अनुभूति

हाम्री आमालाई निको लागेको छ

 ईश्वर अधिकारी

लकडाउनको एक दिन । महिनौं बितेपछि ठ्याक्कै दिन पनि याद नहुँदो रै’छ । शनिवार चाहिँ पक्कै हो । गते भने बिर्सियो । यसै त शनिवार त्यहींमाथि लकडाउन । यति भएपछि उति केही भनिरहनु पनि परेन ।

पकाउने–खाने सबै फुर्सदिला । भाउजुहरू अनि भान्जी (कविता) भेज मःम पकाउँदै छन् । म यीनले बनाएको मःम मिठो होला या लकडाउन कटाउने मेसो मात्रै, शंकामै छु ।

हुन त भाउजुहरूले पकाएका यस्ता परिकार यसअघि नखाइएको होइन । फुर्सद भएसम्म थरीथरी पाक्छन् । मिठै लाग्छन् । आज झन् भान्जी मिसिएकी छिन् । आमाको रेखदेख आँगोदेखि भाँडोसम्म पुगेकै छ । तैपनि आफ्नै बानी अल्टर, हत्तपत्त कसैले राम्रो गरिहाल्लान् भन्ने लागि हाल्दैन । मःम पाक्यो । थपेर खाइयो । मिठो भएको प्रमाण यही थियो । धन्यवाद दिने आदत छैन । यसले थपेर खायो, मिठै मान्यो होला, पकाएर पस्कनेले यसरी बुझिदिनु पर्छ ।

स–परिवारसँगै बसेर मःम खादै थियौं । भान्जीले लकडाउनले दिक्क लागि सकेको सुनाइन् । लकडाउन हुनुको एक दिन पहिले आएका भान्जा–भान्जी बेला–बेला मलाई सोधिरहन्छन्, ‘मामा यो लकडाउन कहिले खुल्छ ?’ म भन्छु ‘केही ठेगान छैन, चार–पाँच महिना पनि लम्बिन सक्छ । संक्रमण कत्तिको फैलन्छ त्यसमै भर पर्छ ।’

‘भोको–नाङ्गो माउला जानु, खाई–लाई ससुराल’ भन्ने त उखानै छ । उनीहरू मामाकै घरमा छन् । अत्यास लागे वारीपारी नजिकै अरु आफन्त पनि छन् । गाह्रो–साह्रो र बितिजाने केही छैन । देशै ठप्प छ । सारा चौपट भएका बेला यिनको मात्रै पढाइ छुट्ने होइन । अरु पनि यहीं हालतमा घरमै थन्किएका छन् । घुमघाम गर्न पाएका छैनन् अत्यास पनि लाग्यो होला । केटाकेटी त भइगए, लागेको अत्यास पोखिरहन्छन् ।

भाउजुहरूले पनि लकडाउनले घरमै बसिरहनु पर्दा दिक्क लागेको सुनाउनु भयो । ‘लकडाउन पछि अफिस गए पनि अफिसका लागि मात्रै गएजस्तो भएको छ । न सेवाग्राही आउने न त काम ।’ सधैं व्यस्त रहने, उस्तै परे शनिवार पनि अफिस जानुपर्ने संस्थाका जागिरे जो पर्नुभयो ।

तर, आमाले भने यो बेला आफूलाई निको लागेको बताउनुभयो, ‘तिमीहरूले ज्यात भन, मैले यो लगडाउन भन्ने भयाबाट निगो मानेइँ छु ।’ मेरी आमालाई कोरोनाले विश्व कोतरेको के थाहा । के मतलब । छोराबुहारीको छुट्टी छ । दिनभर सबै सँगै हुन्छन् । कुरा सुन्छन् । सुनाउँछन् । अनेकथरी पकाउँछन् । चखाउँछन् । यति भएपछि कसकी आमालाई निको नलाग्ला र ? आमाहरू यस्तै त हुन सन्तान वरीपरी भइरहेकै निको मान्छन् ।

