नासोको प्रभाव
पुस्तक पढ्नु फेसन पनि हो । स्कुले जीवनमा हुँदा पढैया देखिन गोठालै जाँदा पनि हातमा देखिने गरी किताब बोक्ने धेरै हुन्छन् । तिनैमध्ये थिएँ म पनि । त्यसैले मेरा लागि किताब आज पनि फेसन नै हो । त्यसो त साह्रै थोरै किताब पढ्ने मान्छेमा पर्छु म ।
किताब भनेका देख्दा लोभ लाग्दा तर पढ्दा पट्यार लाग्दा चिज हुन् । मेरा लागि त किताब देख्ने वित्तिकै लभ पर्ने र बोल्ने बित्तिकै ट्रेजेडी पर्ने प्रेमिकाजस्ता हुन् । तर किताब नपढी सुख छैन । भनिन्छ नि केही पाउन केही गुमाउनै पर्छ । त्यसैले पुस्तकले दिने सूचना, जानकारी वा समझ प्राप्त गर्न केही कष्ट गर्नैपर्छ । कम्तीमा पनि मेरा लागि त पुस्तक पढ्नु कष्टप्रद हो । निद्रा लागेन भने किताब पढ्न थाल्नुस् एक पेजमा हाई, दुई पेजमा झुपुझुपु, तीन पेजमा भुसुक्क । मेरो अनुभवमा किताब ‘स्लिपिङ ट्याब्लेट’ पनि हुन् । किताबका नाममा रुमानी परिकथा, उपन्यास र रसरङ्ग पढ्नुभयो भने बेग्लै कुरा ।
पुस्तक पढ्न गाह्रो, तर पढेपछि केही न केही सिकिन्छजस्तो लाग्छ । हुन त के पढिन्छ, त्यसमा पनि भर पर्छ । आज पोर्न साइटको जे भूमिका छ कुनै समय त्यो पनि किताबले नै पूरा गरिरहेको थियो । त्यसैले किताब भनेर मात्र हुँदैन । कस्तो किताब पढियो भन्ने कुरा प्रमुख हुन्छ । कतिपय किताबहरूले गहिरो गरी छाप छाड्छन् जीवनमा । कुनैले तत्काललाई मात्र प्रभाव पार्लान् । कतिले त्यति पनि गर्न नसक्लान् । त्यसमा पाठकको आवश्यकता र रुचि, पुस्तकको गुणस्तर, परिवेश र थाहा छैन कति अन्य कुराहरूले पनि फरक पर्छ होला ।
अहिले आफ्नो प्रिय पुस्तक कुन हो भनी सोच्दा कुनै विशेष पुस्तक प्रिय भन्ने मनमा आएन । अर्थात् अनेक पुस्तकहरू एकसाथ मनमा आइरहेका छन् । स्कुल पढ्दा गाउँमा किताब भन्यो कि कति कक्षाको भन्ने प्रश्न आउँथ्यो । बालबोध भन्ने बालसामग्री समेटिएका पुस्तकको सिरिज कताबाट हो आइलाग्यो । यी किताब कति कक्षामा पढ्नुपर्छ होला भन्ने लागिरहेको थियो तर कसैले बताउन सकेन । कुनै कक्षामा पनि पढाइ नहुने किताब पनि हुनसक्ला जस्तो लागेकै थिएन ।
प्रौढ शिक्षा भन्ने अनौपचारिक शिक्षा कक्षा खुल्यो । गाउँका बुढापाका पढ्न जान थाले । तिनका किताब पनि कसोगरी हो हात लागे । आफ्नो कक्षाका किताबहरू बाहेक पहिलो पटक पढेको भनेको तिनै बालबोध र प्रौढ शिक्षाका किताब हुन् ।
कसले हो स्कुलमा बाइबलका कथा भएको, चिल्ला पाना र रङ्गीन चित्र भएको पुस्तक ल्याएको थियो । २०५० सालतिर ६ कक्षा पढ्दाताकाको कुरा । बाइबल भन्ने थाहा थिएन । धर्म सम्प्रदाय केही थाहा थिएन । जे होस् कक्षामा पढ्नै पर्ने गणित, विज्ञान, अङ्ग्रेजी पढ्नुभन्दा यी किताब पढ्न मजा आउँथ्यो । एक दिनका लागि मागेर घर लिएर आएको बाइबलका कथाको किताब पढिरहेको थिएँ । बुबाले देखेर भन्नुभयो अर्काको धर्म । नपढ त भन्नुभएको थिएन तर त्यसपछि त्यति मजा आएन । त्यही दिन आफ्नो कथित धर्म थाहा पाएँ म हिन्दू रहेछु । नत्र त्यसअघि म मान्छे मात्र थिएँ । यसरी बाइबलले मलाई मान्छेबाट हिन्दू बनायो । आज फेरि मान्छे मात्र बन्ने असफल तर निरन्तर प्रयासमा छु त्यो अलग कुरा हो ।
