विकास–निर्माण नरोकिने

कर्णाली प्रदेशमा विकास–निर्माणका काम नरोकिने भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनकैबीच प्रदेशभित्र विकास आयोजनाहरूको काम भने अघि बढाइने भएको हो ।

प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले विकास–निर्माणका कामहरूलाई निरन्तरता दिने प्रदेश सरकारको नीति अनुरूप सहज वातावरण बनाउने निर्णय गरेको छ । केन्द्रले आयोजना विशेषका लागि आवश्यक पर्ने निर्माण सामग्री र सीपयुक्त जनशक्ति (प्राविधिक जनशक्ति) जिल्ला बाहिरबाट ल्याउनुपर्ने अवस्थामा जिल्ला प्रशासन कार्यालयको सिफारिसमा ल्याउन दिने निर्णय पनि गरेको छ । यसका लागि सम्बन्धित आयोजनाले जुन जिल्लाबाट त्यस्तो जनशक्ति र निर्माण सामग्री ल्याउनु पर्ने हो, सो जिल्लासँग आवश्यक समन्वय गरी जनशक्ति र निर्माण सामग्री सहज आगमनको व्यवस्था मिलाउनुपर्ने जनाइएको छ ।

यसैगरी विकास आयोजना सञ्चालन गर्न प्रदेश बाहिरबाट ल्याउने जनशक्तिको आवश्यक परीक्षण गरी स्वास्थ्य सुनिश्चितता गर्ने र त्यसरी ल्याइएका व्यक्तिहरूलाई आयोजना स्थलसँगै आइसोलेसनमा राख्नुपर्ने छ । यसको व्यवस्थापनसम्बन्धी आयोजना र निर्माण व्यवसायीले नै मिलाउनु पर्नेछ ।

यसबाहेक केन्द्रको बैठकले भारतबाट आउने नेपालीहरूलाई सीमा नाकामै परीक्षण गरी संक्रमण नदेखिएका व्यक्तिलाई मात्र आफ्नो प्रदेश र जिल्ला पठाउने व्यवस्था गर्न नेपाल सरकारलाई अनुरोध गर्ने, विना परीक्षण प्रदेशमा प्रवेश गरेकाहरूलाई प्रदेशको प्रवेशविन्दुमै आवश्यक स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने, मनोसामाजिक परामर्श प्रदान गर्ने र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राखेपछि तोकिएको समय पश्चात पीसीआर परीक्षण गर्ने निर्णय गरेको छ ।

यसैगरी जोखिमयुक्त क्षेत्रबाट आएका व्यक्तिहरूको सम्पूर्ण विवरण अद्यावधिक गरी तिनीहरूको उद्धार तथा यातायात व्यवस्थासहित सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा पु¥याउने, यसका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले समन्वय गर्ने, जिल्ला र स्थानीय तहमा स्थापित क्वारेन्टाइनको अनुगमन गरी आवश्यक सुधार र सुरक्षा व्यवस्था मिलाउने, संक्रमित व्यक्तिलाई सम्बन्धित जिल्लामा नै आइसोलेसनमा राख्ने, मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने र उपचारको प्रबन्ध गर्ने, निर्माणजन्य, खाद्य तथा कृषि र पशुजन्य सामग्री पर्याप्त सुरक्षा प्रत्याभूति गरेर मात्र ढुवानी प्रबन्ध गर्ने, जोखिमयुक्त क्षेत्रबाट त्यस्ता सामग्रीको आगमन हुन नदिने, कोरोना संक्रमित व्यक्तिहरूलाई क्वारेन्टाइनबाट तोकिएको आइसोलेसन वा अस्पतालमा पु¥याउनका लागि जिल्लामा भएका एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने लगायतका निर्णय पनि गरिएको छ ।

Loading...