संक्रमण पछिको संवेदनशीलता

नेपालमा ढिला गरी कोरोनाको संक्रमण देखियो । सुस्त गतिमा देखिएको संक्रण पछिल्लो समय तीव्र हुँदै गएको छ । दैनिक दर्जनौं व्यक्तिमा संक्रमण पुष्टि हुन थालेको छ । अघिल्लो सातासम्म कोरोना संक्रमित नभेटिएको एक्लो कर्णाली प्रदेशमा अहिले चार जना संक्रमित फेला परिसकेका छन् । यो संख्या अँझ बढ्ने जोखिम उत्तिकै छ ।

कोरोना विश्वभर फैलिएको महामारी हो । त्यसकारण पनि जोखिम बढ्दो छ । त्यसमाथि यसको उपचारका लागि कुनै औषधि वा भ्याक्सिन पत्ता लागेको छैन । सावधानी र संवेदनशीलताले नै यसलाई रोकथाम र नियन्त्रण गर्नुपर्ने बाध्यता छ । समयमै यसो गर्न सकिएन भने ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आउँछ । कर्णाली प्रदेश अहिले त्यही संवेदनशील घडीमा आइपुगेको छ । अन्य प्रदेशमा धमाधम संक्रमित देखिँदा पनि कर्णालीमा नभेटिएपछि यहाँका सरोकारवालाहरू नै उत्साहित थिए । कतिसम्म भने प्रदेशका मन्त्रीहरू अब प्रदेशलाई नै कोरोनामुक्त घोषणा गर्ने अभिव्यक्ति सञ्चारमाध्यममार्फत सार्वजनिक गरिरहेका थिए । मन्त्रीहरूको यस्तो अभिव्यक्ति आएको हप्तादिनमै कोरोना संक्रमित फेला परेपछि यतिबेला स्वयम् मन्त्रीहरूको टाउको दुखाइ भएको छ ।

अहिलेसम्म कर्णालीमा फेला परेका चारै जना संक्रमित हालै मात्र भारतबाट फर्किएकाहरू छन् । यसको मतलव प्रदेशभित्र समुदायस्तरमा कोरोना संक्रमण देखिएको छैन । जुन खुशीको खबर हो । तर अर्कोतर्फ जोखिमको कुरा के छ भने प्रदेशमा ठूलो संख्यामा भारतबाट नागरिक भित्रिएका छन् । कोरोना फैलिएको देशबाट नागरिक भित्रिँदा उनीहरूसँगै संक्रमण भित्रिने जोखिम हुन्छ । जुन देखिइसकेको छ । त्यसैले अबको प्रदेशको सतर्कता र योजना अझ उच्चस्तरको हुन अपरिहार्य छ । विगतको तयारीले यो महामारीसँग जुध्न सकिंदैन ।

संक्रमण नदेखिँदासम्मको अवस्था एउटा थियो । अब अवस्था फेरिएको छ । संक्रमण भित्रिसकेको छ र साथमा अझ फैलिनसक्ने जोखिम उत्तिकै छ । बढ्न सक्ने जोखिमलाई न्यूनीकरण गर्न पूर्वतयारीलाई वृहत् बनाउनुपर्नेछ । संक्रमितलाई त्यत्तिकै सतर्कताका साथ उपचार गर्नुपर्ने छ । सुरुवातदेखि नै संक्रमित भेटिएपछिको अवस्थामा गर्नुपर्ने तयारी भएन । जसले गर्दा पहिलो संक्रमित भेटिँदा सरकारी तहबाटै उनको उपचारमा चरम लापरबाही देखियो । संक्रमित फेला परेको पाँच दिनसम्म अस्पताल नै पु¥याइएन । जबकी प्रदेशमा तीन वटा अस्पतालमा कोरोना संक्रमित उपचारका लागि भनेर विशेष आइसोलेसनको व्यवस्था गरिएको थियो । यसरी तयारीमा राखिएको अस्पतालमा राखेर उपचार गर्नुपर्नेमा गाउँको विद्यालयमा मापदण्ड पूरा नगरी बनाइएको आइसोलेसनमा राख्ने कार्य गैरजिम्मेवारपूर्ण मात्रै थिएन त्यसले प्रदेशको कोरोना प्रतिकार्यको कमजोर तयारी पनि देखाउँथ्यो ।

भारतबाट प्रदेश भित्रिनेको संख्या ठूलो छ । पछिल्ला दिनहरूमा पनि दैनिकजसो भित्रिरहेका छन् । यसरी आउनेहरूबाट संक्रमणको खतरा बढी हुन्छ । र, संक्रमितको संख्या बढ्न सक्छ । त्यसैले अब सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणका साथसाथै संक्रमितहरूको उपचार र व्यवस्थापनका लागि पनि बलियो तयारी गर्नुपर्ने भइसकेको छ । ढिलाइ वा हेलेचेक्य्राइ गर्ने समय छैन ।

प्रकाशित मितिः   ११ जेष्ठ २०७७, आईतवार ०७:००