चार कक्षा र पाँच कक्षामा महेन्द्रमालासँगै अर्को एउटा विषयको पुस्तक पनि मनपथ्र्याे । त्यो थियो सामाजिक शिक्षा । किनकि, तिनमा क्रमशः महाभारत र रामायणका कथा थिए । नत्र जङ्गबहादुरका पतनका कारण, भण्डारखाल र कोतपर्वका तिथि उतिखेर पनि रुचिकर थिएनन् आज पनि छैनन् ।
एक दिन बुवा घर आउँदा हातमा पातलो पहेंलो कभर (जिल्द होइन) भएको किताब लिएर आउनुभयो । फ्रन्ट कभरमा लेखिएको थियो ‘नासो’, गुरूप्रसाद मैनाली । त्यसमा भएका एघारै ओटा कथा हाँस्दै र रूदैं पढेको छु । १०–१२ वर्षको उमेरमा त्यसले मनमा पारेको गहिरो छाप आज पनि टड्कारै छ । पात्रहरूका नाम बिर्सन्छु, कथाकै पनि शीर्षक बिर्सन्छु तर तिनका घटनाक्रम र परिवेश चलचित्रझैं जीवन्त र प्रत्यक्षजस्ता मानसपटलमा घुमिरहन्छन् ।
घरमा अरु पनि किताब थिए बुबाको एक पुरानो बाकसभरि बन्द । धेरै जसो उहाँका पढ्दाखेरिकै पाठ्यपुस्तक थिए कि जस्तो लाग्छ । एउटा किताब निकालेर दिनुभएको थियो लोकनाथ अधिकारीको प्रभात सामान्य ज्ञान । तर त्यो मलाई यति असामान्य लाग्यो कि मैले कहिले पनि पढ्न सकिनँ । एउटा किताब थियो त्यसमा मैनालीको नासो, पुष्कर शमशेरको परिबन्द (र अरु बिर्सें) जस्ता रचनाहरू थिए । त्यो पनि पाठ्यपुस्तक नै थियो सायद ।
यही क्रममा आइलागे मदनलहरी र तोतामैनाको कथा । स्कुलमा कसैले ल्याएको थियो । लुकाएर पढ्ने चलन थियो । घरमा छल्नुपर्ने बुबाकै आँखा मात्र थिए । निरक्षर हुनाले आमालाई त किताब समातेको देखे पुगिहाल्थ्यो । बुबा घरमा हुँदा कहिले अग्लो टुँनीको फेदमा त कहिले पधेँरामाथिको चौतारामा बसेर म स्कुलका किताब होइन तोतामैनाका कथा पढिरहेको हुन्थेँ भनेर आज पनि थाहा छैन होला बुबालाई । कति ढाट्छन् है केटाकेटीले बाबुआमालाई !
युधिर थापा र बसन्त मार्का लेखकका उपन्यास पनि आइपुगेका थिए । कुन किताब राम्रा वा नराम्रा भन्ने थाहा थिएन । तर, स्कुलका बाहेक अरु किताब पढ्नु बरालिनु हो भन्ने थियो त्यसैले लुकेर पढेको होला ।
सबैभन्दा बढी प्रभावित गरेका त मैनालीका कथाले नै हो । प्रत्येक कथाले एउटा–एउटा सजीव चित्र आँखा अगाडि छाडेर गएको छ । प्रत्येक पात्र र परिवेश आफ्नै वरिपरि कल्पना गर्थेँ म । चिताको ज्वालाको हरि मै हुँ जस्तो लाग्थ्यो । किशोरवय सुरु नहुँदैको त्यस उमेरमा पनि मलाई शशी जस्तै कोही होस् र बाटो छेकेर ‘शशी बिहे गर्ने ?’ भनी सोधूँ जस्तो रहर लाग्थ्यो । संकोचले अरु कसैलाई भन्न नसकिने त्यस्ता रहर पानीका फोकाझैँ उठ्थे र बिलाउँथे ।
हरेक कथाको वियोगान्तमा आँखाभिर आसुँ हुन्थे र गला अवरुद्ध भएर हिक्क हुन्थ्यो । मैनाली दुखान्तका कथाकार हुन् । उनको सफलता यही हो भन्ने लाग्छ । उनी आदर्शका कथाकार हुन् । यथास्थितिप्रति पाठकीय मानसको असन्तुष्टि तथा पीडित पात्रहरूप्रति असीम समवेदना र सहानुभूतिको सिर्जना त उनका कथामा सशक्त किसिमले भएको छ तर परम्परा नाघेर अलिकति विद्रोहको चाहना मात्र कथाकारले गरिदिएको भए उनका कथाको सकारात्मक समापन हुन सक्ने अवस्था