संक्रमितका सकसपूर्ण पाँच दिन

‘पहुँच नहुँदा उपचारमा खेलाँची भयो’

म गत फागुनको १६ गते भारत गएको हुँ । भारत छिर्ने बेला महाकाली करिडोरमा मास्क लगाएको खोइ भनेर सुरक्षाकर्मीहरूले भनेका थिए । त्यो बेला किन रैछ मास्क लगाउने, के रोग आएको रै’छ जस्तो लाग्यो । त्यति बेलासम्म हामीहरूलाई कोरोना भन्ने थाहा थिएन । त्यै पनि डरैडरमा भारतको आग्रा गएँ ।

त्यहाँ मैले आलु स्टोरमा काम गर्न थालेँ । काम गर्न थालेको २० दिन भएको थियो । नेपाल–भारत सीमा लक गर्ने हल्ला चल्यो । त्यसको एक/दुई दिनमै आलु स्टोर बन्द भयो । यतिबेलासम्म भारतमा कोरोनाका संक्रमित देखिन थालिसकेका थिए ।

अर्काको देशमा महामारी धेरै नै फैलियो भने के गर्ने ? मर्नै पर्ने भए पनि आफ्नै देशमा मरौंला । हामीहरूले हिँडेरै भए पनि नेपाल जानुपर्छ भन्ने सोच बनायौं । आलु स्टोरको मालिकसँग भन्यौं, ‘हामी नेपाल फर्कन चाहन्छौं ।’ उनले एउटा ट्याक्टरको व्यवस्था गरिदिए । हामी ४१ जना साथीहरूले २० हजार तिरेपछि ट्याक्टरले वैशाख २४ गते भारतको बोरेलीको बयेडी भन्ने स्थानमा ल्याएर छोडिदियो । ४१ मध्ये ३९ जना दैलेखका र अरु बर्दियाका थिए । त्यो दिन राति ८ बजे हिँडेर भोलिपल्ट बिहान ९ बजे भारतको वनबासा आइपुगियो । प्रहरीले भेटाउला कि भनी रातभरि जङ्गलको बाटो हिँडेका थियौं । प्रहरीले भेटाए उतै रोकिदिन्थ्यो ।

वनबासा आइपुग्दा थाहा भयो, नेपालमा त झनै कडा लकडाउन भएको रहेछ । प्रहरीले हामीहरूलाई वनबासाको इन्टरकलेजमा राख्यो । त्यो क्षेत्रमा मानिसहरूको आवतजावत बढी भएकोले त्यहाँबाट लगेर पुनः टनकपुरको एउटा विद्यालयमा राखियो । त्यहाँ १४ दिन क्वारेन्टाइन बसियो । नेपालमा लकडाउन खुल्ने र सरकारले उद्धार गर्ने आशामा ४३ दिन त्यहीँ बितायौं ।

त्यो बीचमा नेपालमा आफ्नो निर्वाचन क्षेत्रका सांसद, कर्णाली प्रदेशका मन्त्री तथा स्थानीय तहका प्रमुख, उप–प्रमुख र वडा अध्यक्षलाई फोन पनि ग¥यौं । कसको निर्णयले हो हामीहरूलाई ४३ दिनपछि उद्धार गरियो । भारतको सरकारी गाडी प्रयोग गरी महाकाली करिडोर हुँदै कञ्चनपुरमा ल्याइयो । त्यहाँ आइपुग्दासम्म हामीहरू ४१ जनाबाट एक सय ७० जना पुगेका थियौं । विभिन्न जिल्लाका अन्य व्यक्तिहरू समेत अन्य स्थानमा क्वारेन्टाइन बसेर आएका थिए । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सीडीओ सा’बले बस नभएको कारण सबैलाई लाइनमा उभिएर टिप्परमा जान भन्नुभयो ।

कञ्चनपुरको बैजनाथ विद्यालयमा जेठ १ गते राति आरडीटीमार्फत हाम्रो कोरोना परीक्षण भयो । सबैको रिपोर्ट नेगेटिभ भएपछि टिप्परमा चढियो । जम्मा पाँच वटा टिप्परमा एक सय ७० जना कसरी आइयो होला ? अहिले सम्झँदा पनि आफैंलाई पत्यार लाग्दैन ।