छोरीहरू (आकु र बुनु) लकडाउनको दोस्रो दिनदेखि मामाघरमै छन् । कहिलेकाहीं झुक्किएर मात्रै घरमा आउँछन् ! एउटी परीक्षा दिएर फुर्सदिली, अर्की परीक्षाको ठेगान नभएर फुर्सदमा । यिनलाई भने लकडाउनका कारण न कुनै सास्ती छ न त बोर नै । यताउता आऊ–जाऊ चलिरहकै छ । जस्तो दशैं–तिहारताका चलिरहन्थ्यो । माउलो नजिक हुनुको फाइदा यिनले जति कसले उठाएको होला !

हुन त कोरोना माहामारी यतिबेला संसारको अकल्पनीय साझा कहर हो । मेरी आमाजस्ता लाखौं आमाहरूलाई यस्ता माहामारीले खासै छुँदैन । देश दुनियाँका खबर हत्तपत्त थाहा पनि त हुँदैन । दुनियाँका सयथरी कुरा थाहा नपाएकै जाती । कमसेकम डर–त्रास त लाग्दैन । अस्ति दैलेखको एक जना भाइलाई फोनमा सोध्दै हुनुहुन्थ्यो, ‘त्यता हल्ला छ कि नाईं ? यता के रोग आयो भन्छन् ।’

हाम्लाई एकछिन घरमा अडिनु पर्दा औडाह हुन्छ । हुक्किएर ओठमुख सुकाउँछौं । हाम्री आमा कैंयन वर्ष लकडाउनमै हुनुहुन्थ्यो । अझ भनौं होम क्वारेन्टाइनमा । वर्षौंसम्म एकान्तबासमा रहँदा बस्दाको अत्यास झन् कति हुँदो हो ? यो बेलाको लकडाउन त्यसैले पनि उहाँलाई निको (ठीक) लागेको होला । छोराछोरी सँगैको लकडाउन ।

हाम्रा हातपाखुरा लागेपछि पढाइ र जागिरको निहुँमा सहर–बजार हानियौं । आमालाई घर–व्यवहारको भारले थप च्याप्यो । हाम्रो झर्को लाग्ने भयो । सुर्ता थपियो । के खाए होलान् । कता गए होलान् । आमाहरूको मन यसै पनि सन्तानहरूमाथि नै हुन्छ । आफू जुन परिस्थितिमा भए पनि मनभरी छोरा–छोरीकै पिरलो ।

वर्षाैंसम्म पहाडको कुनामा एक्लो बसाइँ । एक्ले जिमीदारी । उहाँले आफ्नो जीवनको थुप्रै सजिला–अप्ठ्यारा क्षणहरू एक्लै बिताउनुभएको छ । केही हामीलाई सुनाउनुभयो होला र कैयौं त आफ्नै मनमा लुकाउनुभयो होला । एक्ली मान्छे, मनका बह कसलाई कहनु ?

आमाहरू आफ्नो दुःख अक्सर देखाउँदैनन्, सुनाउँदैनन् । आफ्नो पीडा आफैभित्र लुकाएर सन्तानको खुशी खोज्न खोरिया खोस्रिरहेका हुन्छन् । आमा केही वर्षयता यतै हुनुहुन्छ, हामीसँगै । हामी अहिले आमासँगै छौं ।

आमा तीन साले । ७४ वर्षको हुनुभयो । सरकारी भाषामा उहाँ ज्येष्ठ नागरिक । अचेल शरीर उति स्वस्थ छैन । उमेरले पनि बिमार निम्त्याउने बेला भएर होला, झाङ्गझिङ्ग भइरहन्छ । ‘म सकुञ्जेल कतै जान्न । तिमीहरू आफ्नो गरेर खाऊँ । हातगोडा लाग्न छोडे भने आउँला ।’ सुर्खेत झर्न हामीले गरेको आग्रहलाई यसैगरी टार्ने उहाँ शरीरले गरिखान नसक्ने संकेत दिएपछि बल्ल यता आउनुभयो । आमालाई यस्तो पनि लाग्यो होला, यी फर्किएर आउने छैनन् । कसका लागि कस्सिनु, के–का लागि डाँडापाखा खोस्रिरहनु ।