हुँदाहुँदै पनि उनले परम्परा जोगाएर दुखान्त समापन रोजेका छन् । ‘पापको परिणाम’, ‘विदा’, ‘प्रायश्चित’ र ‘अभागी’ कथामा उनको यो प्रवृत्ति सर्वाधिक शक्तिशाली छ । विदा कथाकी प्रभा र प्रायश्चित कथाकी गौरीप्रति कथाकारको पूरै सहानुभूति छ । तर समाजको डरले बहुमतको रायको हवाला दिँदै उनीहरूलाई प्रताडित गरिदिन्छन् । विधवा विवाहका पक्षमा र जातीय उँचनिँचको विरुद्धमा मानवताको विजय गराएर सभ्य समाज निर्माणका लागि सकारात्मक परिवर्तनको सुरुआत गर्ने अवसर हुँदाहुँदै पनि कथाकारले किन परम्परालाई जिताएर मानवता र प्रेमलाई हराएका होलान् । त्यस बेला यस्ता प्रश्न मनमा आउँदैनथे । किताबमा लेखेको कुरा हो, यस्तै हुने होला भनेरै स्वीकाथ्र्यो कलिलो अन्तःचेतनाले ।
बालकालदेखिकै छाप परेर हो वा के हो थाहा छैन । घर छाडेर नेपाल गएकी सुभद्रासित पशुपतिमा नौलीको भेट हुँदाको संवाद, सुभद्रा घरभित्र पस्दा क्लान्त शरीर देखेर देवीरमण अर्कोपट्टी फर्केर भक्कानिएको प्रसङ्गमा आज पनि आँखा भरिन्छन् । साँच्चै मैनालीका प्रत्येक कथाका पात्र आफूभित्र जिउँदै छन् जस्तो लाग्छ । प्रभासँग सच्चा प्रेम भइकन पनि गर्भवती अवस्थामा उसलाई एक्लो छाडेर अर्को बिहे गर्न नरेन्द्रलाई केले बाध्य बनायो होला ? फेरि भेट भइसकेपछि तपश्विनी बनेकी प्रभा र नरेन्द्रले पुनः नयाँ जीवन सुरु गर्नुको साटो प्रभाले किन आत्महत्या गरेकी होली ? मनमा अनेक प्रश्न आइरहन्छन् । आधुनिक विचारको भइकन पनि प्रायश्चित कथामा किन गोविन्दले गौरीलाई बिहे गर्न सकेन ? बालविधवा गौरीले रानीपोखरीमा हाम फालेर गरेको आत्महत्याले आज पनि लखेटिरहेझैँ लाग्छ । कहिलेकाहीँ लाग्छ आज जात, धर्म, सम्प्रदायभन्दा माथि उठेर मानिसका पक्षमा मलाई दृढ बनाउन मैनालीका कथाले बालमस्तिष्कमा पारेको प्रभावको भूमिका छ कि ! यी कथाले मलाई मानवता प्रेमी, इमान्दार आत्मआलोचक र स्वाभिमानी बन्न प्रेरित गरिरहेझैँ लाग्छ ।
समय फेरिएको छ । आज कुनै किताब पढ्नु अघि म कैयौँ पटक सोच्छु । पढ्नै पर्ने भयो भने मात्र पढ्छु नत्र पढ्दिनँ । किताब पढ्नुअघि त्यो किन पढ्ने स्पष्ट हुनै पर्छ नत्र पाठकीय अपेक्षा पूरा नहुन सक्छ । समय र मेहनत दुवै व्यर्थ हुनसक्छ । पुस्तक महत्वपूर्ण कुरा हुन् । तिनले सीप, क्षमता, व्यक्तित्व र कतिपय अवस्थामा ज्ञान पनि विकासका लागि आवश्यक पर्ने जानकारी, सूचना, उपाय र समझ प्रदान गर्दछन् । परीक्षा उत्तीर्ण गर्न, कुनै विषयमा अनुसन्धान गर्न, वा कुनै विषयमा सचेत वा जानकार हुन पुस्तक उपयोगी मात्र होइन अनिवार्य नै हुन्छन् । तर कुनै समय थियो मनोरञ्जनका लागि समेत किताब एक प्रमुख साधन थियो । आज कुनै विषयमा विस्तृत र आधिकारिक जानकारी लिनु पर्यो वा अध्ययन गर्नुप¥यो भने मात्र सम्बन्धित विषय विज्ञको पुस्तक पढ्नुपर्ला नत्र छिपछिपे सूचनाका लागि अनेकौँ माध्यमहरू छन् । मनोरञ्जनका लागि त तीन दिन लगाएर एउटा पुस्तक पढ्नुभन्दा युट्युबमा दुई घण्टामा एउटा मुभी हेर्नु बढी सुविधाजनक हुन्छ ।
प्रकाशित मितिः १० जेष्ठ २०७७, शनिबार ०८:३९
साझा बिसौनी ।