गढी पदमार्ग निर्माण सुरु

वीरेन्द्रनगर–४ को खोर्केदेखि वीरेन्द्रनगर–१४ गढीसम्मको पुरानो सडकलाई पदमार्ग नामाकरण गरी निर्माणको काम थालिएको छ । वडा नं. ४ का वडा सदस्य कृष्णप्रसाद गौतम, पदमार्ग निर्माण समितिका अध्यक्ष नगेन्द्रबहादुर सिंह, सचिव अमरबहादुर कार्कीलगायतको उपस्थितिमा पदमार्गको शिलान्यास गरी काम थालिएको हो ।

कर्णाली प्रदेश सरकारको करिव ८५ लाखको लागतमा थालिएको सो पदमार्गको पहिलो चरणमा करिव आठ सय मिटर तयार पारिनेछ । पदमार्ग निर्माण समितिका अध्यक्ष नगेन्द्रबहादुर सिंहले प्रदेश सरकारले करिव ६८ लाख र बाँकी करिब १७ लाख स्थानीयले जनश्रमदान गरिने बताए । वीरेन्द्रनगर ४ को खोर्केको निर्माणाधीन शहीद पार्क स्थलदेखि करिव गढीसम्मको कूल चार किलोमीटर उक्त पैदलमार्ग पहिलो चरणमा झण्डै आठ सय मिटर तयार हुनेछ ।

निर्माण समितिका सचिव अमरबहादुर कार्कीले पदमार्गको काम डिभिजन वन कार्यालयमार्फत हुने जानकारी दिए । गढीदेखि वीरेन्द्रनगर बजार आउने छोटो र पुरानो सडकलाई पदमार्ग बनाउन लागिएको उनको भनाइ छ । वडा नं. ४ का सदस्य कृष्णप्रसाद गौतमले पदमार्गले पर्यटकीय चहलपहलका साथै वडा नं. ४ र १४ को आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधिलाई पनि जोड्ने बताए । निर्माणको काममा सुरक्षा सावधानीपनि अपनाइएको छ । सामाजिक दुरी कायम गरेर मजदुरहरूले पदमार्गको काम थालेका छन् ।

प्रकाशित मितिः   ८ जेष्ठ २०७७, बिहीबार ०७:४३