बाटोमा कतै झरिएन । हाम्रो नगरपालिकाका ३९ जना थियौं । हामीसँग दैलेख ठाँटीकाँध गाउँपालिकाका आठ जना र बर्दियाका चार जना पनि आएका थिए । सुरुमा त हामीहरूलाई बबईमा क्वारेन्टाइन निर्माण गरी राख्ने योजना बनाइएको सुनेका थियौं । पछि स्थानीय तहले नै लैजाने निर्णय भएछ ।

नगरपालिका भित्रिएपछि जनप्रतिनिधिहरूको सल्लाह बमोजिम नै हामीहरू आठबीस नगरपालिका–१ को लक्ष्मी माध्यमिक विद्यालयमा बसेका थियौं । त्यहाँ पनि १४ दिन बस्नुपर्ने अनि पुनः जाँचपछि मात्रै घर जान दिने भनिएको थियो । त्यो बीचमा मेरो आमाबुबा मलाई भेट्न आउनु भएको थियो । सामाजिक दूरी कायम गरेरै उहाँहरूलाई भेटेँ । करिब डेढ महिना त भारतको क्वारेन्टाइनमा बसियो भने १४ दिन त होनी त्यसपछि घर आइहाल्छु भनेर आमा–बुबा र श्रीमतीलाई सम्झाएँ ।

भारत होस् या यता आएपछि क्वारेन्टाइनमा साथीहरूका बीचमा भने हामीहरूले खासै सामाजिक दूरी कायम गरेनौं । भारतमा क्वारेन्टाइन बसेर आएकाले हामीलाई कोरोना छैन भन्नेमा ढुक्क थियौं । बाटोमा ठाउँ–ठाउँमा ज्वरो पनि नापेकै हो । यतिका दिनसम्म मेरो जीउमा कुनै किसिमको स्वास्थ्य समस्या पनि भएन । शंका पनि थिएन ।

जेठ ३ गते कर्णाली स्वास्थ्य निर्देशनालयको प्रयोगशालाको टिमले पीसीआर विधिबाट कोरोना परीक्षणको लागि स्वाब तानेर लग्यो । रिपोर्ट नआउँदासम्म पनि साथीहरूका बीचमा खासै दूरी कायम गरिएन ।

तर जब जेठ ५ गते एक जना ३५ वर्षीय युवाको रिपोर्ट पोजेटिभ भन्ने खबर क्वारेन्टाइनमा पुग्यो । सबैलाई एक खालको त्रास भयो । सबै एक–अर्कामा दूरी कायम गरिरहन थालियो । नाम नखुलाइएको कारण को हो को भन्ने लाग्यो । मैले आफूलाई होला भन्ने कल्पना पनि गरेको थिइनँ । तर, एक खालको कौतुहलता भने थियो, त्यो ३५ वर्षीय युवा को होला ? त्यसपछि मनमनै डर लाग्न थाल्यो कतै मै पो हुँ कि ?

जिल्ला अस्पताल दैलेखको स्वास्थ्यर्मीको टोली हामी बसिरहेको विद्यालयमा गयो । सबैलाई लाइन लगायो, त्यसपछि बल्ल नाम भनियो । त्यो बेला म त छाँगाबाट खसेजस्तै भएँ । त्यत्रो दिन भारतमा क्वारेन्टाइनमा बसेको मान्छे कसरी कोरोना पोजेटिभ देखियो ? हैन होला भन्ने पनि लाग्यो ।

डाक्टरहरूले राम्रो उपचार गर्ने नआत्तिनु तपाईंलाई सुर्खेत लैजाँदैछौं भनेर गाडीमा बस्न आग्रह गर्नुभयो । मलाई कोरोना पोजेटिभ भएको सुन्दा त्यति मन दुखेन, जतिबेला कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लैजाने भनेर मलाई मान्छे गाड्ने जङ्गलको विद्यालयमा लगियो । नारायण नगरपालिका–८ झुप्रेसालमा ।

