दसैंअघि चामल उपलब्ध गराउन माग

साझा बिसौनी संवाददाता
जाजरकोट, २८ भदौ ।
नेपाल खाद्य संस्थान जाजरकोटका विभिन्न डिपोहरूका लागि निर्धारित कोटा अनुसारको चामल उपलब्ध गराउन राप्रपा जाजरकोटले आपूर्ति मन्त्रालयसँग माग गरेको छ । दसैं र तिहार लगायतका चार्डहरूलाई मध्यनजर गर्दै राप्रपा जाजरकोटले जिल्लामा हाल कायम रहेका डिपोहरूमा तत्काल ढुवानीको व्यवस्था गरिदिन समेत आपूर्ति मन्त्री दीपक बोहरासँग अनुरोध गरेको छ ।
राप्रपा जाजरकोटले जिल्लाका विभिन्न डिपोहरूका लागि कम्तीमा चार÷चार सय क्वीन्टल चामल वैकल्पिक माध्यमबाट ढुवानी गरी दसैंअघि उपलब्ध गराउन माग गरेको हो । जिल्लाको झाप्रा–८ नल्फु, ढिमे–४ घरंगा, लहँ–५ खानटाकुरा र मजकोट–४ सानाखोलाका लागि चामल उपलब्ध गराइदिन आपूर्ति मन्त्री बोहरासँग अनुरोध गरिएको राप्रपा जाजरकोटले जानकारी दिएको छ ।
त्यस्तै जिल्लालाई स्थानीय तहको पुनर्संरचना गर्दा सावीकको ईलाकालाई आधार मानी पुनर्संरचना गर्ने व्यवस्थाको स्थानीय निकाय राज्य पुनर्संरचना आयोगमा सुझाव पेश गर्ने र सोको लागि आवश्यक पहल गरीदिन राप्रपा केन्द्रीय कार्यसमितिलाई समेत अनुरोध गर्ने निर्णय समेत गरिएको छ ।
यसैगरी जिल्लाको विभिन्न स्थानमा सरकारी जग्गा अतिक्रमण भएको र यसको नियन्त्रण असफल भएको भन्दै वन जंगल तथा सरकारी जग्गा अतिक्रमण गरी बसोबास गरिरहेका परिवारहरूको पहिचान गरी उनीहरूको लागत तयार गर्ने र नियन्त्रणका लागि सम्बन्धित निकायलाई रचनात्मक सुझाव दिने समेत निर्णय गरेको छ ।

प्रकाशित मितिः   २९ भाद्र २०७३, बुधबार ०९:३५