कोरोनाबाट बच्न प्रदेश संसद्मा सतर्कता

बजेट अधिवेशन जेठ ११ देखि

कर्णाली प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफल चलाउन जेठ ११ गते तोकिएको प्रदेश सभाको बजेट अधिवेशनको तयारी तीव्र पारिएको छ । कोरोना भाइरस संक्रमण रोक्न संसद् सचिवालयले प्रदेशसभा भवनमा सावधानी अपनाएको छ । कोरोना संक्रमणबाट बच्नका लागि स्वाब संकलन तथा सम्पूर्ण स्वास्थ्य सामग्रीसहित सरसफाइको तयारी गरिएको हो ।

अधिवेशनमा सहभागी हुने मन्त्री, सांसद र सचिवालयका कर्मचारीहरूको बिहीवार पीसीआर विधिबाट कोरोना परीक्षणको लागि स्वाब लिइएको संसद् सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार एक सय ६४ जनाको ‘नोजल स्वाब’ संकलन गरिएको छ । जसमा मुख्यमन्त्रीसहित विभिन्न विभागीय मन्त्री, सांसद र उनीहरूका स्वकीय सचिव, सवारी चालक, मर्यादापालक र संसद् सचिवालयका कर्मचारीहरू रहेका छन् ।

प्रदेश सभाको बैठकमा कोरोना भाइरसको जोखिम हुन नदिन स्वाब संकलन गरी परीक्षण गर्न लागिएको हो । सचिव बुढाथोकीले सबैको कोरोना परीक्षणको रिपोर्ट प्राप्त भएपछि निर्धारित मितिमा बैठक सुरु हुने बताए ।

‘संसद् सचिवालय परिसरमा क्लोरिन छर्कने, साबुन, पानी, सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्थापन गरेका छौं,’ सचिव बुढाथोकीले भने, ‘सामाजिक दूरी कायम गरेर बस्ने प्रबन्ध मिलाइएको छ ।’ बैठक कक्षको दर्शक दीर्घामा ४८ सिट र तल ४२ सिट भएकोेले सबैको व्यवस्थापन गरी सांसदहरूलाई दूरी कायम गरी राख्ने तयारी भएको उनले बताए । दर्शक दीर्घामा रहने दर्शक र पत्रकारहरूलाई भने बैठकभित्र छिर्न नदिइने उनले बताए ।

जोखिमको मध्यनजर गर्दै पत्रकार र दर्शकहरूलाई प्रतिक्षालयको हलमा बस्ने व्यवस्थापन मिलाइएको उनले जनाए । वर्षे अधिवेशनभर नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, बजेट प्रस्तुत र नीति कार्यक्रमसहित बजेटमाथिको छलफलको गर्नेलगायतका एजेण्डा रहेको उनले बताए । यसबाहेक केही विधेयकहरू ल्याउने र छलफल गर्ने तयारी पनि रहेको उनले जानकारी दिए ।

प्रकाशित मितिः   ९ जेष्ठ २०७७, शुक्रबार ०८:१४