आमाहरूको अक्षर चिन्ने रहर, भन्छन्, ‘नपढे त सबैले हेप्छन्’

1साझा बिसौनी संवाददाता
सुर्खेत, २८ भदौ ।
वीरेन्द्रनगर–११ चनौटे सुर्खेतकी ६० वर्षीया गंगा ऐडीले सानो छँदा पढ्न पाइनन् । सानैदेखि घरायसी काममा व्यस्त भइन, उमेर नपुग्दै अभिभावकले विवाह गरिदिए । विद्यालय जाने र पढ्ने रहर त्यतिबेला उनलाई नभएको होइन । छोरालाई पढाउने तर छोरीलाई पढ्न नपठाउने समयमा जन्मिएकी उनले रहर मारेरै घरव्यवहार सम्हाल्न बाध्य भइन् । चाहेर पनि विद्यालय जान नपाएकी उनलाई अक्षर चिन्ने रहर भने मरिसकेको थिएन । त्यसैले जीवनको ६ दशक पार गरिसकेकी गंगा यतिबेला किताब कापी बोकेर विद्यालय धाउन थालेकी छिन् । गाउँकै हस्तवीर सामुदायिक विद्यालयमा गएर पढ्न थालेपछि यतिबेला उनी अक्षर चिन्न सक्ने भएकी छिन् ।
गंगा त एक प्रतिनिधि पात्र मात्रै हुन् । बाल्यकालमा पढ्न नपाएका सुर्खेतको चनौटेका आमाहरू यतिबेला विद्यालय गएर पढ्न थालेका छन् । गंगाजस्तै यहाँका ४३ जना आमाहरू अहिले वीरेन्द्रनगर–११ चनौटेमा रहेको हस्तवीर प्राथमिक सामुदायिक विद्यालयमा कखरा सिक्दैछन् । घरायसी काम सकेर उनीहरू बिहान ११ बजे विद्यालय पुग्छन् । पढेर दिउँसो १ बजेतिर घर फर्किन्छन् । उमेर छँदा पढ्न नपाएका उनीहरू छोराछोरी हुर्काएर बुढेसकालमा अक्षर चिन्न पाउँदा पनि खुशी छन् । वीरेन्द्रनगर–११ की ४४ वर्षीया अनिता सोमै विद्यालय गएर अक्षर चिन्न पाउँदा जीवनमा सबैभन्दा खुशीको अनुभूति भएको बताउँछिन् । पढ्ने रुचि हुँदाहुँदै सानैमा बुबाआमाले विवाह गरिदिएको भन्दै उनले बुढेसकालमै भए पनि पढ्ने रहर पूरा भएको बताइन् । अक्षर नचिन्दा पछाडि परिएको महसुस भएपछि पढ्न थालेको उनी बताउँछिन् । पढ्न थालेपछि धेरै कुरा जानेको उनीहरू बताउँछन् । वीरेन्द्रनगर–१० की ६७ वर्षीया तुल्सी गौतमले अक्षर चिनेर रामायण, गीता लगायतका धार्मिक पुस्तकहरू पढ्ने धोको रहेको बताइन् ।
पढ्न थालेको छोटो समयमै सामान्य हिसाब गर्न, आफ्नो नाम लेख्न र दस्तखत गर्न जान्ने भएको महिलाहरू बताउँछन् । घरधन्दा सम्हाल्दा पढ्नु र नपढ्नुबीचको अन्तर उनीहरूले थुप्रै पटक महसुस गरे । छोराछोरी विद्यालय जान थालिसकेका उनीहरूलाई आफै उनीहरूसँगै बसेर पढ्न सहज थिएन । त्यसैले विद्यालयसँग आफूहरूका लागि छुट्टै कक्षा सञ्चालन गरिदिन माग राखे । विद्यालयले गृहिणी महिलाहरूको माग जिल्ला शिक्षा कार्यालयसँग राखिदियो । त्यसपछि उनीहरूको माग पूरा भयो । अनौपचारिक शिक्षा अन्तर्गत प्रौढ कक्षा सञ्चालनको अनुमति पाएपछि हस्तवीरमा २०६७ सालबाट महिलाहरूका लागि प्रौढ कक्षा सञ्चालन गर्न थालिएको हो ।
यस कक्षामा हालसम्म एक सय ८४ जना महिलाहरूले अध्ययन गरिसकेका छन् । जसमध्ये एक सय एक जनाले तह पार गरिसकेको विद्यालयले जनाएको छ । यस कक्षा अन्तर्गत दुई वटा तह हुन्छन् । पहिलोमा एकदेखि तीन कक्षा र दोस्रोमा चार र पाँच कक्षासँग सम्बन्धित पढाइ हुन्छ । दोस्रो तह उत्तीर्ण गरेपछि महिलाहरूले नजिकै रहेको अमरज्योति नमुना माध्यमिक विद्यालयमा पढ्ने गरेका छन् । अमरज्योतिले खुला निमावि तह अध्यापन गराउने गरेको छ । जसमा एक वर्षमा निमावि तह र दोस्रो वर्ष एसएलसी दिन पाउने व्यवस्था गरिएको छ । गृहिणीलाई पढाउँदै आएकी शिक्षिका टीका पंगाली गृहिणी महिलाहरूले पढाइमा मेहेनत गरेको बताउँछिन् । मेहेनत गरेर पढेकै कारण छोटाो समयमा नै पढ्न, लेख्न र हस्ताक्षर गर्न सक्ने भएको उनले जानकारी दिइन् । तर महिलाहरूलाई किताब अपुग भएकाले भने पढाइमा समस्या भएको बताइन् । गृहिणी कक्षाले बाल विकास केन्द्रदेखि प्राथमिक तहमा बालबालिकाहरूको संख्या पनि वृद्धि भएको स्थानीय अभिभावक एवम् हस्तवीर विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पूर्णप्रसाद पौडेलले बताए । गृहिणी कक्षा अत्यन्तै प्रभावकारी भएको उनी बताउँछन् । महिलाहरू शिक्षित हुँदा त्यसले परिवार र समाजमा सकारात्मक प्रभाव पार्ने उनले बताए । विद्यालय आउन नमान्ने बालबालिकाहरू पनि अहिले आफ्ना आमाहरूसँगै विद्यालय आउन थालेको र यसले गर्दा आमा र बच्चा दुवैले पढ्न पाउने वातावरण सिर्जना भएको उनले बताए ।

प्रकाशित मितिः   २९ भाद्र २०७३, बुधबार ०९:३३