मैले त्यो बेलामा पनि प्रश्न नगरेको होइन । कोरोना विशेष अस्पतालमा किन लगिएन ? मलाई एक्लै यस्तो ठाउँमा किन ल्याउनु भयो भनेर भनेकै हो । तर मेरो कुरा कसैले पनि सुनेनन् । सबैले तपाईंलाई अप्ठ्यारो पर्दा उपचार गरे त भइहाल्यो नि भने । सायद म दलित समुदायको भएर होला । मलाई अहिले त्यही लाग्छ दलित समुदायको मान्छे पहुँच नभएरै मलाई यसरी एक्लै जङ्गलको विद्यालयमा राखिएको हो ।

एउटा विद्यालयको हलमा राखियो । तीन जना नर्स र एक जना डाक्टर अर्को भवनको कोठामा बस्नुहुन्थ्यो । बिस्तरा र एउटा थर्मोमिटर बाहेक मेरो कोठामा अरु केही थिएन । मलाई यहाँ ल्याएको दिन प्रेसर र ज्वरो नाप्नु भएको हो । त्यसपछि कोही आउनु भएन । नर्सहरूले मोबाइल नम्बर दिएका थिए, केही अप्ठ्यारो परे फोन गर्नु भनेर । तर फर्किएर हेर्न कोही आएन । त्रासैत्रासमा बसेँ । एउटा सिङ्गो विद्यालय भवनमा बिरामी मान्छे त्यो पनि एक्लै राति पनि कसरी निदाउनु ? बेला–बेलामा आफैं ज्वरो नापेर उहाँहरूलाई फोन गरी जानकारी दिन्थेँ ।

उता घरमा श्रीमती आत्तिएकी छन् । सन्चो नहुने रोग लाग्यो, अब बाँच्दैन कि भनेर । मैले घर परिवारलाई हौसला दिने गरेको छु । मलाई केही हुँदैन भन्छु । तर, भित्रभित्रै आफैंलाई भने डर लागिरहेको छ । मलाई यतै राखेर मार्ने त होइन भन्ने मनमा लागिरहन्थ्यो । मातृभूमिमा बाँच्न आएको हुँ । तर झन् विभेद भयो । बेवास्ता गरियो । संक्रमण पत्ता लगोपछि अस्पतालमा राखेर उपचार गर्नुपर्नेमा मलाई भने उपचार भन्दा सजाय दिइयो, विद्यालयमा राखेर । पहुँच नहुँदा उपचारमा खेलाँची भयो ।

(संक्रमित युवासँग हाम्रा सहकर्मी सीता वलीले शुक्रवार गरेको टेलिफोन संवादमा आधारित ।)

पाँच दिन पछि अस्पताल

दैलेख आठबीस नगरपालिकाका–१ का ३५ वर्षीय कोरोना संक्रमित युवालाई प्रदेश अस्पताल ल्याइएको छ । दैलेखको नारायण नगरपालिकास्थित एक विद्यालयमा बनाइएको आइसोलेसनमा राखिएका उनलाई पाँच दिनपछि शुक्रवार कोरोना विशेष अस्पताल कालागाउँमा ल्याइएको हो ।

संक्रमितलाई उपचारमा सहज होस् भनेर प्रदेश अस्पताल ल्याइएको सामाजिक विकास मन्त्री दल रावलले बताए । संक्रमितलाई कोरोना उपचारका लागि तोकिएका अस्पतालमा नलगी विद्यालयमा राखिएको भन्दै सबै क्षेत्रबाट चर्को विरोध भएपछि उनलाई सुर्खेत ल्याइएको हो ।

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले उनलाई विशेष अस्पतालको आइसोलेसनमा राखिएको जानकारी दिए । कर्णालीको पहिलो कोरोना संक्रमित ती व्यक्तिमा सोमबार संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मितिः   १० जेष्ठ २०७७, शनिबार ०८:४९