सामाजिक दूरी कायम गराउन समूह परिचालन
कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न सामाजिक दूरी पालना गराउन समूह परिचालन गरिने भएको छ । खाद्य, खुुद्रा तथा तरकारीलगायत अत्यावश्यक पसलहरूमा सामाजिक दूरी कायम गराउन समूह बनाएर परिचालन गर्न लागिएको हो ।
सामुदायिक प्रहरी, नगर प्रहरी, मोटे ग्याङ्ग नेपाल र वडा कार्यालयको समन्वयमा सामाजिक दूरी कायम गराउन समूह परिचालन गर्न लागेको छ । अत्यावश्यक पसलहरूमा भिडभाड बढी हुन थालेपछि नियन्त्रण गर्न यस्तो समूह परिचालन गर्न लागिएको वीरेन्द्रनगर–६ का वडा अध्यक्ष मोतीप्रसाद कँडेलले जानकारी दिए । सामाजिक दूरी कायम नगरेसम्म लकडाउन गरेको अर्थ नहुने भएकाले समूह नै परिचालन गर्ने तयारी गरिएको उनको भनाइ छ ।
पहिलो चरणमा वीरेन्द्रनगर–६ बाट सुरुवात गर्ने र विस्तारै १६ वटै वडामा संयन्त्र बनाइने जनाइएको छ । यस समूहमा सुरक्षाकर्मी, टोल विकास संस्थाका अध्यक्ष, समुदायको सेवामा लागेका युवा, जनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारीहरू रहने छन् । हाल वीरेन्द्रनगरमा हप्ताको तीन दिन दुई घण्टाका लागि खाद्य तथा खुद्रा पसल खुल्ने गरेका छन् । उक्त पसलहरूमा बढी भिडभाड हुँदा कोरोना संक्रमणको जोखिम बढेको छ ।
प्रकाशित मितिः ९ जेष्ठ २०७७, शुक्रबार ०८:१०
साझा बिसौनी ।