आमाले अहिले सुर्ता गर्नुपर्ने र चिन्ता लिनुपर्ने केही छैन । हामीलाई त्यस्तो लाग्छ । तर उहाँको मन मान्दैन । तनाब नलिनुस् भनिरहन्छौं । माने पो । ‘चिन्ता होच्छे, क्यारौं ?,’ आमा यसै भनुहुन्छ ।

उहाँको ममता, स्नेह, दुःख र संस्कारले सिञ्चन गरेका हामीहरू आ–आफ्नो गरीखाने भएकै छौं । तर आमालाई लाग्दैन । उहाँलाई चिन्ता मात्रै लाग्छ । आमाको मन न हो चिन्ता नगरी चयन नहुने रै’छ ।

कोरोना भाइरसको महामारीका कारण देश लकडाउन भएको पनि दुई महिना पुगिसक्यो । आज ६१औं दिन । जनताको साथ लिएर जसरी सरकारले कोरोनाविरुद्धको लडाईं लड्दैछ । उसैगरी हामीले पनि यही मौकामा आमाको मन जित्दै छौं । हाम्रा अनुहार घरघरी घरमै देख्न पाउँदा हाम्री आमालाई अचेल निको लागेको छ ।

बुलेट रेलको गतिमा पुग्ने र फर्किने छोराछोरीका यादहरू जाबो लकडाउनले के रोक्थ्यो । घरी काठमाडौं । घरी दैलेख । घरी अष्ट्रेलिया । उहाँको माया सारा संसार लकडाउन हुँदा पनि बिना रोकतोक आवागमन भइरहन्छ । छोरा–बुहारी, छोरी–ज्वाइँ, नातिना–नातिनाका यादहरू न चेकजाँचमा पर्छन् न त क्वारेन्टाइन बस्छन् । ग्यास्ट्रिक भएर डकार काढ्दा पनि बाडुल्की लागे झैं मान्नु हुन्छ । ‘अझ कइले सम्जेल्योे हुने,’ उहाँ यस्तै सुनाउनु हुन्छ । र तत्कालै असन्तुष्टि पनि पोखिहाल्नु हुन्छ ‘हुन त मैन को सम्झिने थियाँ । आमाले क्यारेइ छन् भनी कहीँ एकपल्ट फोन त हान्नैनन् ।’

बाहिर भएकाले नसम्झिएको गुनासो त आमाले गरी नै रहनु हुन्छ । हामी घरमै भएकाका अनुहारमा उहाँ फेर–फेर हेरिरहनु हुन्छ । गाँस निल्दा हेर्नुहुन्छ । सास लिदा हेर्नुहुन्छ । आमाहरू सन्तानका अनुहारमा खै के देख्छन् ? किन हेरिरहन्छन् ? किन कहिल्यै धित मर्दैन सन्तानका अनुहार हेरेर ?

कैंयनका छोराहरू यो आपत्को घडीमा खाडीमा छन् । कति सीमा नाकामा आएर देश पस्न पाएका छैनन् । तीनले न खान पाएका छन् न त सुत्न । कति महाकालीमा हाम फालेर देश छिरे । हामी आमाकै काखमा छौं । हाम्री आमालाई भने खै किन हाम्रै चिन्ता लागिरहन्छ । तीनकी आमाको मन झन् कति कुडिँदो हो ? म सोच्छु, हरेक आमाहरू सधैं आफ्ना सन्तानसँगै हुन पाउने दिन आउँदैन होला ?

यसपाली लकडाउनमा आमालाई मिचिने गरी मुख देखाएको हाम्रो दावी छ । तै, हाम्री आमाको आत भरिएको छैन ।

(लेखक यस दैनिकका कार्यकारी सम्पादक हुन् ।)

प्रकाशित मितिः   १० जेष्ठ २०७७, शनिबार ०८:४६