भारतबाट भित्रिनेलाई कहाँ राख्ने ?

क्वारेन्टाइनको क्षमता ६ हजार, प्रदेश भित्रिनेको संख्या एकै दिन दुई हजार

प्रदेश भित्रिने मुख्यद्वार सुर्खेतको बबई भएर बिहीवार मात्रै एक हजार नौ सय ३० जना भारतबाट कर्णाली भित्रिएका छन् । जमुनाह, गड्डाचौकी र गौरीफन्टा नाका हुँदै बुधवार राती बबई आइपुगेका उनीहरूलाई कर्णाली भित्र्याइएको हो । दैलेखका सात सय २७, सुर्खेतका चार सय ४८, सल्यानका तीन सय ५१ लगायत जाजरकोट, जुम्ला र कालीकोटका नागरिकलाई ४९ वटा बसमार्फत प्रहरीको स्कर्टिङमा कर्णाली भित्र्याइएको हो । दैलेख र सल्यानकालाई बिहीवार नै सम्बन्धित जिल्ला पठाइएको छ भने बाँकी जिल्लाकालाई वीरेन्द्रनगर ल्याइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले यसरी फर्किएका सबैलाई स्थानीय तहमा रहेका क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने भनेको छ । तर, प्रदेशभर बनाइएका न्यून संख्याका क्वारेन्टाइनले भित्रिनेहरूको संख्यालाई धान्न सक्ने अवस्था भने छैन । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभर हालसम्म दुई सय २७ स्थानमा ६ हजार आठ सय ४७ बेड क्षमताका क्वारेन्टाइन निर्माण गरिएका छन् । जबकी भारतबाट मात्रै कर्णाली भित्रिने संख्या दैनिक दुई हजारको हाराहारी छ ।

भारतमा रेल सेवा सुरु भएसँगै कामको शिलशिलामा त्यहाँ रहेका नागरिकहरू स्वदेश फर्कनेक्रम बढेको हो । पछिल्लो चार दिनको अवधिमा दुई हजार पाँच सय भन्दाबढी कर्णालीवासी घर फर्केका छन् । सुर्खेतको बबईसँगै कुइने र सल्यानको कपुरकोटबाट पनि नागरिकहरू भित्रिने गरेका
छन् ।

केही दिनभित्र भारतबाट मात्रै बीस हजार नागरिक भित्रिन सक्ने प्रदेश सरकारको आँकलन छ । यसअघि लकडाउनकै अवधिमा झण्डै १० हजार नागरिक फर्किसकेका छन् । देशका अन्य स्थानबाट प्रदेश फर्कनेको संख्या पनि उस्तै छ । यसरी गाउँ फर्किएका अधिकांश सिधै घर पुग्ने गरेका छन् । कोरोना संक्रमण फैलिएका स्थानबाट आएका उनीहरूलाई क्वारेन्टाइनमा नराखी सिधै घर पठाउने गरिएको छ । नाकाहरूमा सामान्य चेकचाँजपछि हजारौं व्यक्ति भित्र्याइँदा कर्णालीमा कोरोना महामारी फैलिन सक्ने देखिएको छ । प्रदेशमै पहिलो कोरोना संक्रमण भेटिएका दैलेख आठबीस नगरपालिकाका युवा पनि केही दिन पहिले भारतबाटै फर्किएका थिए ।

सुरुका दिनमा भारतबाट आएका झण्डै तीन सय जनालाई नेपाली सेनाको सहयोगमा प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माण गरिएका क्वारेन्टाइनमा राखेको थियो । भारतबाट आउनेको संख्या अधिक हुँदै गएपछि प्रदेश सरकारले अहिले नाकामा सामान्य चेकजाँच पछि सिधै सम्बन्धित गाउँ तथा नगरपालिकामा पठाउने गरेको छ । कोरोना प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि पूर्वाधार नै नभएका स्थानीय तहको जिम्मा लगाइँदा संक्रमण नियन्त्रण बाहिर जानसक्ने भन्दै प्रदेश सरकारको आलोचना हुने गरेको छ । अप्ठ्यारो अवस्था आउनै लाग्दा प्रदेश सरकार पन्छिएको भन्दै स्थानीय तहहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रदेश भित्रिनेको संख्या बढ्दै गए पनि आवश्यक क्वारेन्टाइन निर्माणतर्फ भने सरकारको ध्यान गएको छैन । प्रदेश सरकारले वीरेन्द्रनगरमै एक हजार बेडको क्वारेन्टाइन बनाउने निर्णय गरे पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । स्थानीय तहले बनाएका क्वारेन्टाइन मापदण्ड अनुसारका छैनन् । कतिपय पालिकाले ओढारमा समेत क्वारेन्टाइन बनाएका छन् । दश–बाह्र जनासम्मलाई एकै कोठामा राख्ने गरिएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म ६ हजार ९३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जसमध्ये चार हजार चार सय ९६ जनालाई परीक्षणपछि घर पठाइएको छ भने एक हजार पाँच सय ९७ जना क्वारेन्टाइनमै रहेका छन् । यस्तै, प्रदेशभर पाँच सय चालीस बेड आइसोलेसन, २२ आईसीयू कक्ष र १२ वटा भेन्टिलेटर छन् । एक सय १४ वटा हेल्थ डेस्कमार्फत एक लाख ४९ हजार ६ सय जनाको चेकजाँच गरिएको मन्त्रालयले जनाएको छ । कर्णालीमा हालसम्म तीन हजार पाँच सय दुई जनाको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएकोमा एक जनामा मात्रै कोरोना पोजिटिभ देखिएको छ ।

प्रकाशित मितिः   ९ जेष्ठ २०७७, शुक्रबार ०८:२१