काफल खान जानेको निगरानी

काफल र एैंसेलु खान जानेको भिड बढ्न थालेपछि निगरानी गर्न थालिएको छ । वीरेन्द्रनगर–१४ को बयलकाँडा, गोठीकाँडालगायतका स्थानमा उपत्यकाबाट जानेहरूको निगरानी गर्न थालिएको हो । कोरोना भाइरसको संक्रमण भित्रिन सक्ने भन्दै स्थानीयले वडा नाकामा कडाइ गरेका हुन् ।

लकडाउन भएपछि वीरेन्द्रनगर उपत्यकाबाट मानिसहरू गोठीकाँडा, गुराँसे लगायतका ठाउँमा जाने गरेका छन् । टोल विकास संस्थाहरूको समन्वयमा गाउँमा अत्यावश्यक बाहेक घुम्न, काफल र एैंसेलु खान जाने मानिसहरूलाई रोक लगाउन थालिएको स्थानीयले बताएका छन् ।

गाउँमा बाहिरका मानिसहरू जान थालेपछि कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै स्थानीय आफैले नाकामा कडाई गर्ने र पालैपालो कुरुवा बस्ने गरेका छन् । अहिले वीरेन्द्रनगर उपत्यकाबाट जंगलको बाटो हुँदै दैनिक पाँच सयको हाराहारीमा ती स्थानहरूमा जाने गरेका छन् । टाढा जाने व्यक्ति भए जान दिने तर काफल, एैंसेलु खान आएका र घुम्न आएकालाई प्रवेशमा रोक लगाउने गरिएको स्थानीय बताएका छन् ।

स्थानीय बीरु थापाले गाउँले मिलेर पालैपालो चार–पाँच जनाको टोली बनाएर नाकामा बसेर निगरानी गर्ने गरिएको जानकारी दिए । ‘गाउँ आउने व्यक्तिहरूमाथि सोधपुछ गरेर स्थानीयलाई मात्र प्रवेश गर्न दिइएको उनले जनाए । वडा कार्यालयले टोल विकास संस्थाको समन्वयमा बिहान नौ बजेसम्म खाद्य पसलहरू खोल्ने, होटलहरू खोल्न नपाइने, घाँस दाउरा जाँदा धेरै संख्यामा नजाने र सामाजिक दूरी कायम गर्ने निर्णय गरेको छ ।

Loading...