बजारमा अखाद्य वस्तु, म्याद गुज्रेका सामग्री बिक्रीमा
गीता थापा
सुर्खेत, २९ भदौ ।
सुर्खेतको मुख्य बजार क्षेत्रमा नै अखाद्य वस्तु बिक्रीका लागि राखेको भेटिएको छ । म्याद नाघेका र अखाद्य वस्तु बिक्री गर्न नपाइने भए पनि बजारमा यस्ता सामग्रीहरू जताततै भेटिएका हुन् । व्यापारीहरूले स्थानीय प्रशासन र उपभोक्ताको आँखा छलेर अखाद्य वस्तु बिक्री गरिरहेका छन् ।
हिन्दु नेपालीहरूको मुख्य चाड दसैं र तिहार नजिकिंदै गर्दा स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र बनाएपछि बजारमा अखाद्य वस्तु फेला परेका हुन् । जिल्ला प्रशासन कार्यालयले थालेको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामानहरू पनि बिक्रीका लागि राखेको भेटिएको हो । बजारमा दुई वर्षअघि नै म्याद गएका सामानहरू पनि बिक्रीका लागि राखेको फेला परेको हो । प्रशासनले यस्ता सामानहरू जफत गरेर नष्ट गर्ने अभियान थालेको छ । प्रशासनले अनुगमनमा कडाई गर्न थालेपछि व्यापारीहरूले अखाद्य सामान लुकाउन थालेका छन् ।
चाडपर्व नजिकिंदै जाँदा बजारमा अनुगमन हुन थालेको छ । प्रशासनको अनुगमन टोलीले बुधवार वीरेन्द्रनगर–१ बाङ्गेसिमलका खाद्य तथा किराना पसलहरूमा अनुगमन गरेको छ । सो क्रममा दुई वर्षअघि नै म्याद सकिएका सामग्रीहरू पनि बिक्रीका लागि राखेको फेला परेको छ । दैनिक उपभोगका लागि प्रयोगमा आउने मिट मसला, सेन्चुरी मसला, जिराको धुलो, भुजा, तेललगायतका अखाद्य वस्तुहरू भेटिएका हुन् । म्याद नाघेका वस्तुहरू पनि बिक्रीका लागि राखेको पाइएपछि अनुगमन टोलीले नष्ट गरेको छ । साथै आगामी दिनमा यस्ता अखाद्य वस्तुहरू बिक्री नगर्न समेत टोलीले कडा चेतावनी दिएको छ ।
अनुगमन टोलीले बुधवार बाङ्गेसिमलमा रहेका विभिन्न ७ वटा खाद्य तथा किनारा पसलमा अनुगमन गरेको छ । सोही क्रममा पेय पदार्थ, दालमोठ, बिस्कुट, माछा अचार, छायाँ मिठा मजा, पुकार, सुर्ती, पुरनदाना, चामल लगायतका खाद्य पदार्थहरू म्याद गुज्रदा पनि बिक्रीमा राखेको भेटाएको हो । यस्तै सुर्ति र पुकार राजस्व छलेको र स्टिकर नै नटाँसेको भेटिएपछि जलाइएर नष्ट गरिएको छ । त्यस्तै चामलमा पनि ब्राण्ड र उत्पादन मिति र उत्पादन गरिएको ठेगानासमेत उल्लेख गरिएको छैन । बजार अनुगमनको बेलामा दैनिक उपभोग्य वस्तुमध्ये धेरैजसो बालबालिकाहरूका लागि उपभोग हुने वस्तुहरू अखाद्य भेटिएको हो । वीरेन्द्रनगर–१८ तातापानीमा रहेको जय बजरंग माउथ फ्रेसनर डिलरले अनुमति विनानै छायाँ मिठा मजा उत्पादन गरी बजारमा पु¥याएको पाइएको छ । अनुमति विना उत्पादन गरेको भन्दै अनुगमन टोलीले सो सामग्री जलाएर नष्ट गरिदिएको हो ।
अनुगमन टोलीले बाङ्गेसिमलका जगनाथ स्टोर, ज्याक किराना पसल, हेमन्त किराना पसल, शंशाक जनरल अर्डर सप्लायर्स, न्यू गुरुङ्ग जनरल स्टोर, सविना इन्टरप्राइजेज र जय बजरंग माउथ फ्रेसनरमा अनुगमन गरी बिक्रीका लागि राखिएको अखाद्य वस्तुहरू नष्ट गरेको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले दसैं र तिहार जस्ता ठूला पर्वहरू नजिकिंदै गर्दा आफूहरूले बजार अनुगमनलाई तीव्र बनाएको बताए । चाडपर्वको बेलामा व्यवसायीहरूले अखाद्य वस्तु बिक्री गर्ने र सामानको कालोबजारी गर्ने भएकाले अनुगमनलाई कडाई गरिएको उनको भनाइ छ । उनले भने, ‘उपभोक्ताको स्वास्थ्यमा कसैले पनि खेलवाड गर्न मिल्दैन, हामी कडा कारबाही गर्न तयार छौं । म्याद नाघेका र अखाद्य वस्तु कुनै पनि हालतमा बिक्री गर्न पाइदैन ।’
प्रशासनले व्यापारीहरूलाई अबदेखि म्याद नाघेका र अखाद्य वस्तु बिक्रीमा नराख्न निर्देशन दिएको छ । यस्तै राजस्व छलेर ल्याएको सामान नराख्नसमेत प्रशासनले चेतावनी दिएको छ । प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले आफूहरूले पहिलोपटक सचेत गराएको र दोस्रो पटक अनुगमनमा यस्तै अखाद्य वस्तु भेटिए कानुनी कारबाहीको प्रक्रियामा लैजाने
बताए । अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेल, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य निरीक्षक पूर्णप्रसाद पौडेल, घरेलु तथा साना उद्योग विकास समितिका सहायक अधिकृत पदमबहादुर ठकुराठी, वीरेन्द्रनगर नगरपालिकाका टेक आचार्य र जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर शाहीको सहभागिता रहेको थियो ।
साझा बिसौनी संवाददाता ।