किन गरिन्छ सुर्खेतको परीक्षण नेपालगञ्जबाट पुष्टि ?

 

जेठ ४ गते प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला वीरेन्द्रनगरमा गरिएको परीक्षणमा एक व्यक्तिमा कोरोना पोजेटिभ देखियो । पोलिमेरीज चेन रियाक्सन (पीसीआर) परीक्षणमा कोरोना पोजेटिभ देखिएको यो कर्णालीकै पहिलो घटना थियो ।

सुर्खेतमा पोजेटिभ रिपोर्ट आएपछि पुनः परीक्षणका लागि नमुना नेपालगञ्जस्थित प्रयोगशालामा पठाइयो । त्यहाँ पनि रिपोर्ट पोजेटिभ नै देखियो । अनि मात्रै दैलेखको आठबीस नगरपालिकाका ३५ वर्षीय व्यक्तिमा कोरोना संक्रमण रहेको पुष्टि गरियो । उनी जेठ १ गते भारतबाट आएका थिए ।

यस्तै बिहीवार भारतबाट फर्किएकामध्ये तीन जनाको पीसीआर रिपोर्ट पोजेटिभ देखियो । यी तीन जनाको स्वाबको नमुना परीक्षण शुक्रवार वीरेन्द्रनगरस्थित जनस्वास्थ्य प्रयोगशालाको पीसीआर मेसिनमै गरिएको थियो । तर, शनिवार बिहान पुनः परीक्षणका लागि नेपालगञ्ज पठाइयो । त्यहाँ पनि नतिजा पोजेटिभ आयो । त्यसपछि मात्रै उनीहरूमा कोरोना संक्रमण रहेको पुष्टि गरियो ।

सुर्खेतमै रहेको पीसीआर मेसिनमा जाँच गरेर पोजेटिभ रिपोर्ट आउँदा पुनः परीक्षण गर्न नेपालगञ्ज पठाएर मात्रै पुष्टि गर्न थालिएपछि कर्णालीमा ल्याइएका पीसीआर मेसिनको विश्वसनीयतामा नागरिकले प्रश्न गरेका छन् । उनीहरूको प्रश्न छ, ‘सुर्खेतमा परीक्षण गरिसकेपछि पनि पुष्टि गर्न नेपालगञ्ज पठाउनुपर्छ भने सुर्खेतको मेसिनको के काम ?’

सामान्यतया त्यस्तो लाग्नु स्वभाविकै पनि हो । एकै खाले मेसिनमा ‘क्रस चेक’ किन गर्नुप¥यो ? प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प्रयोगशाला संयोजक ओम आचार्य भन्छन्, ‘दुई वटै परीक्षणमा एउटै रिपोर्ट आएपछि मात्र
‘पोजेटिभ’ भन्न सकिन्छ ।’
उनका अनुसार जनस्वास्थ्य प्रयोगशालाले सुर्खेत, दाङ र धनगढीको प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखिएमा ‘क्रस चेक’ को लागि नेपालगञ्ज पठाउन परिपत्र नै गरेको छ । ‘एक ठाउँमा गरिएको परीक्षणबाट मात्रै ‘कन्फर्म’ हुनसक्ने अवस्था हुँदैन । प्राविधिक त्रुटि पनि हुनसक्छ,’ आचार्यले भने, ‘कहिलेकाहीँ रि–एजेन्ट, मेसिनरी गडबडीले पनि रिपोर्टलाई प्रभावित पार्न सक्छ । त्यसैले पनि क्रस चेक जरुरी हुन्छ ।’

अझ कतिपयले पोजेटिभ रिपोर्ट आए मात्रै क्रस चेक गरिने र नेगेटिभ रिपोर्टलाई पनि क्रस चेक गर्नुपर्ने होइन र भन्ने खालका जिज्ञासा समेत राख्ने गरेको देखिन्छ । धेरै जनाले सामाजिक सञ्जालमा पीसीआर मेसिनको विश्वसनियतामाथि प्रश्न उठाए पनि यसको वास्तविकता भने फरक छ ।

ल्याबको प्रोटकल अनुसार एउटा मेसिनमा परीक्षण गरिएको रिपोर्टलाई क्रस चेक गर्नुपर्ने हुन्छ । पोजेटिभ मात्रै होइन नेगेटिभ रिपोर्टको पनि क्रस चेक गरिन्छ । आचार्यका अनुसार नेगेटिभ रिपोर्टको समेत क्रस चेक गर्ने गरिएको छ । ‘कर्णालीमा रहेका पीसीआर मेसिन र कर्मचारीको गुणस्तरीयतामा कुनै शङ्का नगर्दा हुन्छ’ उनले भने, ‘ल्याबको प्रोटोकलले समेत पोजेटिभ र नेगेटिभ दुवै रिपोर्टको क्रस चेक गर्नुपर्ने भन्छ ।’

विशेषज्ञहरुका अनुसार सुरुवातमा कम्तिमा पाँच वटा पोजिटिभ केसहरु पुष्टि भएपछि मात्रै सुर्खेतको मेसिनले थप पुष्टिको आधिकारिकता पाउँछ । त्यसपछि क्रस चेकका लागि नेपालगञ्ज पठाउनुपर्दैन । शनिवारसम्म सुर्खेतस्थित प्रयोगशालाबाट चार जनाको पुष्टि भइसकेको छ । अहिले सुर्खेतमा पोजेटिभ रिपोर्ट आएपनि क्रस चेक र पुष्टि गर्न नेपालगञ्ज पठाउने गरिएको छ । किन भने नेपालगञ्जको ल्याबले पाँच वटाभन्दा बढी पोजेटिभ केसहरु परीक्षण गरेर त्यसको अधिकार प्राप्त गरिसकेको छ । यसअघि नेपालगञ्जले पनि सुवातमा पुष्टि गर्न काठमाडौ पठाएको थियो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पुनः पुष्टिका लागि रिफरेन्स ल्याबमा पठाउनुपर्ने प्रयोगशालाको प्राविधिक प्रावधान बमोजिम कर्णालीमा गरिएको पीसीआर परीक्षणको १० प्रतिशत नेगेटिभसहित सबै पोजेटिभ स्याम्पलहरू नेपालगञ्ज अथवा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको छ ।

पुनः परीक्षण नियमित प्रक्रिया भएकाले प्रदेशमा रहेका प्रयोगशालाको गुणस्तरमामाथि शङ्का नगर्न मन्त्रालयको आग्रह छ । मन्त्रालयका स्वास्थ्य सेवा महाशाला प्रमुख डा. लक्ष्मीनारायण तिवारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति र विज्ञहरूसँगको समन्वयमा अबको केही दिनमै सुर्खेतकै परीक्षणलाई अन्तिम र आधिकारिक पुष्टि मान्ने गरी आवश्यक तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित मितिः   ११ जेष्ठ २०७७, आईतवार ०७:०२