कोरोना जित्ने ४५ पुगे

नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानमा सञ्चालित कोरोना विशेष अस्पतालमा उपचारपछि डिस्चार्ज भएर घर फर्किएका हुन् ।

कोरोना भाइरस संक्रमितको संख्या चार सय २७ पुगेको छ । बुधवार मात्रै २५ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयअनुसार थपिएका संक्रमितमध्ये १८ पुरूष र सात महिला छन् । बाँकेमा ६, धनकुटामा पाँच, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा एक जना संक्रमित थपिएका छन् । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ । हालसम्म कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरका १४, भोजपुरका एक र झापाका तीन जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै, प्रदेश २ का संक्रमितमध्ये धनुषाका एक, पर्साका तीन र रौतहटका एक जना उपचारपछि डिस्चार्ज भएका छन् ।

बाग्मती प्रदेशका ६ जनाले कोराना जितेका छन् । यस प्रदेशको काठमाडौंका तीन, चितवनका दुई र धादिङका एक जना उपचारपछि डिस्चार्ज भएका छन् । यस्तै, प्रदेश ५ का रूपन्देहीका एकजना मात्र निको भएका छन् । सुदूरपश्चिम प्रदेशका पाँचजना बिरामी निको भएर घर फर्किसकेका छन् ।

विराटनगरको कोरोना विशेष अस्पतालबाट थप ८ जना कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् । योसँगै प्रदेश १ बाट कोरोना नेगेटिभ रिपोर्ट आएर डिस्चार्ज हुनेको संख्या २६ पुगेको छ । बुधवार डिस्चार्ज हुनेमा पाँच भारतीय नागरिक र तीन जना उदयपुरको भुल्केका छन् । गत वैशाख ५ र ९ गते उनीहरूमा कोरोना संक्रमण देखिएपछि विराटनगरस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।

प्रकाशित मितिः   ८ जेष्ठ २०७७, बिहीबार ०७:३४