कोराना काल

  रेशम विष्ट

एउटा भयाभह सपनाजस्तै
कोराना काल
उभिएको छ परिवेशमा
जन्म मृत्युको जीवन यात्रामा
मृत्युसँग जुध्दाजुध्दै
हारिरहेका छन् जीवन
बाच्ने आश हृदयको कुनामा बोकेर
संसारसँग एक्लिएकाहरू
आफ्नै थात थलोमा
माकुराको जालो जस्तै फैलिएका
त्रसिदपूर्ण घाम
तापिरहेका छन्
आफ्नै जिन्दगीका छानामुनि
  
इतिहासको यो विषम कोराना कालमा
बिहानै चियाको गिलासबाट उदाउने दिन
मानव मृत्युको अङ्कगणित जोड्दै आकाश पुग्छ
दिनभर मृत्यु सन्नाटा पोख्दै धर्तीमा
साँझ झर्छ अनन्त क्षितिजमा
समाचारहरू दौडिरहन्छन्
दिनरात अशुभ खबर बोकेर
विल्कुलै बन्जर छ परिवेश
मन मौनताको कुहिरोले ढपक्कै छोपिएको छ
  
समयको लय फेरिएको छ
जीवनको गति रोकिएको छ
दिनहरू आँसुले स्नान गरिएरहेका छन्
ज्ञान–विज्ञानका प्रयोगशालाहरूमा
निराकारमा गन्तव्यतर्फ हानिएको धावकजस्तै
अहोरात्र दौडिरहेछन् सम्भावनाहरू
निःप्रवाही छन् हर विधिहरू
जिन्दगीको ब्रजपात सहन नसकी
एकोहोरिएको मनुवाझैँ
टोलाइरहेछ विज्ञान
  
दुष्चक्रको दन्त्यकथा
जस्तै वर्तमान
भयाभहको त्रासदी बोकेर
घुमिरहेछ भू–धरातल
चुडिरहेछ जीवन
हरेक पल
जीवन खसिरहेछ दिनहँु यहाँ
हावाको मन्द स्पर्शमा
जसरी खस्छन् आरूका फूल
  
युद्धको त्रासदी भन्दा
सयांै गुणा बढी सन्त्रास बोकेको
बेलगाम यो कोरना काल
आधीमय आकाश
र धर्तीका ज्वारहरू बिच
मुटु निचोरेर मान्छे
सेलाइरहे छन् मान्छेका जीवन

प्रकाशित मितिः   १० जेष्ठ २०७७, शनिबार ०८:४२