये दुई सय ३७ जना कर्णालीका जाजरकोट, कालीकोट, रूकुम, सल्यान र प्युठान जिल्लाका थिए । स्वास्थ्य पूर्वाधारको कमी, जटिल भौगोलिक संरचनालगायतका कारण कर्णालीमा कोरोना संक्रमण बढ्दै गए नियन्त्रण गर्न कठिन हुने देखिन्छ ।

सुर्खेतका तीन जनामा संक्रमण

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या चार पुगेको छ । शनिवार तीन जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या चार पुगेको हो । उनीहरू तीनै जना सुर्खेतका हुन् । यसअघि दैलेखको आठबीस नगरपालिकाका एक युवामा कोरोना संक्रमण देखिएको थियो ।

शनिवार कोरोना संक्रमण पुष्टि हुनेमा बराहताल गाउँपालिकाका दुई र चौकुने गाउँपालिकाका एक जना छन् । संक्रमित बराहतालका २२ वर्षीय महिला र ३२ वर्षीय पुरुष हुन् भने चौकुने गाउँपालिकाका २५ वर्षीय पुरुष हुन् । बराहतालका दुई जना भारतको दिल्लीबाट र चौकुनेका एक जना मुम्बईबाट आएका थिए । संक्रमित चारै जनालाई सुर्खेतको कालागाउँस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले जनाएका छन् ।

गत बिहीवार भारतबाट एकै दिन प्रदेश भित्रिने मुख्य नाका बबईबाट संक्रमितसँगै एक हजार नौ सय ३० जना भित्रिएका थिए । दैलेख र सल्यानबाहेक अन्य जिल्लासहित सुर्खेतका बबई नाकामा सात सय ९० जनाको आरडीटी परीक्षण गरिएको थियो । आरडीटी परीक्षण गर्दा १३ जनामा पोजेटिभ देखाएको थियो । सुर्खेतमा रहेको पीसीआर मेसिनमा परीक्षण गर्दा १३ जना मध्ये तीन जनाको रिपोर्ट पोजेटिभ आएपछि थप एकिन गर्न नेपालगञ्ज पठाइएको थियो । नेपालगञ्जमा परीक्षण पछि पनि रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आरडीटी परीक्षण गर्दा शङ्कास्पद रिपोर्ट देखिएकामध्ये पीसीआर परीक्षणमा तीन जनामा कोरोना संक्रमण देखिएको बताए ।

प्रकाशित मितिः   ११ जेष्ठ २०७७, आईतवार ०७:०४