दीर्घकालीन योजना

कोरोना महामारीले नेपाली अर्थतन्त्र थिलिएको छ । आर्थिक तथा औद्योगिक गतिविधि ठप्प भएका छन् । रेमिट्यान्स घटेको छ । कोरोना कहर कहिलेसम्म कायम रहने हो निश्चित छैन । भाइरस संक्रमणले मानव स्वास्थ्यमा जति क्षति पु¥याइरहेको छ त्यो भन्दाबढी क्षति अर्थतन्त्रमा परिरहेको छ । यही अवस्था अझै यथावत रहे नेपालमा भोकमरीको अर्को महामारी उत्पन्न नहोला भन्न सकिन्न । विशेष गरेर कर्णाली प्रदेश यसको ठूलो चपेटामा पर्ने देखिन्छ ।

कर्णालीको ५२ प्रतिशत नागरिक अहिले पनि बहुआयामिक गरिबीको रेखामुनी छन् । हिमाली जिल्लाहरूमा अन्य समयमा पनि खाद्यान्न समस्या हुँदै आएको छ । त्यसमाथि अहिलेको यो अप्ठ्यारो परिस्थिति जारी रहे भोकमरीले अझ बढी सताउनेछ । कालापहाडमा निर्भर जनजीविका समस्यामा पर्नेछन् । यसतर्फ सरकारको ध्यान समयमै पुग्न जरूरी देखिएको छ । यहाँको ठूलो जनसंख्या कृषिमा निर्भर छ । तर कृषि क्षेत्र पनि व्यावसायिक छैन, गुजारामुखी छ । जसले गर्दा खाद्यवस्तुहरू आयात गर्नुपर्ने हुन्छ । लकडाउनसँगै आयातमा पनि कमी आएको छ । स्थानीय उत्पादन न्यून छ । रोजगारीका लागि भारत गएकाहरू फर्किएका छन् । आम्दानी घट्दैछ । यो खतराको संकेत हो ।

संकेतको यो संकेत पूर्वसावधानीको संकेत पनि हो । त्यसैले भइरहेको कृषि क्षेत्रलाई पूर्ण व्यावसायिक बनाउनेतर्फ अबका योजना अपरिहार्य छ । कोरोनाका कारण कृषि आयात तथा स्वदेशी उत्पादन घट्न जाने तर धेरै मान्छे यसैको आम्दानीमा आधारित हुँदा आगामी दिनमा कृषि क्षेत्रमा योजनाबद्ध लगानी तथा उत्पादन बढाउनुपर्ने देखिन्छ । देशभित्र र बाहिर नेपाली युवा जनशक्तिको रोजगारी गुम्ने सम्भावनाबीच सरकारलाई कृषिमा आत्मनिर्भर हुन, देशभित्रै रोजगारी सिर्जना गर्न र औद्योगिक क्षेत्रमा धेरैभन्दा धेरै लगानीको वातावरण बनाउन योजनाबद्ध हिसाबले अगाडि बढ्न जरूरी छ ।

प्रदेश सरकार यतिबेला बजेट निर्माणको क्रममा छ । अबको बजेट पनि कृषि उत्पादन र अन्य उत्पादनमा आधारित कार्यक्रमहरू ल्याउन सक्रिय हुनुपर्दछ । आउँदै गरेको बजेटमा आकस्मिक सहायता प्याकेज र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने दीर्घकालीन योजनाहरूलाई छुट्टाछुट्टै रूपले सम्बोधन गर्न जरुरी छ । आफ्ना युवा जनशक्तिलाई नेपालमै बसी व्यवसाय सञ्चालन वा जीविकोपार्जनका अन्य कार्य गर्न सक्ने वातावरण सिर्जना र श्रमको सदुपयोग हुने गरी उत्पादनशील कार्यमा लाग्न प्रेरित गर्ने गरी बजेट ल्याउन जरूरी देखिन्छ । स्थानीय सरकारको पूर्ण प्रयोग गरी युवा जनशक्तिलाई छिटो प्रतिफल दिन सक्ने क्षेत्रमा लाग्न प्रोत्साहन गर्ने, कृषिजन्य उद्योगहरू सञ्चालनमा बढावा दिने र बजार व्यवस्थापनको जिम्मा सरकारले लिने गर्नुपर्छ । साथै आगामी दिनमा उत्पादनशील क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई समेत प्रेरित गर्नुपर्छ । जसले रोजगारी सिर्जना गर्न मद्दत पुग्नेछ । आजको कोरोना महामारीको संकटले भोलि भोकमरीको सङ्कट निम्त्याउने परिस्थितिको आँकलन सहजै गर्न सकिन्छ । तसर्थ कोरोनाबाट बच्ने स्वास्थ्य उपायहरू अपनाउँदै हाललाई विस्तारै आर्थिक गतिविधिहरू सञ्चालन गरी दीर्घकालीन प्रभावका काममा योजनाबद्ध हिसाबले लागेर अगाडि बढ्नु जरूरी छ ।

प्रकाशित मितिः   ८ जेष्ठ २०७७, बिहीबार ०७:३६